गोरखा

भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल मनकामना मन्दिरको पुननिर्माण सम्पन्न भएको छ । "/>

यस्तो बन्यो भूकम्पले ध्वस्त प्रसिद्ध मनकामना मन्दिर : पुननिर्माण सम्पन्न

यस्तो बन्यो भूकम्पले ध्वस्त प्रसिद्ध मनकामना मन्दिर : पुननिर्माण सम्पन्न


गोरखा

भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल मनकामना मन्दिरको पुननिर्माण सम्पन्न भएको छ ।

०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको मन्दिर सोही वर्षको असारमा क्षमापूजा गरी भत्काएर पुनःनिर्माण शुरु गरिएको थियो । मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्ड अनुसार निर्माण गरिएको मन्दिर निर्माण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

“पुरानो मन्दिरमा पहिला पित्तलको छाना थियो, अहिले तामाको छानामा सुनको जलप लगाउने काम नयाँ भयो, अन्य संरचनामा कुनै फरक छैन”, संयोजक श्रेष्ठले भन्नुभयो । अन्य मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि आफूहरुले मनकामना मन्दिरको छानामा सुनको जलप लगाउँदा समेत पुरानै प्रविधि अनुसार चुक, नून, अमिलो र इँटाको ढुटोहरु प्रयोग गरेर बनाइएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै मन्दिर निर्माणका लागि आधुनिक प्रविधिको सिमेन्ट रड लगायतका कुनै पनि सामग्री प्रयोग नगरी पुरानै प्रविधिको प्रयोग गरिएको श्रेष्ठले बताउनुभयो । मन्दिर निर्माणका लागि नेपाल सरकारबाट दुईपटक गरेर चार करोड सहयोग प्राप्त भएको र बाँकी रकम भक्तजनको सहयोगबाट सङ्कलन गरिएको हो । “मन्दिर निर्माणका लागि कति खर्च लाग्यो भनेर अहिले भन्न सक्ने अवस्था छैन, हाम्रो अनुमानमा १२ देखि १३ करोड खर्च भएको छ ।”

मन्दिर निर्माणका लागि सुन मात्रै १८ किलो खर्च भएको उहाँको भनाइ छ । “मूल मन्दिर सम्पन्न भइसकेको छ, दायाँबायाँको आँगन छाप्ने, पश्चिमपट्टिको भिरालो जमीनमा पर्खाल लगाउने काम बाँकी छ”, संयोजक श्रेष्ठले भन्नुभयो ।

नयाँ निर्माण सम्पन्न भएको मन्दिरबाट कहिले देखि पूजाआजा शुरु गर्ने भन्नेमा टुङ्गो नलागेको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । “मनकामना मन्दिर व्यवस्थापन समिति छ, त्यही समितिको बैठक बसेर भक्तजनका लागि नयाँ बनेको मन्दिर कहिलेदेखि खुला गर्ने भन्ने निर्णय गर्छ”, मूल पुजारी थापाले भन्नुभयो ।

अहिले मन्दिरको छेउमा सानो ठाउँ निर्माण गरी पूजाआजा गर्नुपर्दा समस्या भइरहेको छ । मनकामना मन्दिरमा नेपाल सहित भारत लगायत युरोपेली देशबाट समेत भक्तजन आउने गरेको मूल पुजारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मनकामना मन्दिरमा वार्षिक १२ लाख सम्म भक्तजन दर्शन गर्न आउने गरेका छन् ।
रासस

Logo