भविष्यको योजना आफै बनाउनुपर्छ भनेर सिक्ने समय आउनु अगाडि नै मेरो भविष्यको बारेमा अथाह योजना बनाउन तल्लिन यौटा ठुलो समूहकी प्रिय पात्र थिएँ म। "/>

मलाई जापानले सिकाएका कुरा

मलाई जापानले सिकाएका कुरा


भविष्यको योजना आफै बनाउनुपर्छ भनेर सिक्ने समय आउनु अगाडि नै मेरो भविष्यको बारेमा अथाह योजना बनाउन तल्लिन यौटा ठुलो समूहकी प्रिय पात्र थिएँ म। सरासर भन्नुपर्दा बाल्यकाल मै कुनै अमुर्त योजना मनभित्र बनेको भए बेग्लै कुरा हो ।

नत्र साधारण किशोरवयका सपना भन्दा माथिको सोच पलाउनु अगाडि नै मेरो भविष्यको फैसला भईसकेको थियो र त्यतिबेला बनेको मेरो भविष्यको डिजाईन सम्पूर्ण रुपमा मेरो हितमा थियो । मैले आज्ञा शिरोपर सिवाय केही गर्नु परेन । त्यो मेरो सौभाग्य पनि थियो ।

त्यसपछि बल्ल जिन्दगीलाई फरक तरिकाले बुझ्ने मौका मिलेको हो कि ? त्याग, समर्पण, प्राप्ति, अप्राप्ति, ईगो, हार जीत, सन्तुष्टी असन्तुष्टी लगायत जिन्दगीका अनेक दोबाटा चौबाटाहरुसँग जम्काभेट हुने समय बिस्तारै हाम्रो जिन्दगीमा आउदै जादै गर्ने रहेछन।

जे सुकै आएपनि जे सुकै गएपनि जति सुकै असन्तुष्टिहरु भोग्नुपरे पनि अन्ततः ति सबै परिघटनाहरुले एक किसिमको सन्तुष्टी प्रदान गरेरै जाने रहेछन । हार भित्र पनि अपनत्वको आभास, जित भित्र पनि अपनत्वको खुशी, कहिलेकाँही त अपमान पनि प्रेमिल नै लाग्ने बेग्लै स्वादको समयबाट गुज्रनु पर्ने रहेछ। त्यो सबै कुराको समष्टिगत स्वरूप नै जिन्दगी रहेछ।

सुरुवातमा विदेश मेरो लागि अनपेक्षित थियो तर जापान मेरो लागि अनपेक्षित थिएन । जापान आइपुग्ने जहाज चढ्नु अगाडि नै जिम्मेवारीका केही भारहरु बहन हुनुपर्छ अब म बाट भन्ने अनुमान भईसकेको थियो। एक किसिमको स्वप्न शहर, एउटा सपना पुरा गर्ने गन्तव्य जस्तै म पनि आइपुगेकी थिएँ जापान । अब मैले सिक्नुपर्ने थियो धेरै तौर तरिकाहरु र बदल्नुपर्ने थियो जिन्दगी हेर्ने नजरियालाई समेत ।

ठ्याक्कै बुँदागत रुपमा निर्क्यौल गर्न सक्छु कि सक्दिन थाहा छैन तर जापानले मलाइ धेरैकुरा सिकायो । पैसा के हो १ आफ्नो कमाइ के हो, अत्यन्त महँगो ठाउमा समेत कसरि खुशी भएर दैनिकी चलाउनु पर्छ त्यो बुझायो, एक एक पसिनाका थोपा भित्र लुकेको पैसाको महत्व बुझायो ।

समय के हो ? एक सेकेण्ड ढिला हुदाँ ट्रेन छुटेर काममा जान ढिलो हुदाँको पिडा बुझायो र समयको महत्व सिकायो । कामको दर्जा के हो ? भन्ने कुरा बुझायो, नेपालमा रहदाको मानसिकतामा ब्यापक परिवर्तन गरायो, ओहोदामा हुनेले सानो काम गर्न हुदैन भन्ने भ्रमबाट मुक्त बनायो, जापानले मलार्इ कामको सम्मान गर्न सिकायो ।

जापानले मलार्इ दुख के हो भन्ने कुरा बुझायो । काम नगरी दैनिकी चल्दैन भन्ने कुरा त उदाहरण दिई दिई बुझायो र अझै मेहनेती हुन सिकायो । आफ्नाहरु (नेपालीहरु) को स्वार्थ र दलालिपन देखायो र कसैलाई विश्वास गर्न हुदैन भन्नेकुरा सिकायो ।

आशा गर्नुपनि व्यर्थ छ जे सकिन्छ कि आफैले गर्नुपर्छ कि पैसा तिरेर गराउनुपर्छ भन्ने कुरा सिकायो । त्यसमाथि निकै भर परेका मान्छेहरु समेत पैसामा बिक्दा रहेछन भन्ने कुरा सिकायो । को आफ्नो हो, कस्को काम गर्दा दलाली गर्न हुन्छ र कसको काम गर्दा दलाली गर्न हुँदैन भन्नेकुरा समेत हेक्का नराखी खाईदिन्छन् त्यसैले होसियार रहनुपर्छ भन्नेकुरा सिकायो । आफ्न्ती चिन्न सिकायो । ‘मान देखे सम्मान नत्र आफ्नो नठान’ जस्तै गर्छन ।

