उद्योग वाणिज्य महासंघ निर्वाचन : सहमतिको सम्भावना कमजोर

उद्योग वाणिज्य महासंघ निर्वाचन : सहमतिको सम्भावना कमजोर


काठमाडौं ।

यतिबेला नीजि क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छान्न महासंघ जुटेको छ ।

यहि मंसिर ११, १२ र १३ गते हुन गइरहेको महासंघको साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष चयनका लागि सहमति गर्न पूर्वअध्यक्षहरु लागि परेका छन् । कोरोना भाइरसको संक्रमणका कारण सहमतिमा उमेदवार छान्दा सबैलाई भलो हुने भन्दै महासंघ कार्यसमितिले पूर्वअध्यक्षहरुको सहयोगमा वरिष्ठ उपाध्यक्षमा सहमति जुटाउने प्रयास गरिरहेको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि उपाध्यक्षद्वय व्यवसायी चन्द्र ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा उत्रिएका छन् ।

सहमतिको सम्भावना नै कमजोर
पूर्व अध्यक्षहरु रवीभक्त श्रेष्ठ, कुशकुमार जोशी, महेशलाल प्रधान, प्रदिपजंग पाण्डे र पद्म ज्योति अहिले सहमतिका लागि तिब्ररुपले छलफल गरिरहेका छन् । उनीहरुले दुवै पक्ष (ढकाल र प्रधान) लाई सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् । उनीहरुले सर्वसम्मतबाटै वरिष्ठ उपाध्यक्ष छान्ने प्रयास गरिरहेका छन् । तर अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

पूर्वअध्यक्ष कुशकुमार जोशीले सहमतिका लागि छलफल जारी रहेको बताए । तिहार लगत्तै सहमति हुने बताइएको थियो । तर मतका आधारमा आफू बलियो भएकाले निर्वाचन भएपनि ढकालले आफूले जित्ने दाबी गरेका छन् । यस पालीको निर्वाचनमा उनको सम्भावना बलियो देखिएको छ । उनी सहमतिमा प्रधानलाई पद छाड्ने पक्षमा छैनन् । तर अन्तिमसम्म सहमतिका लागि आफूले प्रयास भने गरिरहने ढकालको भनाई छ । हुन त पूर्व अध्यक्ष चण्डिराज ढकालबाहेक अरु कसैको पनि उनलाई साथ छैन । तर पनि उनको सम्भावना बलियो देखिएको छ ।

ढकाललाई एक्ल्याएर प्रधानलाई साथ दिएका पूर्वअध्यक्षहरुले समेत अन्तिम समयमा ढकाललाई नै समर्थन गर्ने स्रोतको दाबी छ । ढकालका अनुसार प्राविधिक कारणले पूर्वअध्यक्षहरुले प्रधानलाई समर्थन गरेको बताएका छन् । यसको मतलव पूर्वअध्यक्षहरुको समर्थन पनि आफूलाई रहेको ढकालको संकेत हो । ढकालले देशब्यापी रुपमा प्रचारप्रसार सकिसकेका छन् ।

उता प्रधानले आफूले लामो समय महासंघका लागि खर्चेको र महासंघका लागि पर्याप्त समय दिन सक्ने भन्दै जितको दाबी गरेका छन् । सहमतिमा ढकालले आफूलाई छोड्दिने आशा प्रधानले गरेका छन् । तर ढकाल भने छोड्ने पक्षमा छैनन् । पूर्व अध्यक्षहरुले सहमतिका लागि प्रयास गरिरहेकाले आफूले पूर्व अध्यक्षहरुलाई भगवान मानेकाले उनीहरुले गरेको निर्णय स्वीकार्य हुने प्रधानको भनाई छ ।

स्रोतका अनुसार अब सहमतिको सम्भावना लगभग सकिएको छ । अन्तिमसम्म सहमतिका लागि प्रयास जारी रहे पनि सहमतिको सम्भावना भने कमजोर बन्दै गएको स्रोतको दाबी छ । ढकाल पक्ष बलियो भएकाले सर्वसम्मतबाट ढकाल आउने सम्भावना बलियो देखिएको छ ।

को कसको पक्षमा ?
चण्डिराज ढकाल लगायत केही व्यवसायीहरुले व्यवसायी चन्द्र ढकाललाई साथ दिएका छन् । त्यस्तै, प्रधानलाई वर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष कुशकुमार जोशी, पशुपति मुरारका लगायतका पूर्व अध्यक्षहरुले साथ दिएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्ष गोल्छा महासंघको अध्यक्ष हुँदैछन् । उनले पनि प्रधान प्यानललाई खुलेरै सर्मथन गरेका छन् । प्रधानका अधिकांश कार्यक्रममा गोल्छा जाने गरेका छन् । त्यस्तै, पूर्व अध्यक्षहरु पनि प्रधानका कार्यक्रमहरुमा सरिक हुने गरेका छन् ।

प्रधान यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा गोल्छासँग पराजित भएका थिए । प्रधानले ढकाललाई छोड्नु परेमा केही शर्तहरु राखेको स्रोतको भनाई छ । महासंघमा चण्डिराज ढकालको पकड बलियो भएकाले उनले राजनीति गरेको आरोप लाग्दै आएको छ । त्यसैले महासंघमा उनको हैकमको अन्त्य हुनुपर्ने सर्त राखेका छन् । आफ्नो प्यानलले २ उपाध्यक्ष र आफूले महत्वपूर्ण भूमिका पाउनु पर्ने शर्त राखेको स्रोतको भनाई छ । स्रोतका अनुसार ढकालले यी शर्त मानेमा सर्वसम्मतमा आउन सक्नेछन् ।

ढकाल प्यानलतर्फ वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उमेदवारी दिएका छन् । ढकालको पहुँच उद्योग व्यवसायीको तल्लोदेखि माथिल्लो स्तरसम्म छ । त्यसैले ढकालले सबै व्यवसायीका समस्या बुझेर महासंघको नेतृत्व गर्न सक्छु भन्नेमा विश्वस्त छन् ।

त्यसैगरी, प्रधान समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीले उमेदवारी दिएका छन् । किशोर प्रधानको प्यानललाई पूर्वअध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवानी राणा र शेखर गोल्छाले समेत बलियो दिएका छन् । प्रधान २०÷२५ वर्ष महासंघमा आवद्ध रहेका छन् । उनलाई बस्तुगत तथा जिल्ला÷नगरका तर्फबाट पनि सहयोग र समर्थन छ भने वर्तमान अध्यक्षसहित पूर्वअध्यक्षहरुको टिमले पनि प्रधानलाई सहयोग गर्दैछ । वर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा पूर्व अध्यक्षहरुको पूर्ण साथ रहेकाले प्रधानको सम्भावना पनि कमजोर भने छैन ।

Logo