बैतडीका ५० वडा सचिव विहिन

बैतडीका ५० वडा सचिव विहिन


स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ । दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छ वटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिए ।

वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवा प्रभावित भएका छन् उनले भने, “वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” पञ्चेश्वर गाउँपालिकाका ६ वडामध्ये चारवटा वडा सचिव विहिन रहेको, गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।यस्तै मेलौली नगरपालिकाका नौ वडामध्ये छ वडामा सचिव नभएको नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिए । वडामा सचिव नहुँदा नागरिकले चाहे अनुसारको सेवा पाएका छैनन् उनले भने, “सचिव नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवा जनताले सहज तरीकाले पाउन मुस्किल भएको छ ।”

यसैगरी पुर्चौंडी नगरपालिकाका–१० वडामध्ये ९ वडामा सचिव नभएको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिए । उनले भने, “वडा कार्यालयहरु प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” यसैगरी पाटन नगरपालिकामा पनि १० वडामध्ये पाँच वडामा सचिव नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताए ।

दोगडाकेदार गाउँपालिकाका –८ वडामध्ये तीन वडामा सचिव नभएका गाउँपालिकाका नायब सुब्बा शेरसिंह विष्टले जानकारी दिए । यस्तै डिलाशैनी गाउँपालिकामा सात वडामध्ये चार वडामा सचिव नभएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले बताए । कर्मचारी अभावमा यहाँका स्थानीय तहमा कामकाजमा समस्या भएको र सरकारसँग कर्मचारी पठाउन पटकपटक आग्रह गरेको भए पनि हालसम्म पदपूर्ति हुन नसकेको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताएका छन् । जनप्रतिनिधि आइसकेपछि घरदैलोमै सहजरुपमा सेवा पाउने आश गरेका नागरिकहरु निरास हुँदै जाने गरेका छन् । रासस

Skip This
Logo