सचिवालय समस्या सृजना गर्ने थलोका रुपमा विकास भयो–महासचिव पौडेल

सचिवालय समस्या सृजना गर्ने थलोका रुपमा विकास भयो–महासचिव पौडेल


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीको सचिवालय पछिल्लो समय समस्या सृजना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव पौडेलले सो कुरा बताएका हुन् । पार्टीको ‘कोर अफ द लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा पनि समस्या सृजना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ ।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा लैजानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको उनको आरोप छ । महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता समेत औल्याए । उनले भने–‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सृजना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु । यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।’

त्यस्तै महासचिव पौडेलले आफ्नो अभिभारा सहि ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवरी हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘यदि हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौँ’–महासचिव पौडेलले भने–‘हामीले यति मात्रै गर्न सक्यौँ यो भन्दा बढी गर्न नसक्ने भयौँ । हाम्रो अभिभारा ठिक ढंगले पूरा गर्न नसक्ने भयौँ । त्यसैले तपाईहरु जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुस हामी पदमुक्त हुन्छौँ ।’

बुधबारको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उनले जानकारी दिए । पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उनले जनता र नेता कार्यकर्ताहरुले नचाहेका अपेक्षित घटनाहरु घटिरहेको बताए ।

Logo