काठमाडौं

विनाशकारी भूकम्प गएको तीन वर्ष नाघि सक्दा पनि ५० प्रतिशत भन्दा बढी भूकम्पपीडितले अझै ओत पाउन सकेका छैनन् । "/>

भूकम्पपीडितका व्यथा, आधा बढी अझै ओत बाहिरै !

भूकम्पपीडितका व्यथा, आधा बढी अझै ओत बाहिरै !


काठमाडौं

विनाशकारी भूकम्प गएको तीन वर्ष नाघि सक्दा पनि ५० प्रतिशत भन्दा बढी भूकम्पपीडितले अझै ओत पाउन सकेका छैनन् । सरकारी ढिलासुस्ती र प्रक्रियागत झन्झटका कारण ३ लाख भन्दा बढी भूकम्पपीडितले अझै ओत पाउन नसकेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या ५ लाख पुगेको भए पनि हालसम्म करिब २ लाख ३० हजार मात्रै घरको पुनर्निर्माण सम्पन्न भएको छ । निजी आवासका लागि ९ लाख ९६ हजार घरधुरीको सर्वेक्षण भएकोमा ८ लाख ७ हजार मानिस लाभग्राही सूचीमा परेका छन् । त्यसमध्ये अनुदान सम्झौता गरेका कुल ७ लाख २१ हजार ७४३ लाभग्राही छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० असार सम्मको तथ्यांक अनुसार ती मध्ये २ लाख ३० हजारले मात्रै घर निर्माण सम्पन्न गरेका छन् । लाभग्राही सूचीमा परेका मध्ये १ लाख भन्दा बढीसँग अनुदान सम्झैता हुन बाँकी छ । झन्डै ३ लाख घर निर्माणाधीन छन् । करिब ३ लाखले घर निर्माण थालेकै छैनन् । निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र स्थानीय तहमा प्राविधिक जनशक्तिको उपलब्धताका साथै केही नीतिगत व्यवस्थामा गरिएका सुधारका कारण निजी आवास पुनर्निर्माणमा तीव्रता आएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ७३ हजार ४१९ घरको पुनर्निर्माण सुरु भएको छ । यसैगरी नुवाकोटमा ६४ हजार १६१, धादिङमा ५९ हजार ३९८, गोरखामा ५२ हजार ४४८, दोलखामा ५२ हजार २३५, काभ्रेमा ४३ हजार ८०२, रामेछापमा ३८ हजार ३४२ घरको पुनर्निर्माण कार्य सुरु भएको छ ।

अति प्रभावित जिल्लाका अतिरिक्त कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माणले गति लिएको छ । कम प्रभावित जिल्ला मध्ये लमजुङमा सबैभन्दा धेरै ४ हजार ७४५ घरको पुनर्निर्माण सुरु भएको छ । त्यस्तै दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्यामा पनि वृद्धि भएको छ । ४ लाख ३७ हजार लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि १ लाख ८९ हजार ८९ लाभग्राही छानिएका छन् ।

तथ्यांकमा पुनर्निर्माण
कुल सर्वेक्षण भएका घरधुरी : ९९६५८२
लाभग्राही सूचीमा परेका कुल संख्या : ८०७४८६
अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या : ७२११६८
पहिलो किस्ता लिएका लाभग्राही संख्या : ७१२६८०
दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका : ४३७५९५
तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका : १८९४५०
पुनर्निर्माण सम्पन्न भएका घरको संख्या : २३०५१५
प्रबलीकरण सूचीमा परेका लाभग्राही संख्या : ५२०५४
पुनर्निर्माण भइरहेका घरको संख्या : ५०२०९६
राजधानीबाट

Logo