तपाई हामीले खानाको रुपमा, खाजाको रुपमा, मनोरञ्जनको रुपमा वा फुर्सदको रुपमा खाई रहेका कतिपय खानेकुराहरुको स्वादले बिश्वलाई नै लोभ्याईरहेको छ भन्दा तपाईलाई कस्तो लाग्ला । "/>

विश्वलाई लोभ्याउने १० नेपाली खानाहरु (भिडियोसहित)

विश्वलाई लोभ्याउने १० नेपाली खानाहरु (भिडियोसहित)


तपाई हामीले खानाको रुपमा, खाजाको रुपमा, मनोरञ्जनको रुपमा वा फुर्सदको रुपमा खाई रहेका कतिपय खानेकुराहरुको स्वादले बिश्वलाई नै लोभ्याईरहेको छ भन्दा तपाईलाई कस्तो लाग्ला ।

हो । आज हामी त्यस्तै नेपाली खानेकुराहरुको वारेमा तपाईलाई बताउने छौं । जून नेपाली खानेकुराहरुले विश्वका धेरै मानिसहरुको जीवनमा अविश्मरणीय खानाको स्वादको रुपमा गढेर बसेको छ भने कतिपय खानाहरुको नाम लिदैं तपाई हामीले जस्तै बिदेशीहरुले पनि वाउ भन्दै मुख रसाईरहेका हुन्छन् ।

१. ढिडों

नेपाली खानाको कुरा गर्दा कुनै समय ग्रामिण क्षेत्रको अनिवार्य खानाको रुपमा रहेको र अहिले शहरी क्षेत्रमा नव संभ्रान्त बर्ग कहलाउन खाने गरेको खाना ढिंडोकै कुरा गरौं । पहाड देखि उच्च पहाडी क्षेत्रका बासिन्दाको मुख्य खानाको रुपमा ढिंडो नै थियो । भात त, चाडवाड र त्यही क्षेत्रका संभ्रान्त बर्गको खानाको थालमा मात्र पस्किईन्थ्यो ।

मकैं, कोदो, फापर लगायत अन्य अन्नको पिठोलाई तातो पानीमा हाल्दै चलाएर पकाउने यो परिकार अहिले काठमाडौंको संभ्रान्त बर्गमा पनि निकै लोकप्रिय भएको छ ।

पहिला काठमाडौं छिर्ने हाईवेका होटेलहरुमा पाईने ढिंडो अहिले अधिकांश खाना खुवाउने होटेल, रेष्टुरेन्टहरुले राख्न थालेका छन् । ढिडों काठमाडौंमा भन्दा पहिला पोखरामै लोकप्रिय भएको थियो ।

मनाङ मुस्ताङवाट ब्यापारलाई झरेका थकालीहरुले ढिंडोलाई पनि शहरी क्षेत्रका मानिसको जिब्रोमा झुण्डिने बनाए । पर्यटकिय हबको रुपमा पोखराको बिकास भएपछि ढिडोंले पनि आफुलाई अन्तराष्ट्रिय स्वादको रुपमा लोकप्रियता पायो । त्यसैले ढिंडोको कुरा गर्दा धेरैको मनमा अझैं पनि कोदो, फापर र मकैंको गिलो डल्लोलाई मासुको झोलमा चोपेर खाएको याद आउछ ।

२. राँगाको परिकार

राँगाको मासुको परिकारलाई अन्तराष्ट्रिय करण गर्ने काम काठमाडौं उपत्यकाका नेवार समुदायले नै गरेका हुन् । यसमा कसैको दुईमत नै छैन । राँगालाई काठमाडौंका नेवार समूदायले खानाको रुपमा भन्दा पनि पूजाको रुपमा प्रयोग गर्थे । अनि बल्ल स्वादिलो परिकारको रुपमा प्रयोग गर्न थाले ।

एक अनुमान अनुसार नेवार समूदायले एउटा राँगाको २ सय किसिमको परिकार बनाउन सक्छन् । यो सम्भवत आफैंमा छक्क पार्ने बिषय पनि हो । यत्तिको परिकार सम्भवत बिश्वमा कहि कतै पनि बन्दैन होला भन्ने हामीले ठानेका छौं ।

राँगाको २ सय किसिमको परिकारहरु मध्ये धेरै थोरै परिकारहरु मात्र मानिसको जिब्रोमा गडेको छ भने काठमाडौं घुम्न आएका पर्यटक जसले राँगाको छोएला, सेकुवा, कचिला, ड्याकुला, स्यापु मिचा बढी चाखेका छन् । यो परिकारको नाम लिदाँ धेरैले आफुले खाएको ठाउँ र स्वाद संझेर मुखमा थुक निकाल्ने गर्छन् ।

३. मःमः

मःमः अहिले नेपालीहरुको सर्वाधिक प्रिय खाजको रुपमा रहेको छ । नेपालमा मःमः तिब्बतवाट आयातित भएको खानाको परिकारको रुपमा रहेपनि नेपालीहरुले मःमः लाई रुचाएको देख्दा र नेपालमा मःमः पाईने स्थानहरुलाई हेर्ने हो भने मःमः अहिले नेपालकै परिकारको रुपमा रहेको छ ।

