चितवन

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहार स्वरुप पठाउन लागिएको दोस्रो जोडी गैंडा साउन २९ गते यहाँबाट काठमाडौँ पठाइने भएको छ । "/>

साउन ३१ गते सोल्टी र मितिनीलाई चीन पठाउने सरकारको तयारी !

साउन ३१ गते सोल्टी र मितिनीलाई चीन पठाउने सरकारको तयारी !


चितवन

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहार स्वरुप पठाउन लागिएको दोस्रो जोडी गैंडा साउन २९ गते यहाँबाट काठमाडौँ पठाइने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले ती गैंडा साउन ३१ गते काठमाडौँबाट चीन लैजाने छन् । चिनियाँ पक्षले गैंडा बोक्नका लागि ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिसकेका छन् । निकुञ्ज विभागले सम्पूर्ण प्रबन्ध गरी दुई दिन अघि साउन २९ गते गैंडा पठाउन पत्राचार गरेको ढकालले बताए ।

मौसममा खराबी देखिएकाले बाटोमा समस्या हुने भन्दै दुई दिन अगाडि नै यहाँबाट गैंडा पठाउन लागिएको हो । यसअघि पनि पहिलो जोडी गैंडालाई दुई दिन अघि नै काठमाडौँ लगेर राखिएको थियो । यसअघि असार २८ गते एक जोडी गैंडा चीन पठाइएको थियो । दोस्रो जोडी गैंडा मध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम ‘सोल्टी’ र डेढदेखि दुई वर्षको पोथीको नाम ‘मितिनी’ राखिएको छ ।

निकुञ्जबाट नियन्त्रणमा लिइएका गैंडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ । निकुञ्जका अधिकारीले गैंडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने जनाएका छन् । यसअघि झैँ पछिल्लो जोडी गैंडा पठाउँदा पनि निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाइनेछ । ढकालले थप एक जना निकुञ्जका कर्मचारी पनि पठाउन आग्रह गरिएको बताए ।

दोस्रो जोडी गैंडालाई संघाइको जुलोजिकल पार्कमा राखिने छ । दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने वचन दिएका थिए । सोही अनुरुप अहिले गैंडा पठाइएको हो । पहिलो जोडी गैंडा भने यस अघि नै पठाइसकिएको छ । चीनमा दुई जोडी गैंडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देश पठाएका गैंडाको संख्या ३० पुग्नेछ ।
रासस

Logo