निर्मला प्रकरण: हत्या स्वीकारेको भनिएका प्रदीप रावल पनि रिहा

निर्मलाको हत्या प्रकरणको आरोप स्वीकार गरेको भनिएका प्रदीप रावल पनि रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएपछि रावल रिहा भएका हुन्।  उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

प्रहरीको उच्च स्रोतले नै प्रदीपले हत्या स्वीकारेको भन्दै संचारमाध्यमलाई समाचार दिएका थिए। मसिर १८ गते काठमाडौंबाट पक्राउ परेका कञ्चनपुरका रावललाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत बयान लिएका थिए ।

रावलकै बयानको आधारमा कञ्चनपुरबाट पक्राउ परेका विशाल चौधरी भने गत शनिबार रिहा भएका थिए। रावल र चौधरी दुवै जनाको डिएनए परिक्षण गरे पनि रिपोर्ट सार्वजनिक गरिएको थिएन।  यस अघि प्रहरीले दिलिप बिष्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो।

१३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनको शव नजिकैको उखुबारीमा साउन ११ गते फेला परेको थियो। घटनाको पाँच महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन।

निर्मला प्रकरण: हत्या स्वीकारेको भनिएका प्रदीप रावल पनि रिहा