काठमाडौं । तीजको दर खाने दिन मध्य तराईको एकै घरका दुई दिदि बहिनी एसिड आक्रमणको सिकार भएकी थिइन् । महिलाहरुको महान पर्व तीजको रौनकमा सबै रमाईलो गरिरहेका थिए भने ती विपन्न परिवारका दुई दिदिबहिनी रमाउन सकेनन् । "/>

यौन प्रस्ताव अस्वीकार गर्दा दिदिबहिनीमाथि एसिड प्रहार !

यौन प्रस्ताव अस्वीकार गर्दा दिदिबहिनीमाथि एसिड प्रहार !


काठमाडौं । तीजको दर खाने दिन मध्य तराईको एकै घरका दुई दिदि बहिनी एसिड आक्रमणको सिकार भएकी थिइन् । महिलाहरुको महान पर्व तीजको रौनकमा सबै रमाईलो गरिरहेका थिए भने ती विपन्न परिवारका दुई दिदिबहिनी रमाउन सकेनन् ।

तीजको अघिल्लो दिन अर्थात भदौ २७ गते त्यो परिवारमा एक छाक खाना खाएर रात कटाउन गाह्रो भएको थियो । घरमुली ३५ वर्षीय जादोलाल दास ऋण निकालेर रौतहटको बजारमा सानो पुल हाउस सञ्चालन गरेर आफ्नो ७ जना परिवार पालिरहेका थिए ।

परिवारमा जादोलाल दासको तिन नावालक छोरी र छोरा, श्रीमान, श्रीमती र बुढा भएका बाबु छन् । जादोलाल दासको जीवनमा त्यो रातको घटना कहिले नबिर्सने बन्यो । सधाँ झै त्यस दिन उनी दिनभरी पुल हाउस खोलेर बेलुका घर फकिएका थिए ।

सानो चित्राले बारेको घर पुगेर परिवारसँग त्यस दिनको छाक टारे । उनकी श्रीमती परमशीला दास भने आम हिन्दु महिलाहरु जस्तै श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसेकी थिइन् ।

साँझ एकछिन घरमा बसेर उनी पुल हाउसमा सुत्न भनि गए । परमशीला उनको दुधे छोरी र १० वर्षीय छोरालाई लिएर एउटा कोठामा सुतिन् । १८ वर्षीया जेठी छोरी सम्झना र १५ वर्षीया माइली छोरी सुस्मीता भने अर्को कोठामा सुते ।

राती करिब १२ बजेतिर छोरीहरु सुतेको कोठाबाट चिच्याएको आवाज आयो । परमशीला उठेर छोरीहरुको कोठा पुगिन् । ढोका खोल्ना साथ छोरीहरुको हालत देखेर उनी तर्सिइन् । दुबै छोरीहरु छटपटाएर चिच्याएर रोइरहेका थिए । दुबै जनाले उनलाई च्याप्प समातेर एकोहोरो रोइरहे ।

‘ढोका खोल्ना साथ उनीहरुले मलाई च्यापेर कोठाबाट बाहिर निस्कन पनि दिएनन्’ परमशीलाले आँसु थाम्नै सकिनन् । भनिन्, ‘उनीहरु पोल्यो मम्मी भनेर चिच्याइरहेका थिए, जेठी छोरी उठ्ने अवस्थामा थिइनन् र लडिन् । मसँग केही दबाई थिएन त्यो समय ।’

हत्त न पत्त परमशीलाले श्रीमानलाई फोन गरेर बोलाइन् । छोरीहरुको जिउबाट जलेर धुवाँ आइरहेको थियो, एसीडको गन्ध पनि आइरहेको थियो तर ठम्याउन सकेकी थिइनन् । जलेर शरीरमा टाँसिएको कपडा कैँचीले काटिन । केहीबेरमा छिमेकीहरु पनि आइपुगे । घर छेउकै छिमेकी रामबाबु पासवानले भने, ‘यो त तेजाब रहेछ ।’ त्यसपछि मात्र परमशीलालाई पहिलो पटक थाहा भयो तेजाब र उनको मुटुले ठाउँ छाड्यो ।

उता जादोलाल खबर सुन्ना साथ दौडिएर घर आइपुगे । घरमा छोरीहरु र श्रीमती सबैको रुवाबासी चलिरहेको थियो । छोरीहरुको पिडा देखेर काँपेको हातले उनले एम्बुलेन्सलाई फोन गरे । तर समयमा नआएपछि छिमेकीको स्कुटरमा छोरीहरु लिएर नजिकैको अस्पताल लगे ।

अस्पतालले सामान्य उपचार गरेर काठमाडौं नै लग्न सुझाए । ढिला नगरी उनले छिमेकीसँग केही पैसा सरसापट गरेर एम्बुलेन्समा काठमाडौंको यात्रा तय गरे । काठमाडौ पुगेपछि कीर्तिपुर अस्पतालमा छोरीहरुलाई जसोतसो १० हजारमा भर्ना गरे । छिमेकीकै एम्बुलेन्स भएर पैसापछि दिन मिल्ने व्यवस्था भयो । भर्ना त भयो तर उपचार गर्ने खर्च अपुग हुने भयो र उनी दिनरात छटपटाइरहेका छन् ।

