रत्ननगर ।

चितवनको खैरहनी नगरपालिका वडा नं १२ र १३ मा किसानले लगाएको चैतेधानमा तीनथरीको रोग फेला परेको छ । "/>

चैतेधानमा रोग फैलने क्रम रोकिएन, तीनथरिको रोग भेटियो

चैतेधानमा रोग फैलने क्रम रोकिएन, तीनथरिको रोग भेटियो


रत्ननगर ।

चितवनको खैरहनी नगरपालिका वडा नं १२ र १३ मा किसानले लगाएको चैतेधानमा तीनथरीको रोग फेला परेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले स्थलगत रुपमा अध्ययन गर्दा तीन थरीको रोगले यहाँ लगाएको झण्डै १५० हेक्टर क्षेत्रफलको धानखेती प्रभावित भएको पाइएको हो । 

जेठ दोस्रो सातादेखि देखिएको रोग फैलने क्रम अझै रोकिएको छैन । सबैभन्दा बढी नेट ब्लाष्ट, त्यसपछि सिड ब्लाइज्ड र कतैकतै गबारो रोगसमेत देखिएको स्थलगत अनुगमनमा जानुभएका जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले पनि कतिपय धानखेतमा रोग फैलिने क्रममा रहेको र ५०, ६० हेक्टर क्षेत्रफलमा भने करीब ६० देखि ७० प्रतिशतसम्म धान नष्ट भइसकेको छ । यहाँ एक हेक्टरमा करीब चार टन धान उत्पादन हुन्छ । 

“रोग लागेर बाला सुकिसकेको स्थानमा केही गर्न सकिने अवस्था छैन, शर्माले भन्नुभयो, अन्य रोग लाग्न थालेको र लाग्ने सम्भावना भएको क्षेत्रमा विषादी हाल्न भनेर हामीले सिफारिस गरेका छौँ ।” 

कार्यालयले तत्कालै २५ लिटर हेग्जाकोनाजोल भन्ने ढुसीनाशक विषादी पठाएको र बाँकी अपुग किसान आफैँलाई किनेर हाल्न भनिएको छ । धानमा रोग फैलिएपछि किसान जेठ १२ गते रोकथाम र क्षतिपूर्तिका लागि जिल्ला कृषि विकास कार्यालयमा मरेको धान बोकेरै पुगेका थिए । 

तत्कालै कार्यालयले प्राविधिक टोली खटाएर अध्ययन गरेको थियो । हेर्दा फागुन तेस्रो हप्ताअघि रोपेको धानमा रोग देखिएको र अन्य पछाडिको धानमा भने देखिएको छैन । त्यसमा पनि रोग फैलने सम्भावना भने बाँकी नै छ । खैरहनीको वडा नं १३ बाट देखिएको रोग वडा नं १२ मा समेत फैलन थालेको यहाँका वडाध्यक्ष बालकुमार उप्रेती बताउनुहुन्छ । 

“यहाँको झण्डै आधा क्षेत्रफलमा रोग फैलिसक्यो, उप्रेतीले भन्नुभयो, “कतिपयको खेतमा धान काट्नै नपर्ने भएको छ ।” उहाँले अहिलेसम्म वडा नं १३ बाट क्षतिपूर्तिका लागि भनेर ५० भन्दा बढी किसानले निवेदन दिइसकेको बताउनुभयो । कृषि कार्यालयले क्षतिपूर्ति दिन नसक्ने बताएपछि किसान अहिले स्थानीय तहमा गुहार माग्दै पुगेका छन् । 

साना किसान कृषि सहकारी संस्था कुमरोजका अध्यक्ष तेजप्रसाद बर्ताैलाले अहिले किसान रोग नियन्त्रणका लागि धमाधम विषादी छर्ने काममा व्यस्त रहेको बताउनुहुन्छ । रोग फैलन नरोकिएको उहाँको भनाइ छ । किसानले सबै वडा कार्यालयमा निवेदन दिइरहेका समेत बर्ताैलाले बताउनुभयो । 

भाडामा ठेक्का लिएर चार बिगाहामा धान लगाएका चितवनको खैरहनी नगरपालिका वडा नं १३का माधव बस्नेत सबै रोगले धान सखाप भएको बताउनुहुन्छ । स्थानीय किसान भवनराज पाण्डे, पूर्णप्रसाद गौडेल र तुलप्रसाद उप्रेतीको पनि धानखेतमा उस्तैगरी रोग देखिएको छ । 

धानको बाला निस्कने घाँटी नजिक रोग देखिएपछि गुबो सुक्ने र बाला मर्ने मुख्य समस्या छ । नेट ब्लाष्ट (मरुवा) रोग बढी देखिएको कृषि कार्यालयका अर्का प्राविधिक सहायक नोदनाथ लामिछाने बताउनुहुन्छ । 

रोग लागेपछि भने रोक्न नसकिने भएकाले रोग लाग्नुअघि नै यसको उपचार गर्नुपर्नेमा कृषि विज्ञको जोड छ । हर्दिनाथ जातको धान उपचार नगरिएको बीउले रोग आएको अनुमान छ । त्यसैले अहिले रोग लागेको आसपास क्षेत्रमा अन्य धान जोगाउन किसान तल्लिन छन् । 

यो एकप्रकारको ढुसी रोग हो । कृषि कार्यालयका अनुसार धानको जातअनुसार पनि रोग बढी लाग्ने र नलाग्ने हुन्छ । मल प्रयोग गर्दा मात्रा नमिलेमा पनि यस्तो रोग लाग्छ । मौसम प्रतिकूल हुँदा, बढी पानी पर्दा, आद्रता बढी हुँदा, उपचार नगरिएका बीउ लगाउँदा यस्ता समस्या देखिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठ बताउनुहुन्छ । 
चितवनको पूर्वी क्षेत्र धान उत्पादनका हिसाबले अब्बल छ । अहिलेको चैतेधान कुमरोज र कठारमा धेरै छ । पछिल्लो समयमा धानको विशेष कार्यक्रमसमेत सो क्षेत्रमा सञ्चालित छ । चितवनमा करीब पाँच हजार हेक्टरमा चैतेधान र २९ हजार हेक्टर क्षेत्रफलमा बर्खेधान लाग्छ । नारायण ढुङ्गाना/रासस

Logo