काठमाडौँ

सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको एक तथ्यांकले देखाएको छ । "/>

उपत्यकामा सवारी दुर्घटना : सात बर्षमा १ हजार ८८ को मृत्यु , १ हजार ७८१ गम्भीर घाइते

उपत्यकामा सवारी दुर्घटना : सात बर्षमा १ हजार ८८ को मृत्यु , १ हजार ७८१ गम्भीर घाइते


काठमाडौँ

सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको एक तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा मात्रै सात वर्ष यता सडक दुर्घटनामा परी १ हजार ८८ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले राजधानीमा सवारी दुर्घटनाको तथ्यांक केही वर्ष बाहेक प्रत्येक वर्ष बढ्दो क्रममा रहेको देखाएको छ । सवारी दुर्घटनामा बढी जसो पैदलयात्रु, मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्ति पर्ने गरेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०६८/ ६९ यता २०७४/ ७५ (जेठ मसान्त सम्म) सात वर्षको अवधिमा मात्रै काठमाडौं उपत्यका भित्र सवारी दुर्घटनामा १ हजार ८८ जनाको मृत्यु र १ हजार ७ सय ८१ जना गम्भीर घाइते भएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले सामान्य लापर्बाहीका कारण पनि सवारी दुर्घटना हुने क्रम बढेको र दुर्घटना दिनहुँ बढ्ने क्रममा रहेको बताए । उनले बढीजसो स्कुटर तथा मोटरसाइकलमा सवार व्यक्तिहरूको दुर्घटनामा मृत्यु हुने गरेको जानकारी दिए । महानगरीय प्रहरी महाशाखाको रेकर्ड अनुसार आर्थिक वर्ष २०६८/६९ मा उपत्यकामा सवारी दुर्घटनामा १४८ जनाको मृत्यु भएकोमा २०६९/७० मा समेत सोही संख्यामा नै दुर्घटनामा मृत्यु भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७०/७१ मा केही कम भए पनि १४३ जनाको ज्यान गएको छ भने २०७१/७२ मा १३३ जनाको मृत्यु भएको छ । यस्तै २०७२/७३ मा भने अघिल्ला वर्षको तुलनामा मृत्यु हुनेको संख्या बढेर १६६ पुगेकोे छ । यसैगरी २०७३/७४ मा समेत अघिल्ला वर्ष भन्दा मृत्यु हुनेको संख्या बढेर १८२ पुगेकोमा आर्थिक वर्ष २०७४/७५ मा (जेठ मसान्त सम्म) १६८ जनाको मृत्यु भएको हो ।

यस अवधिमा २५ हजार ५८४ जना दुर्घटनामा सामान्य घाइते भएका छन् । तर प्रत्येक वर्ष सामान्य घाइते हुनेको संख्या समेत बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार सबैभन्दा बढी दुर्घटनामा पैदलयात्रु र मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्तिहरूको मृत्यु हुने गरेको हो । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी पन्तले सवारी चलाउँदा लेनको पालना नगर्ने, लेन अनुसार बत्ती प्रयोग नगर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चालकको लापर्बाही, सडकको अवस्था लगायतका कारण सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको रेकर्डमा देखिएको जनाए । यसैगरी सवारीको यान्त्रिक गढबढीका कारण र पैदलयात्रुका लापर्बाहीका कारण समेत सवारी दुर्घटना हुने गरेको उनले जानकारी दिए ।
राजधानीबाट

Logo