जेठी छोरी सम्झनाको अवस्था नाजुक भएर उनलाई आईसीयूमा राखिएको छ । उनी हल चल गर्न नसक्ने अवस्थामा छिन् । उनको पेट देखि माथी पुरै भाग जलेको छ, उनको अनुहार हेरेर जोकोही आत्तिन्छन् । अर्की माइली छोरी सुस्मिता जनरल वार्डको बेडमा छिन् । उनको घाँटी देखि बायाँ हात पुरै जलेको अवस्थामा छ ।

उनी हल्का बोल्न र हिड्न सक्ने अवस्थामा छिन् । उनी दिदिको स्वास्थ्य अवस्थाबारे बेला बेला चासो राख्छिन् । तर दिदि भने आफैलाइृ के भयो भन्नेबारे सोच्न समेत सक्ने अवस्था छैनन्, कता बहिनीको स्वास्थ्यबारे जानकारी लिने ।

आर्थिक अभावः
सम्झना र सुस्मिताको उपचारमा दुई लाख रुपैँया भन्दा बढी खर्च भइसकेको बाबु जादोलाल बताउँछन् । सम्झनाको जलेको शरिरको भागमा नजलेको अंगको छाला लगाउने काम भइरहेको उनी बताउँछन् । एक दिनमा छोरीहरुलाई र आफुलाई खान किन्दा झण्डै पन्ध्र सय खर्च हुने उनको भनाई छ ।

छोरीको उपचार कहिले सम्म हुन्छ थाहा छैन र थप उपचार गर्न पनि जादोलालसँग पैसा छैन । अहिले सम्म आफन्त र छरछिमेकले संकलन गरेर पठाएको पैसाले चलाइरहेका थिए । अब कसरी थप उपचार गर्ने भन्ने चिन्तामा छन् उनी ।

माधव नेपाल फेरि फर्किएनन्ः
पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधव कुमार नेपालको निर्वाचन क्षेत्र रौतहट हो । घटना सार्वजनिक भएपछि उनी भेट्न आए । सहयोगको आश्वासन दिए तर त्यसपछि न त कहिल्यै फर्किएर नै आए नत भनेको आशवासन पुरा गरे ।

उपचारको क्रममा आज एक हप्ता बितिसक्दा पनि सरकारबाट केही सहयोग नआएकोमा उनी दुख पोख्छन् । आज सम्म कुनै–कुनै व्यत्ति बाट र संस्थाबाट केही रकमहरु सहयोग भइरहेको छ । सहयोग गर्ने हातहरुलाई अझै पर्खिरहेका छन् अझै उनले पर्खिरहेका छन् जादोलाल ।

यौन प्रस्ताव नमान्दा आफ्नै ठूलो बाबुले एसिड छ्यापेः
दुई छोरीहरुमाथि एसिड प्रहार गर्ने अरु कोही नभएर आफ्नै छिमेकी रामबाबु पासवान रहेछन् । आफ्नै छिमेकी त्यो पनि साथी, छोरीहरुले ठूलो बाबु भनेर बोलाउने मान्छेबाटै यस्तो अपराध होला भन्ने जादोलालले कल्पना समेत गरेका थिएनन् । अर्को रोचक कुरा त के भने छोरीहरुमाथि एसिड प्रहार गरेर पक्राउ नपर्दासम्म उनी छोरीहरुको उपचारमा सघाउँदै आएका थिए । छोरीको मोबाइल प्रहरीले राखेको थियो ।

कल डिटेल हेर्दा रामबाबुले १५ दिनमा एक सय ८० चोटि फोन गरेको देखियो । प्रहरीले भनेको कुरा र उनले रामबाबुमाथि नियाले हेर्दा उनले नै एसिड हानेको भन्ने निष्कर्षमा जादोलाल पुगे ।

आईसीयू कक्षमा गएर जेठी छोरीलाई सोधे, ’एसिड रामबाबुले हानेको हो?’ सम्झनाले स्वीकृतिमा मुन्टो हल्लाइन् । ’किन हान्यो ? के भएको थियो ?’ जादोलालले छोरीलाई सोधे।

सम्झनाले भनिन्, ’सधैजसो फोन गथ्र्यो । ठुलो बाबा सम्झेर उठाएँ, कुरा गरेँ । भेट्न पनि बोलायो । तीन चोटि भन्दा बढी भेटें ।’ सम्झनाले भनिन् । ’एकान्तमा बोलाउँथ्यो । मसँग कोही साथी गए भने उनीहरुलाई पठाउथ्यो । मलाई एक्लै राख्थ्यो । एकदिन उसले के के भन्यो । सेक्सको प्रस्ताव राख्यो । उसले भनेको मैले मानिनँ । के– के भनेर थर्कायो । त्यसपछि उसलाई भेटिनँ । नम्बर ब्ल्याक लिस्टमा राखिदिए । त्यही भएर उसले नै हानेको होला मलाई यस्तो एसिड ।’ छोरीले घटनाबारे बाबुलाई भनिन् ।

छोरीको कुरा सुनेपछि जादोलाल रामबाबुले नै हानेको भन्ने प्रस्ट भए । त्यसपछि उनले प्रहरीलाई छोरीले भनेको कुरा सुनाइदिए । प्रहरीले रामबाबुलाई कीर्तिपुर अस्पतालबाटै नियन्त्रणमा लियो । ५० वर्षीय रामबाबुले यौन प्रस्ताव अस्वीकार गर्दा एसिड प्रहार गरे । छोरीको कुरा सुनेपछि जादवलालले पासवान विरुद्ध किटानी उजुरीसमेत दिएका छन् । अहिले उनको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जानकारी दिए ।

Logo