Cover NewsDon't Missपत्र-पत्रिका बाटप्रदेश ३राष्ट्रियसमाचार

काठमाडौँ–टोकियो सिधा हवाईसेवा सञ्चालनका निम्ति मार्ग प्रशस्त

काठमाडौँ

करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।

हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्न मार्ग प्रशस्त भएको छ । अब दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् ।

त्यसैगरी नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्ने सम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति उक्त संयन्त्रले मार्गनिर्देश गर्नेछ ।

नेपाली श्रमिक जापानमा रोजगारीमा पठाउने सम्बन्धी श्रम समझदारी शीघ्र सम्पन्न गर्न पनि दुवै मुलुक सहमत भएका छन् । परामर्श संयन्त्रले नेपाल–जापान सम्बन्धका सबै पक्ष र आयाममा बृहत् छलफल गर्नुका साथै सहायताका नयाँ क्षेत्र पहिल्याउनेछ । साथै आपसी हित र स्वार्थका साझा मामिला तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका लागि सेतुको भूमिका निर्वाह गर्नेछ ।

मन्त्रिस्तरीय परामर्श संयन्त्र स्थापना सम्बन्धी सहमतिपत्रमा दुवै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षरपछि आदानप्रदान गर्नुभयो भने मन्त्रीद्वयको उपस्थितिमा हवाईसेवा सम्झौता पुनरावलोकन सम्बन्धी सहमतिपत्रमा परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभएको थियो ।

बैठकपछि पत्रकारहरूलाई संयुक्तरुपमा सम्बोधन गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासका मेरुदण्ड मानिएका भौतिक पूर्वाधार निर्माणमा जापानी सहायताको निरन्तरता, प्राथमिकताका क्षेत्रमा जापानी लगानी तथा आगामी चैतको अन्त्यमा आयोजना हुने लगानी सम्मेलनमा जापानी लगानीकर्ता र उद्यमीको सक्रिय सहभागिता लगायत विषयमा विचारविमर्श भएको जानकारी दिनुभयो ।

सन् २०३० सम्ममा मध्यम आययुक्त देशका रुपमा विश्व मानचित्रमा नेपाललाई चिनाउन जापानले निःशर्त निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेको बैठकमा सहभागी एकजना अधिकारीले बताए ।

बैठकमा भूकम्पपछिको पुनःनिर्माण, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार, प्रविधि हस्तान्तरण, गरीबी निवारण, जलवायु परिवर्तन, सूचना प्रविधि, पर्यटन, विपद् व्यवस्थापन लगायत विषयमा छलफल भएको थियो ।
रासस

Comment here

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS