च्व..च्व..च्व..सबैजना जलिरहेको चितामा हेरिरहेका छन् । अघि भर्खर बोकेर ल्याएको लास जल्दै छ । जलेर पनि अब अन्तिम हुन लाग्यो । "/>

कथाः मृत्यु विचार

कथाः मृत्यु विचार


च्व..च्व..च्व..सबैजना जलिरहेको चितामा हेरिरहेका छन् । अघि भर्खर बोकेर ल्याएको लास जल्दै छ । जलेर पनि अब अन्तिम हुन लाग्यो । आगो उकास्दै बाँकी अंश आगोतिर धकेल्दैछन् मलामीहरू । सोचिरहेछु हिजोसम्म काममा जाँदै थिए दाई । म अफिसबाट हतार हतार फर्कदै गर्दा खुइ…ए सास फेर्दै उभिएका । अनुहार फुङ्ग उँडेको । गालामा आँशुका डोब बसेको खाल्डा । ती त उनका सधैँको सम्झना भइरहे मेरा लागि ।

मैले उनको अनुहार नियाल्दै भनेको थिएँ, “दाइ आराम गर्नुपर्ने निकै थला पर्नुभो ।” उनले मेरो कुरा कत्ति पनि ध्यान दिएनन् मानौँ उनलाई आरामको प्रवाह छैन । मेरो पर्खाइको जवाफ आयो । “बाबु म गलेकै त छु अब उति काम गर्न पनि नसकूँला । मेरो मानु अब सकिन लागेको हो । जिन्दगीमा केही गर्न सकिन । उही एक माना खान नै धौ धौ प¥यो । ती जहान केटाकेटीको चिन्ता छ एउटा सानो झुपडी भएपनि आफ्नै भएको भए हुने । काम गरे माम त भइहाल्थ्यो नि । ”

हुन पनि हो उनले अहिलेसम्म जहानलाई जसोतसो माम त खुवाएकै थिए । घर बनाउन भने सकेका थिएनन् । उनलाई यसैमा गुनासो रहेको थियो । केटाकेटी पनि जेनतेन पढाएका त हुन् । मेरो मनमा यी कुरा आउँदै गर्दा उनी फेरि बोले, “एउटा झुप्रो बनाइदिने रहर रहरै भयो ।”

आज उनी जल्दै छन् । उनका रहर जलिरहेछन् । म हिजोको सम्झना ताजा बनाउदै मलामी बसेको छु । म उनको मलामी भएको साक्षी अरु छन् । यसले मलाई भोलिदेखि ती दाजुप्रति पूर्ण रूपमा कर्तव्य पालन गरेको हुँ भन्ने प्रमाण दिनेछ । जसको भौतिक शरीर अब यो संसारमा छैन । त्यो हिजो देखेको मायालु अनुुहार आज छैन । उनको आँखाको डिलमा बसेको कालो । गालाको खोपिल्टा सब खरानी भइसके । अब खुट्टाका हड्डी मात्र बाँकि छन् जल्नलाई । म यतिबेला यौटा जीवनको मृत्यु पढिरहेछु ।

हिजो मसँग भेट्दा त्यत्रो चिन्ता लिने उनी आज खरानी भइसके । धुँवामा बिलाइ सके । उनलाई आज केही गर्न नसकेकोमा चिन्ता छैन । ग्लानि छैन । बरु म पो छट्पटिदै छु । उनको अभावमा । जसलाई हिजोसम्म मैले महत्व दिइन । बाँचुन्जेल उनीप्रति कत्ति पनि सहानुभूति राख्न सकिन । मेरो आफ्नै बित्ने कसरी उनलाई समय दिन भ्याउनु ?
हिजो मात्र भेट्दा मैले औपचारिकता निर्वाह गरेँ आराम गर्नुपर्ने । अलि तागतिलो खानेकुरा खानुपर्ने । उनीप्रतिको मेरो त्यो औपचारिकता के काम ? जबकी उनले एकमाना खानेकुराकै गुनासो गर्दै थिए । कसरी पौष्टिक आहारको पूर्ति गरून् ? काम गर्नुपर्ने बाध्यता नै छ भने कसरी आराम गरून् ? किन होला म मान्छे बन्न नसकेको ? ममा मानवताको अंश नभएको ? मलाई ग्लानी भएर आयो ।

के साँच्चै दाइले राम्रो लाए ? मीठो खाए ? बाँचुन्जेल आफ्नो लागि बाँचे ? अहँ यी प्रश्नका उत्तर बिल्कुल भिन्न छन् । उनले के काम गरेनन् र ? ईंट्टा बोक्ने देखि लिएर वालुवा चाल्ने, गाह्रो लगाउने, ढल खोल्ने । कुनै बेला त मैले उनलाई ठूलो ठूलो स्वरले कराउँदै हकरको काम गरेको पनि देखेँ । उनी रङ्गमा बहुरङगी हुन् । स्वादमा बाँचुन्जेल गुलियो बाहेक सबै । तीतो, टर्रो, पीरो, खल्लो, बेस्वादको किनभने उनलाई सबैले चाखेका थिए । जीवनमा आफूले कहिल्यै मीठो खान नपाएका उनी ढुङ्गा जस्तो कठोर जीवन बाँचेका थिए ।

