‘नेकपाकै कारण अहिलेको प्रणालीमाथि जनतामा भ्रम पैदा भयो’ : कांग्रेस (भिडियाेसहित)

‘नेकपाकै कारण अहिलेको प्रणालीमाथि जनतामा भ्रम पैदा भयो’ : कांग्रेस (भिडियाेसहित)


काठमाडौं ।

सत्तारुढ दल नेकपाको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको कांग्रेसले बताएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै जनताले आशंका गरिरहेको कांग्रेसको भनाई छ । निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री प्रकाशशरणले महतले बताए । सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजे पनि देश त्यो बाटोमा जान नसक्ने बताए ।

उनले भने, ‘‘प्रणालीको कुरा होइन् । निर्वाचित भएर आएकाहरुले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो की भन्ने परेको छ । तर त्यो होइन् । जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो । सरकारले रहँदासम्म सरकारलाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलंद गर्नुपर्छ । प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन् । त्यो बाटोमा देश जान सक्दैन ।’’

उनले सरकार संवेदनशिल नबनेका कारण महामारी नियन्त्रण बाहिर गएको समेत बताए । महामारी विरुद्धको लडाईमा सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण/व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन अस्पतालहरुमा बेडको व्यवस्था गरी अगाडि बढ्नु पर्नेमा त्यसो गर्न नसकेको उनले बताए ।

उनले भने, ‘‘निर्वाचनमा गरेको बाचा विपरित सरकारले काम गरिहरेको छ । सरकार संवेदनशिल भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो । सुरुमा आइसोलेशन, क्वारेन्टिन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो वर्ष आउने थिएन । अहिले सरकार औषधि खरिद र राहत वितरणको रुपमा फाइदा उठाउने अभियानमा लागेको छ ।’’

सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताए । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको पनि उनले बनाए ।

सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको बताए । उनले भने, ‘‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ । यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरु देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली जसरी भए पनि सत्ता टिकाउने र उनको ठाउँमा जान चाहने नेताहरुले त्यहाँ पुग्न गरिरहेको लडाईले नेपाली जनता मारमा परेका छन् ।’’

Logo