जीर्ण बन्दै दहचोकका ऐतिहासिक सम्पदा

जीर्ण बन्दै दहचोकका ऐतिहासिक सम्पदा


चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकामा स्थापना गरिएको मनकामना मन्दिर जीर्ण बन्दै गएको छ । विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण भएको मन्दिर चाँडो मर्मत तथा सम्भार नगरिएमा पूर्णरुपमा भत्कने खतरा बढेको छ । 

मन्दिरको चारैतिरको पर्खाल चर्केको छ भने पूर्वी भागको पर्खाल पूरै भत्केको छ । आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजी योद्धा कालु पाँडेको सुझावअनुसार उक्त स्थानमा गोर्खाको मनकामनाको शक्ति स्थापना गरेर काठमाडौँ उपत्यका आक्रमण गरिएको इतिहास पाइन्छ । 

पाँडे समाजलगायत संस्थाले त्यस स्थानमा करीब एक दशक अगाडि मन्दिरको संरचना तयार गरिएको प्रा. रामकुमार पाँडेले जानकारी दिए । वडाध्यक्ष राजेन्द्र केसीले आधुनिक नेपाल एकीकरणका लागि योजना निर्माणका साथै शक्ति स्थापना गरिएको त्यस क्षेत्रलाई ऐतिहासिक महत्वको सम्पदास्थलका रुपमा विकास गरी पर्यटकलाई आकर्षित गर्ने लक्ष रहेको बताए । 

सो स्थानबाट काठमाडौँ उपत्यका तथा गोर्खा, धादिङ, नुवाकोट, गणेश हिमाललगायतका अग्ला शिखर देखिन्छन् । कलंकीदेखि नैकाप पुरानो भञ्ज्याङबाट वनजंगलको नजिकैबाट उकालो गएपछि स्थानीय बिन्ध्यवासिनी र इन्द्रदह पार गरेपछि पुगिने समाधिस्थल आसपासका क्षेत्रमा पूर्वाधार विकासका गृहकार्य भइरहेको छ । 

उद्यमी भक्त प्रल्हादले त्यस क्षेत्रको भौतिक पूर्वाधार विकास गरी त्यहाँबाट प्राप्त हुने उपलब्धिबाट स्थानीयवासीलाई लाभान्वित गर्नुपर्नेमा जोड दिए ।

Logo