अँ अझ हिजो मात्र होइन । म उनलाई बेला बेला भेटिरहन्थेँ । मैले एकदिन मिठाइ पसलमा भाउ सोधेर रित्तै फर्केको देखेँ । भोक लागेको बेला के के खाने इच्छा भयो होला तर खल्तीमा पैसा नभएर वा यति पैसाले दुई किलो चामल किनूँला भनेर फर्किए होलान् सायद उनी । उनले बालबच्चालाई भने मागेका र रहर गरेका चीज किनिदिएकै हुन् । छोरा छोरीको रहरका लागि आफ्नो रहर लुकाएर ।

साँच्चै मलाई के भइरहेछ ? तल्लो घर लाहुरे काका भन्दै थिए “त्यो हर्केले आफूलाई सडाएर भएपनि परिवार पालेकै छ । अँ अहिले उनी टाउकोमा हात लाएर पर बसेका छन् । उनको आँखा चितामा जलेको लासको बाँकि अंशतर्फ एकोरिएका छन् ।

उनका काममा परिवारले कहिल्यै जस दिएका होइनन् । भाउजूले रामेकी दूलहीसँग कुरा गरेको सुनेको थिएँ । यी बूढाले बाँचुन्जेल सुख पाएनन् । न मलाई सुख भयो ? एक जोर लुगा लगाउन पाएको होइन वर्षमा । खाली अरुकै जडौरीले काम चलाउनुप¥यो । उनी आफैँले पनि लाए खाएको भए पो ! खै कतिन्जेल यस्तो दुःख गर्ने हो ? छिमेकीले पनि निस्वार्थ भावमा कहिल्यै सहयोग गरेनन् । खालि काम काम । मात्र काम । उनले कर्मको अमिट छाप भने छोडेर गएका छन् ।

एकछिन् अघि घाट ल्याउने तयारी गर्दै गर्दा भाउजू चिच्याइ चिच्याइ रुँदै थिइन् । छोरो चित्ता नजिकै झोक्राएको छ । म मौन रूपमा चिताकै सामुन्ने यी यावत् सोच्दै छु । हर्के दाइको जिन्दगीको रिल घुमाउँदै छु । मेरो सम्झनामा रिल कति ठाउँमा अड्कियो ? यतिबेला पूर्ण रूपमा खरानीमा परिणत भएको चिताबाट खरानी भुर्र उँड्छ । म खरानी उँडेतिर हेर्छु । सबै बाटो लाग्छन् । फेरि अर्काे झोक्का हावा चल्दा म फर्केर अघि जलाइएको चितातिर हेर्छु । मेरो हेराइमा एक किसिमको कौतुहलता छ । रिक्तता छ । विरक्ती छ । फेरि, चित्ताबाट खरानी फुर्र उँड्छ । उसको छोरो तीन चोटि फर्केर हेर्छ । जसरी बचेराले माउलाई हेर्छ । ऊ आज माउ बिहीन भएको छ ।

म आज किन यति गम्भीर भइरहेछु ? यति मिहीन मृत्यु सोचिरहेछु ! मृत्यु त अवश्यमयी थियो । त्यही मृत्यु मरेका हुन् दाइले । फेरि किन मसिना कुरामा मलाई ध्यान दिन मन लागेको छ ? के उनको छोरोले आमाको आङ्मा नयाँ लुगा दिन सक्ला ? बहिनीको इच्छा पूरा गर्ला ? घर बनाउला ?

आज म मलामी हँुदा उनी चितामा थिए । भर्खर मैले मलामी भएर उनको मृत शरीरमा आगो लगाएर आएको हुँ । उनी खरानी बने । सबैले उही सहानुभूति राखे च्वच्व अकालमै म¥यो ……..। घरमा पुगेपछि पनि उनको झल्को लागिरहन्छ । आफ्नो घरको भुइँ तलाको कौशिबाट उनको डेरा देख्न मुस्किल छ तापनि तन्केर तल हेर्छु । म देख्दिन र माथि छतकै कौशिमा उक्लेर पुनः हेर्छु । मैले कहिल्यै यसरी उनको डेरा चिहाएको थिइन । उनको घरको संघार नियालेपछि मलाई सबै सत्य लाग्छन् । अर्थात् हर्के दाइको अजेय मृत्यु । यतिबेला एउटा अनुत्तरित प्रश्न मनमा आएको छ । के हर्के दाइले औसत मृत्यु मरेका हुन् ?

आफैँसँग मेरो प्रश्न छः मृतकका सामान्य भन्दा सामान्य दैनिकीलाई सम्झने, प्रशंसा गर्ने, मरेपछि श्रद्धा गरे जस्तो देखाउने सहानुभूति के मृत्युपछि मात्र सुहाउने कुरा हो ? मैले समाजमा के गरेँ ? समाजबाट के पाएँ ? मैले सहानुभूतिका लागि गरेँ वा गर्नका लागि गरेँ ? वा कर्तव्यका लागि गरेँ ? उनले गरेका र समाजले स्वीकारेको उनको अस्तित्व मृत्युसँगै मरेको हो त ? म यस्तै सोच्छु । सोचिरहन्छु …..।।

Logo