आठ महिनाकी गर्भवती महिला बलात्कृत

आठ महिनाकी गर्भवती महिला बलात्कृत


कपिलवस्तुको विजयनगर गाउँपालिका–७ पर्सोया बस्ने ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भदौ १२ गते राति १० बजे श्रीमान नभएको समयमा सोही गाउँ निवासी २८ वर्षीय बकन्चु केवटले ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षीय वर्षादी केवटको सहयोगमा आठ महिनाकी गर्भवती ती महिलालाई बलात्कार गरेको बताइएको छ । पीडितका श्रीमानले १३ गते तीनैजना विरुद्ध किटानी जाहेर दिएको र प्रहरीले थप अनुसन्धान गरी पीडकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक नविन पौडेलले बताएका छन् । 

निरीक्षक पौडेलको नेतृत्वमा खटिएको टोलीले किटानी जाहेर गरेकै दिन वर्षादी केवटलाई पक्राउ गरेको बताए । त्यस्तै भदौ १४ गते अर्का आरोपी प्रह्लाद केवटलाई पक्राउ गरेको पौडेलले जनाए । मुख्य आरोपी भनिएका बकन्चु केवट घटनापछि फरार भएका थिए । प्रहरीको अनुसन्धान पछि केवटलाई भारतको सन्सरी भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको पौडेलले बताए । 

पीडित महिलालाई शिवराज अस्पताल बहादुरगंजमा उपचार गरिएको तथा महिलाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Logo