जकार्ता

उद्घाटनको नाटकीय र अविश्वासिलो शैली खेलकुदको इतिहासमा सायदै देख्न पाइन्छ । "/>

एसियाड उद्घाटनमा देखियो यस्तो चमत्कार !

एसियाड उद्घाटनमा देखियो यस्तो चमत्कार !


जकार्ता

उद्घाटनको नाटकीय र अविश्वासिलो शैली खेलकुदको इतिहासमा सायदै देख्न पाइन्छ । १८ औं एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा त्यस्तै दृश्य देखियो, जसको कल्पना सम्म रंगशालामा उपस्थित खेलाडी, पदाधिकारी, विदेशी पाहुना र सञ्चारकर्मीले समेत गरेका थिएनन् ।

जसले त्यो दृश्य देख्यो त्यो चकित पर्‍यो अनि आफ्नो मानसपटलमा त्यो दृश्यलाई सँधैका लागि कैद गर्न बाध्य बन्यो । यस्तै थियो १८ औं एसियाली खेलकुदको उद्घाटन समारोह । स्थानीय समय अनुसार साँझ पाँच बजे देखि नै मध्य जकार्तास्थित ऐतिहासिक जेलोरा बुङ कार्नो रंगशाला दर्शकले खचाखच भरिएको थियो । तर सात बज्नै लाग्दा पनि कार्यक्रम स्थलमा प्रमुख अतिथि देखा परेका थिएनन् । ७६ हजार क्षमताको रंगशालामा करिव दुई घन्टा देखि प्रतिक्षारत दर्शकको धैर्यको बाँध छुट्नै लागेको थियो ।

यस्तैमा रंगशाला अगाडिको सडकमा एक्कासी सुरक्षाकर्मीको सवारी साधनको निकै लामो लस्कर देखा पर्यो । साइरन बजाउँदै हुइँकिएका सुरक्षाकर्मीको गाडीको लस्करको बीचमा कालो रंगको एउटा छुट्टै गाडी थियो । केही समयपछि त्यो गाडी एक्कासी रोकियो र गाडीबाट सुट, पाइन्ट र टाईमा ठाँटिएका एक ब्यक्ति हात हल्लाउँदै ओर्लिए ।

त्यसपछि उनी एउटा मोटरसाइकलमा सवार भए र हेलमेट लगाएर मोटरसाइकल स्टन्ट गर्दै रंगशालातर्फ हुइँकिए । ठाउँठाउँमा मोटरसाइकल रोकेर हेलमेट फुकाल्दा उनलाई देख्ने ब्यक्तिहरु छक्क पर्दै अनुहारमा आश्चर्यको भाव ल्याइरहेका थिए । त्यसरी नै मोटरसाइकल चलाउँदै उनी रंगशालाभित्र प्रवेश गरे र मोटरसाइकलबाट ओर्लिएर लिफ्ट चढी विशिष्ठ पाहुनाहरु बस्ने स्थानमा पुगे । उनलाई देख्नासाथ रंगशालामा चर्को होहल्ला सुरु भयो र विशिष्ठ पाहुनाहरु पनि आआफ्नो स्थानबाट उठेर उनलाई अभिवादन गर्न थाले । धेरैलाई नाटकीय लाग्ने शैलीमा रंगशाला प्रवेश गर्ने ती ब्यक्ति हुन्, शनिबार देखि सुरु भएको १८ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि अर्थात इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो ।

यसरी नाटकीय शैलीमा राष्ट्रपति विडोडोको रंगशाला प्रवेशपछि सुरु भयो, एसियाली खेलकुदको १८ औं संस्करणको औपचारिक उद्घाटन समारोह । राष्ट्रपतिको प्रवेश लगत्तै सुरु भयो, कोरियोग्राफीको विछट्टै राम्रो प्रयोग गरिएको स्वागत नृत्य । त्यसपछि १८ औं एसियाली खेलकुदमा सहभागी ४५ वटै राष्ट्रका खेलाडी एकपछि अर्को गर्दै मार्च पास्ट्का लागि मैदानमा देखा परे ।

उद्घाटन समारोहमा इन्डोनेसियाको कला र संस्कृति झल्काउने लोभलाग्दो झाँकी र साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहलाई सब्य र भब्य रुपमा सम्पन्न गर्न आतिसबाजीसँगै विभिन्न बैज्ञानिक प्रविधिको समेत प्रयोग गरिएको थियो । उद्घाटन समारोहमा विभिन्न राष्ट्रबाट विशिष्ठ पाहुनाहरुको समेत उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन राजधानी जकार्तामा भए पनि प्रतियोगिताका केही खेल भने पालेम्बाङ सहरमा पनि हुनेछन् । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक एउटै राष्ट्रको दुई ठूला सहरमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा एसियाका ४५ राष्ट्रका ११ हजार पाँच सय खेलाडी सहभागी छन् । यसदेखि बाहेक पाँच हजार भन्दा बढी प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मी समेत प्रतियोगितामा सहभागी छन् । प्रतियोगिता १६ दिनसम्म चल्ने छ । एसियाडको १८ औं संस्करणमा ४० वटा खेल समावेश गरिएको छ । ६ वटा खेल भने एसियाडमा पहिलो पटक समावेश गरिएको हो ।
अन्नपूर्णबाट

Logo