विद्यालय संचालन गर्ने बाटो खुल्योदेखि ‘जिप लाइन’ मा पर्यटकको आकर्षण बढ्दोसम्म (भिडियोसहित)

विद्यालय संचालन गर्ने बाटो खुल्योदेखि ‘जिप लाइन’ मा पर्यटकको आकर्षण बढ्दोसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । हाल अनलाइन लगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय खोल्ने आधार तयार गरेको हो ।

त्यस्तै मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली सार्वजनिक भएको छ । महासंघको निर्वाचन समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार मतदान गर्न पाउने सदस्यहरुको नामावली सार्वजनिक गरेको हो ।

त्यस्तैगरी प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिनका लागि समय माग गरेका छन् । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गत शुक्रबार कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ दिनका लागि आफूलाई केही समय लाग्ने बताएपछि सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित गरिएको हो ।

कैलालीको महोन्याल गाउँपालिका वडा नं. ७ पितमारीस्थित कर्णाली नदीको किनारमा जिप लाइन सेवा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिब १ सय ३० मिटर लामो लाइन निर्माण भएपछि जिप लाइन सेवा सञ्चालनमा आएको हो । साहर्षिक खेलको रुपमा रहेको जिप लाइनको मज्जा लिन अहिले दैनिक रुपमा पर्यटकको भीड लाग्ने गरेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला……

Logo