ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

साहित्यकार कौशिला रिसालको दोस्रो साहित्यीक कृति आहा फूल... यतिबेला बजारमा छ । "/>

किशोर किशोरीहरुका लागि आहा फूल…मा रिसालको नौलो प्रस्तुती ( पुस्तक समिक्षा )

किशोर किशोरीहरुका लागि आहा फूल…मा रिसालको नौलो प्रस्तुती ( पुस्तक समिक्षा )


ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

साहित्यकार कौशिला रिसालको दोस्रो साहित्यीक कृति आहा फूल… यतिबेला बजारमा छ । साहित्यमा कमै मात्र लेखिने किशोर कथासङ्ग्रह यस पटक रिसालको छनौटमा परेको छ । उहाँले आफ्नो पहिलो कृति नयाँ वर्षको उपहार पछि आहा फूल सार्वजनिक गर्नु भएको हो । यस भित्र ९ वटा कथाहरु छन् ।

प्रत्येक कथाहरुले किशोरहरुका मनोविज्ञानहरुलाई चित्रण गरेका छन् । साह्रै साना बालबालिका भन्दा माथिल्लो उमेरका अनि यूवा नभइसकेका किशोर किशोरीहरुलाई लक्षित गरि लेखिएका कथाहरु छोटा छन् तर गहन पनि छन् । कथाहरु पढ्दा किशोर र यूवाहरुलाई ऊर्जा दिने खालका छन् । यसमा अटाएका सबैजसो कथाहरु मझौलो आयाममा लेखिएका छन् । धेरै लामा पनि छैनन् र साह्रै छोटा पनि छैनन् ।

आफू शिक्षक भएकाले बालबालिका र किशोर किशोरीका मनोभावहरु राम्ररी बुझेर लेखकले कथाहरुमा उनीहरुले व्यक्त गर्ने , मनमा खेलिरहने तर व्यक्त गर्न नसक्ने भावना लगायतका विषयलाई पनि कथाका रुपमा उतार्न सफल हुनु भएको छ । आकारका हिसाबले सानो छ कथासङ्ग्रह तर विषय प्रस्तुतीका हिसाबले निकै बलियो र सशक्त छ । आमा मलाई भोक लाग्यो कथामा किशोर किशोरीहरु छिट्टै रिसाउँछन् र छिट्टै पछुताउँछन् पनि भन्ने विषयलाई उनीहरुले देखेको सपनाको माध्ययमबाट देखाइएको छ ।

त्यस्तै अज्ञानले गरेको भुल कथामा किशोर किशोरीहरु कुनै पनि निर्णय गर्दा आवेगमा गर्छन् तर पछि आउन सक्ने समस्याका बारेमा पहिले नै सोच्न सक्दैनन् भन्ने विषय अटाइएको छ । यस कथाका पात्र घर छोडेर शहरमा सुख पाउने सोचका साथ कसैलाई थाहा नदिइ भागेर जान्छ तर शहरमा पुगेपछि दुःख र हण्डर मात्र पाउँछ । र घर नै फर्केर आमाबुबासँग आफ्नो गल्ती महसुस गर्न पुग्छ । यस्तो अवस्था अधिकांश किशोरहरुमा हुन सक्छ । कथाकारले यसै विषयलाई केन्द्रीत गर्न खोज्नु भएको छ ।

अन्य कथाहरु पनि सन्देशमुलक र मार्मिक छन् । तर थोरै मात्र र छोटा मात्र कथाहरु रहेकाले पाठकहरुलाई सबै खाले खुराकहरु दिन भने नसकेको हो कि भन्ने पनि अधिकांश पाठकलाई भान पर्न सक्छ । भाषाशैली सरल र सजिलै बुझ्न सकिने रहेकाले कथा समग्रमा सफल नै देखिन्छ । कथा १ सय रुपैयाँमा बजारमा किन्न पाइनेछ ।

 

Logo