ओली आत्मवृत्तान्त

मलाई सानैदेखि कलाकार बन्ने रहर थियो । तर समयले अन्तै डोर्यायो । खासमा त्यो समयमा म बेरोजगार थिएँ। टोलमा गुण्डागर्दी गर्दागर्दै समय बितिरहेको थियो । केहि नेताहरुले व्यवस्था नै बदल्ने भनेर आन्दोलन गरिरहेका थिए । त्यो आन्दोलन संग मलाई खासै सरोकार थिएन । आफुलाई गुण्डागर्दीको लेबल बढाउनु थियो ।

एकदिन त्यहि लेवल बढाउने क्रममा आफु जस्तै अन्य टोलेहरुको सहभागिता समेतमा कसैलाई ठोक्दा केहि थान ज्यान गएको ईतिहास अहिलेसम्म ज्युदै छ । केहि गर्धनहरु छिनिए केहि नावालकहरु समेत मारिए ।

जिल्लामा आफ्नो दवदवा कायम गराउन घटाईएको त्यो घटनाले राष्ट्रिय रुपमा नै चर्चा पायो । त्यसलाई व्यवस्था विरुद्धको आन्दोलनको रुपमा परिभाषित गर्दै अग्रजहरुले त्यो क्षेत्रको आन्दोलनको जिम्मा म र मेरो समुहलाई प्रदान गरे ।

आन्दोलन चर्कदै गयो । मेरो क्षेत्रमा मेरो दबदबा पनि बढ्दै गयो । जिल्ला अञ्चल हुँदैं मेरो राजनीति केन्द्रीय स्तरमा पुग्यो । आफुले गरेको अपराधको जेल सजाय पनि भोगें मैले । मेरो खप्परलाई बलियै मान्नुपर्छ । निरङ्कुश भनिएको राज्य व्यवस्था पनि ढल्यो । मेरा मुद्दाहरु पर्छ्यौट भए । गुण्डागर्दीको लागि गरिएका नावालक हत्याहरुले क्रान्तिको लागि गरिएका संघर्षको रुपमा मान्यता पाए । मैले स्याबासी, तक्मा र पार्टीमा प्रमोशन समेत पाएँ ।

कहिले स्वास्थ्यले साथ नदिने कहिले जनताले भोट नदिने कहिले पार्टी भित्रैका समकक्षीहरुले खुट्टा तान्ने गरेर म आफ्नो यथोचित स्थानमा पुग्न सकेको थिईन । बल्ल बल्ल त्यो दिन आयो । एउटा तरिका फेला पर्यो जसले मलाई मैले कल्पना गरेको स्थान सम्म पुर्याउन सक्थ्यो तर त्यसको लागि अर्को आफ्नै नजरको ‘उग्र बिद्रोही’ समूह संग साँठगाँठ गर्नुपर्ने थियो ।

मैले गम्भीरता पुर्वक नियालें । उनीहरुको ईतिहास र मेरो अतित खासै फरक थिएन । दुवैको बाटोमा रगत लतपतिएको थियो । रगतमै खेलेर यहाँ सम्म आइपुगेको इतिहास आपसमा मिल्न समय लागेन । उनीहरुको अलि ताजा थियो मेरो अलि पुरानो थियो तर कहानी एउटा भएको कारण हाम्रो मिलनलाई कसैले रोक्न सकेन । त्यसपछि म ईतिहासकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्ने सौभाग्यशाली व्यक्ति बनें ।

सेलिब्रेटी बन्ने मेरो सानै देखिको रहर हो । म एक एक कुशल कलाकार हुँ यसमा कुनै शंका छैन । कलाकारिताको जुनसुकै विधामा म पोख्त छु । खास गरि हास्यव्यंग्य मेरो मनपर्ने विधा हो । उखान टुक्का र चुटकिला सुनाएर मान्छेलाई मोहनी लगाउने गज्जबको कला छ म संग । आफु भित्र रहेको तर जाग्न नसकेको कलाकारलाई कहिलेकाही जगाउन मन लाग्छ । त्यहि कारणले देशका प्रतिष्ठित कलाकारसँग मैले नजिकको सम्बन्ध बनाएको छु ।

म आफु राम्रो कलाकार भएकै कारणले कलाकारहरु सँग निकै नजिकको सम्बन्ध रहेको छ । म आफु बिमारी नहुँदा र अलिकति मुड फ्रेश हुने बित्तिकै कलाकारहरुलाई मादल, खैंजडी मजुरा लगायत बाध्यवादनका सामानसहित निवासमै बोलाएर नाचगान गर्न लगाउने र आफु पनि रमाउने मेरो सौख हो । अन्य काम नहुदोहो त बालुवाटारलाई मैले मुजरा गर्ने घराना नै बनाइदिन्थे। कुलपूजा लगायतका कामहरु त गर्दै आइरहेको नै छु ।