सबैले विश्वासघात गर्दा परिवारको माया सम्झिने बनायो । केहि सम्बन्धहरु अत्यन्तै प्रिय हुँदा रहेछन जसले परदेशमा समेत पारिवारिक प्रेम देखाउँछन् । तिनिहरु नै वास्तविक आफन्त हुन् भन्ने सिकायो। बाबाको उपदेशको महत्व कति हुने रहेछ त्यो सिकायो ।

यहाँको विकास देखेपछि नेपालको हरेक चीजको महत्व बुझ्न सक्ने बनायो । केही गर्न नसकेनि मेरो देश यस्तो भैदिए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्छ मलाई जतिबेला पनि । आफ्नै स्वदेशी उत्पादनमा विस्वास गर्नुपर्छ भन्ने बुझायो, धेरै आयु बाँच्न के के गर्दा रहेछन मान्छेहरु भन्ने सिकायो। व्यस्त बन्न सिकायो । स्वस्थकर खाना र स्वस्थ जीवनको महत्व सिकायो ।

सबैभन्दा ठुलो कुरा आत्मनिर्भर बन्न सिकाएको छ जापानले मलार्इ । यहाँ कसैलाई फुर्सद हुन्न अर्काको कामको लागि हिड्दिने कोहि हुदैन त्यसैले आत्मनिर्भर नबनी बाच्नै सक्दैन कोहि । यो सहर परनिर्भरहरुको लागि हुदै होईन भन्ने सिकायो।अनुशासनको अर्थ सिकायो । कति सम्मान दिने अरुलाई र आफुले कति अपेक्षा गर्ने भन्ने बुझायो । नम्र बोल्न सिकायो र नम्र बोलीको आशा गर्न समेत सिकायो ।

जिन्दगीको असली परिभाषा बुझायो, सामान्य कुरालाई ठुलो बनाएर चिन्तित भैहाल्ने हाम्रो बानीलाई सहनशील भएर परास्त गर्न सकिन्छ सजिलै भनेर सिकायो । मान्छेहरुको बानी जता काफल पाक्यो उतै चरी नाच्यो भनेजस्तो छ संसारमा । त्यस्ता मान्छेहरुको दहीचिउरे स्वभाव चिन्न सिकायो।

ईमान्दारिता, नैतिकता र चरित्रवान बन्न सिकायो, कसैलाई नठग्नु, नलुट्नु, नचोर्नु भन्ने कुरा उदाहरण दिई दिई सिकायो । धेरै नेपालीहरु ठगीमा संलग्न भएका घटना देखेरै आफुलाई कसरि ईमान्दार बनाइरहने भन्ने चिन्तनमा घित्लिन सिकायो ।

धैर्य हुन सिकायो । धेरै मान्छेलाई त आउने बित्तिकै यहाँको कामको चापले गर्दा घर फर्कन मन लाग्छ । नेपालमा केही नगरी बा को पसिनाको कमाईमा रमाउने र आमाले बनाएको खाने बानी परेकाहरुलाई यहाँ सुरुवाति समय बिताउन हम्मे हम्मे नै पर्छ । हामीलाई यामातो र बेन्तोमा पसेपछि बल्ल पैसा कमाउन दुःख रैछ भन्ने विचार मनमा आउँछ र कुरा बुझिन्छ । बसेर पैसा नकमाई र कामै नगरी समेत खान पुग्ने नेपालमा मात्र हो रहेछ भन्नेकुरा सिकायो ।

मैले विदेश खासगरी जापानको बसाइमा सिकेका कुरा यिनै हुन् । कतिपय अभिव्यक्तिहरु साथीहरुलाई नकारात्मक पनि लाग्ला । मैले केवल सकारात्मक सोच राखेर आफुले अनुभव गरेका कुराहरु लेखेकी हुँ ।

विदेशलाई एउटा मौकाको रुपमा नै हो उपभोग र उपयोग गर्ने । त्यसैले मौका पाएको बेलामा नकारात्मक भन्दा सकारात्मक कुराहरु धेरै बटुलौ ताकि पछि नेपाल फर्केर त्यसको उपयोग गर्न सकियोस । भए गर्ने हो त्यसै मर्न सकिदैन नै ।मानसिक तनाब लिएर जिउदै नमरौ । आत्महत्या र चोरी या ठग्ने बाटो अपनाउन हुदैन भन्नेकुरा बुझ्न ढिलो नगरौं ।हामीलाई कसैले जवर्जस्ती विदेश पठाएको होईन ।

सबैले पैसा नै सोचेर आउने हो तर पैसालाई नै जतिबेला पनि दिमागमा राख्नुहुदैन । यति मेहनत उतै गर्न लाज नमाने यहाँ कमाएको आधा जति त नेपालमै कमाईन्छ । जसरि यहाँ काम गर्न लाज लाग्दैन त्यसरी नै नेपालमा पनि पसिना बगाउन सकियो भने धेरै गर्न सकिन्छ र त्यो भोलि म गर्छु पक्कै भन्ने सोच मनमा साँची राखौं ।

अनिता बस्याल

Logo