मःमः नेपाल भित्रनुको मुख्या आधार भनेको नेपाल भोटको सैयौं बर्ष अगाडीको ब्यापारलाई नै मानिन्छ । ब्यापारमा तिब्बत भएका काठमाडौंका ब्यापारीहरुले मःमःलाई पनि नेपाल ल्याएका हुन् । अहिले काठमाडौंको एउटा टोलमै दर्जनौ मःमः को परिकार पाक्ने पसल रहेको छ । सस्तो देखि महंगो सम्म र शाकाहारी देखि फरक फरक मांसहारीको मःमः पाईन्छ । मःमःको लोकप्रियताले गर्दा नेपाल आएका अधिकांश पर्यटकले यो परिकार एकपटक खाएकै हुन्छन् । जून उनीहरुलाई जीवनभर अविश्मरणीय स्वादको रुपमा गडेर बसेको समेत हुन्छ ।

४. गुन्द्रुक र मुलाको सिन्कि

गरिबको दाल र तिहुनको रुपमा रहेको गुन्द्रुक अहिले धनाढ्यहरुको भान्छाको सानको रुपमा रहेको छ । गुन्द्रुकको प्रचलन नेपालमा जुम्लाको सिंजा उपत्यकामा बसोबास गर्ने खस जातिको प्रिय खानाको रुपमा रहेको थियो । उनीहरुले नै यो खानालाई नेपालमा मात्र नभएर बिश्वमै लोकप्रिय बनाउन सफल भए । उनीहरुले बनाएको मुलाको सिन्कि र मुलाको पातको गुन्द्रुक अहिले शहरका अधिकांश होटेल र रेष्टुरेन्टमा बन्न थालेको छ । यो परिकार पहिलो पटक खाएका जो कोहीले पनि दोस्रो पटक यसको स्वाद चाख्ने दाउमा रहेको हुन्छ । अझ पछिल्लो पटक खुलेकार अचारका कम्पनीहरुले गुन्द्रुक र मुलाको सिन्किलाई ब्राण्डिङ गर्न थालेपछि यो परिकार अन्तराष्ट्रिय डिपार्टमेन्टल स्टोरहरुमा पनि सजिन थालेको छ ।

५. लाखामरी

धेरैले नेपाली परिकारको कुरा गर्दा स्पाईसी खानाहरुकै चर्चा पहिला गर्छन् । तर नेपालमा पाईने केही गुलिया परिकारहरु पनि रहेका छन् जसको ख्याति अन्तर्राष्ट्रिय क्षेत्रमा पनि रहेको छ ।

गुलियो खानेकुराको प्रसंग झिक्दा काठमाडौंका नेवार समुदायमा लोकप्रिय रहेको लाखामरीकै चर्चा गर्नुपर्छ । काठमाडौंका नेवार समुदायमा गुलियो खानाको रुपमा जेरी, स्वारी, हलुवा आदी लोकप्रिय भएपनि यि खानाहरुमा भारतिय खानाको प्रभाव रहेको छ । तर लाखामरीको निर्माण कलात्मक र लामो समयसम्म राखेर खान सकिने हुनाले यो चाहि पक्कै पनि नेपालको मुख्य गुलियो परिकारको रुपमा रहेको छ ।

अहिले लाखामरीलाई बिदेशमा बस्ने नेपालीहरुले पनि बिदेशीहरुको जिब्रोमा स्वाद गडाउन सफल भएका छन् । त्यसैले पनि लाखामरी नेवार समुदायको धार्मिक कार्य वाट बाहिर गएर खाने परिकारको रुपमा पनि उपस्थित भएको छ ।

६. छ्याङ

नेपालका बिभिन्न जातजातीमा छ्याङ धार्मिक कार्य देखि पाहुनाको सत्कारमा नभै नहुने पेय पदार्थको रुपमा रहेको छ । कतिपय जातिहरुमा विहेवारी छिन्दा छ्याङ भएन भने अपमान गरेको समेत ठहरिन्छ । जातिगत बिशेषमा बिशेष महिमा रहेको छ्याङलाई नेवार समूदायले नै अन्तराष्ट्रियकरण गर्न सफल भए ।

उपत्यकाको तिनै शहरमा आयोजना हुने बिभिन्न जात्राहरुमा नेवार समूदायको प्रत्यक्ष सरोकार रहेको छ । यिनै जात्राहरुमा छ्याङ नभै हुदैन । जस्तो काठमाडौंमा हुने सेतो मच्छिन्द्रनाथको जात्रामा हनुमान ढोकामा रहेको भैरवको मुखवाट निस्कने छ्याङ खाएमा राम्रो मानिन्छ । यो छ्याङ खान तछाड मछाड नै हुन्छ । फेरी यो जात्राले बिश्वका धेरै मानिसहरुलाई अनौठो बनाएपछि छ्याङको क्रेज बढ्ने नै भयो ।