कहिले भित्ता भरि आफ्ना रंगीन पोष्टरहरु टाँस्न लगाएर आफु सेलिब्रेटी जस्तो देखिने हुटहुटीले रातारात काठमाडौंलाई रंगीन बनाईदिन मन लाग्छ । एकाबिहानै देश भरिबाट प्रकाशित हुने हरेक पत्रिकामा आफ्नो ठुलो फोटो भएको कभर हेर्न मन लागेर आउछ । सडकमा ठडिएका हरेक बिजुलीका पोलहरुमा आफ्नै फोटा युक्त होडिङ बोर्ड हेर्दै मख्ख पर्न मन लाग्छ । आफ्नै रहर देखि अचम्म लाग्छ अचेल मलाई ।

पत्रकारहरु चिच्याईरहन्छन । कर्णालीमा अहिले सम्म चामल छैन, डोटीमा नुन छैन, बाजुरामा छाउपडी यथावत छ, तराइमा सर्पदंसले बिमारी मरेका मर्यैछन्, त्यतातिर सोच्न सक्ने कुनै पनि राजनेता जन्मेको छैन यो देशमा भन्दै मेरा कामको आलोचना गरिरहन्छन । मैले त्यस्ता पत्रकार र कथित बुद्दिजीवीहरुलाई ओठे जवाफ मात्र फर्काउछु ।

उचित जवाफ त दिदै दिन्न किनकि मैले जवाफ दिन थालें भने बुद्दिजीवीहरु ठहरै होलान भन्ने पिर छ मलाई । काम भएन भन्ने, गरेका राम्रा कामहरु नदेख्ने र अलि अलि भएका गल्तिहरुलाई उचालेर पत्रिकामा छाप्नेहरुको विरुद्ध ‘अरिंगाल दस्ता’ तयार गरेको छु । अहिले त हाईसंचो भएको छ । कोहि विरोधी आयो भने त्यहि समुहले मेरो प्रतिरक्षा गरिहाल्छ खासै नराम्रा कुरा सुन्नु परेको छैन । आफु अरिंगालको रानों भएको गजप अनुभव भईरहेको छ ।

स्वास्थ्य त खासै राम्रो होइन मेरो फेरिपनि बाहिर निस्कनै नसक्ने थिईन् । सल्लाहकारहरुले राणाकालीन प्रमहरुको बारेमा ब्रिफिंङ गर्दै मलाई ‘खोपीका देउता’ हुन सुझाएका छन् । त्यसो गरेपछि थोरै बोलिने र बोलिपिच्छे आउने आलोचनाको प्रतिवाद गर्न नपर्ने उनीहरुको ठहर छ । त्यहि पनि आशावादी रहेकाहरुले चित्त दुखाउलान भनेर कहिले कलाकारहरुको टोली कहिले पत्रकारहरुको टोली घरमै बोलाएर उनीहरुका बेदनाहरु सुन्ने गरेको छु त्यहि बहानामा मनोरन्जन पनि हुने गरेको छ । एउटा माट्याङ्ग्राले दुइटा चरा ठहरै पार्ने भनेको यहि हो ।

अहिले आएर भने मेरा मन्त्रीहरुलाई ठुला ठुला आरोपहरु लाग्न थालेको छ । बल्ल केटाहरुले प्रगति गर्छन कि जस्तो लागिरहेको छ । जहाज मन्त्रीले त गजबै गर्दिए । साढे चार अर्ब दुइटा जहाज किन्दा झ्वाम भएको हल्ला आईरहेको छ । जांचबुझ समितिको प्रतिबेदन प्रति मलाई खासै भरोसा छैन ।

अब अदालतमा पुगेर बरु त्यो मुद्दा कुन न्यायाधिसको ईजलासमा पर्छ त्यो हेरेर यसो मिलाउन निर्देशन दिनु पर्ला या अनुरोध गर्नुपर्ला ।त्यति धेरै रकम झ्वाम पारे भन्ने कुरामा मलाई विश्वास छैन किनकि ति अधिकारि भाइ त्यत्रो ठुलो मुटु भएका मान्छे होइनन । बामदेब कमरेड भएको भए आँखा चिम्लेर पत्याईदिन्थें । के गर्नु दह्रो मुटू भएका कमरेडले चुनाव हारेर बाहिर बस्नु परेको छ ।

यी केटाकेटीले त्यत्रो दाम जिप्टी पारेका हुन् भने र सम्हाल्न सकेनन भने ‘केटाकेटी आए गुलेली खेलाए माट्याङ्ग्राको सत्यानास’ भनेजस्तै हुने लक्षण देखिरहेको छु मैले । जे होस् दुइ तिहाई छदै छ । भागबण्डा राम्रोसँग गराएर यो कुरालाई अब दबाउन पर्छ । उचालेर फाइदा छैन ।

प्रचण्ड कमरेडको खातामा रकम नपुगेर यो बबण्डर भएको हो कि जस्तो लागिरहेको छ । यदि त्यसो भएको हो भने त ‘जसको भैसी उसको घाँस, जसकी स्वास्नी उसको खाट’ भन्ने उखान प्रचण्ड जी लाई लाग्नेभो । उहाँकै बलमा झ्वाम पार्ने र उहाँकै खातामा दाम नजाने हुनु दुखद कुरा हो । अहिले सम्मको सम्क्षिप्त आत्मवृत्तान्त छोटकरीमा यत्ति हो । पानीजहाज र रेलका कुरा अर्को एपिसोड मा गरम्ला ।

दुर्गा पंगेनी