छ्याङ मुख्य रुपमा चामललाई पकाएर बनाएपनि केही जातिहरुले अरु अन्नको पनि बनाउने गर्छन् । काठमाडौंमा रहेका अधिकांश नेवारी खाजा घर देखि रेष्टुरेन्टहरुले छ्याङलाई पनि आफ्नो मेनुमा राखेपछि यो पेयले धेरै मदिरा पारखीहरुलाई आकर्षित गरिरहेको छ ।

७. छोएला

नेपाली परिकारहरु मध्ये धेरै अन्तराष्ट्रियकरण भएको र धेरैको स्वादमा गडेको परिकार नेवारी नै रहेको छ । नेवारी परिकारमा धेरै किसिमको विविधता भएको कारणले पनि यो परिकार धेरैको जिब्रोमा गडेको देखिन्छ । अधिकांश नेवारी रेष्टुरेन्टहरुले आफ्नो ब्यापार संचालनको मुख्य परिकारको रुपमा राँगाको मासुवाट बाट बनेको छोएलालाई लिने गरेका छन् । राँगाको मासुको छोएला भन्दा नै धेरैको मुख रसाएर आउछ । यो चाहि ग्यारेन्टि नै हो ।

अब भन्नुस् त यो परिकार कस्तो छ । राँगाको मासु नखाने धेरैले पनि छोएला खाएरै राँगाको मासु खान थालेको हुन् । पिरो, तोरीको तेलको बास्ना, डढेको हल्का मासुको भाग, लसुन र अदुवाको स्वाद । आहा, अनि यो परिकारले बिश्वका मानिसहरुको मन नजितेर भयो त ?

८. चटामरी, बारा र वो

नेवार समुदायले खाजाको रुपमा खाने चटामरी, बारा र वोलाई पनि अन्तराष्ट्रिय स्वादकै परिकारको रुपमा लिईन्छ । चटामरी, बारा र वोको बनाउने प्रकृया एउटै किसिमको भएपनि पाक्ने परिकार भने फरक हुने गर्छ ।

चामलको पिठोको धोललाई पातलो गरेर रोटीको आकारमा फलामको तावामा चटामरीलाई पकाईन्छ । यसमा पनि स्वाद अनुसार किमा गरेको राँगाको मासु, हरियो खानेकुराहरु माथीवाट हालिन्छ । धेरै बिदेशीहरु यो परिकारलाई इटालियन खाना पिज्जासंग तुलना गर्छन् भने कतिपयले यसलाई नेपाली पिज्जा पनि भन्छन् ।

यस्तैगरी मासको दाललाई पिनेर बनाईने अर्को परिकार बारा र वो हो । यसलाई पनि तावामा रोटीकै आकारमा पकाईन्छ र स्वाद अनुसार राँगाको मासुको किमा र अण्डा हालेर सर्भ गरिन्छ ।

यो परिकारको ईतिहार हजारौं बर्ष पुरानो मानिएको छ । अहिले उपत्यकाको अधिकांश नेवारी बस्तिमा यो परिकार अनिवार्य रुपमा पाईने गरेको छ । अझ केही पुराना पसलहरुले यसलाई शताब्दिऔं देखि कायम राखेको कारण यो परिकारले पनि अन्तराष्ट्रिय स्वादका पारखीहरुलाई मोहित बनाएको छ ।

९. जुजु धौं

दहिको लागि लोकप्रिय जिल्ला कुन हो भनेर सामान्य ज्ञानमा सोधिने यो प्रश्नको उत्तरमा धेरैले भक्तपुर भनेर उत्तर दिँदा सहि भएको कारण पुरस्कार पाएका होलान् । हो, भक्तपुरमा मात्र बन्ने दहि जसलाई स्थानिय भाषामा जु जु धौं भनिन्छ को ख्याति नेपालमा मात्र नभएर बिदेशमा समेत हुने गरेको छ । बनेको छोटो समयमै प्रयोग गरिसक्नु पर्ने स्वादको रुपमा रहेको जु जु धौं भए सम्म सबैको पहिलो प्राथमिकताको दहिको रुपमा रहेको छ । खाना खाएपछि खाने गरिएको दहि अहिले बिदेशीहरुको जिब्रोमा डेजर्टको रुपमा रहेको छ ।

१०. जिम्बु

हिमाली भेगमा पाईने जिम्बु जडिबुटिको रुपमा रहेपनि यसले खानाको स्वादमा ब्यापक परिवर्तन गर्ने क्षमता राख्छ । त्यसैले जिम्बुलाई परिकारको रुपमा भन्दा पनि मसलाको रुपमा प्रयोग गरिदैं आएको छ । जिम्बुले सबै खानाको स्वादलाई बढाउने क्षमता भने राख्दैन केही खानाहरुमा यसको प्रयोग गरेमा त्यसले खानाको स्वादलाई नै अविश्मरणिय बनाउने गर्छ ।

हिमाली भेगमा पाईने एक किसिमको घाँसलाई सुकाएरै जिम्बु तयार गरिन्छ । यसलाई कालो मासको दाल वा सिमिको दालमा ध्यूमा हालेर उक्त दालमा झान्दा त्यसको स्वाद नै अविश्मरणीय हुन्छ ।

 

Logo