कुन्छाल-कुलेखानी सडक बिस्तार हुने

(रामजी बलामी)

मकवानपुरको थाहा नगरपालिकास्थित कुन्छाल-कुलेखानी सडक बिस्तार गरिने भएको छ। कुलेखानी परियोजनाका लागि २०३२ सालमा बनाइएको यो सडक ४३ बर्षपछि विस्तार गरिन लागेको हो ।

बाटो विस्तार गरी ३० मिटरको बनाउने प्रारम्भिक योजना भएता पनि तत्कालका लागि ७ मिटर पिच सडक निर्माण गर्ने लक्ष्य अनुरुप योजना तय भएको वडा नम्वर ६ का वडाध्यक्ष शशिधर सुवेदीले जानकारी दिए । वडाध्यक्ष सुवेदीले बीचमा ७ मिटरको पिच सडक बनाउने र दायाँ बाया एक एक मिटरको नाली बनाउने योजना बनिरहेको बताए । उनले भने, –“तत्काललाई ७ मिटरको पिच सडक बनाउने लक्ष्य छ त्यसमा दुबैतिर नाली हुनेछन् ।”

सडक विस्तारका लागि अहिले नक्सांकनको काम भईरहेको छ । सडक विस्तारपछि यो बाटो करिव १५ मिटरको हुने भएको छ । यस अनुसार अब बढीमा दायाँबाँया गरी ७ मिटर बाटो विस्तार हुनेछ । यो बाटोलाई १५ मिटरको बनाउने भनेर लामो समयदेखि चर्चा चले पनि योजना कार्यान्वयन हुन सकेको थिएन । त्यसकारण अधिकांश ठाउँमा सडक छेउमै घर टहरा बनाउने क्रम शुरु भएको थियो ।

स्थानीय रुष्ट 

बाटो विस्तार योजनासँग स्थानीय भने रुष्ट छन् । उनीहरुले अहिले भएको बाटोलाई पिच गरेर मात्रै  नयाँ बाटो विस्तार गर्न सुझव दिईरहेका छन् । यद्यपि बाटो विस्तारका क्रममा नियमानुसार मुआब्जा पाउनुपर्ने पनि उनीहरुको माग छ । उनीहरुले विगतमा पुरानो बाटोका लागि मात्रै मुआब्जा दिएको र नयाँ नक्सांकन गरी विस्तार गर्न लागिएको बाटोका लागि मुआब्जा दिनुपर्ने बताएका छन् ।

बाटो विस्तारका क्रममा तत्कालका लागि घरहरु नभत्काइए पनि टहराहरु भने भत्काउने सुवेदीले बताए । सुवेदीले मुआब्जा र क्षतिपूर्तिको बारेमा कुनै तयारी नभएको जानकारी दिए ।

यो बर्ष पनि पिच नहुने

यो बाटोका लागि यसपटक केन्द्रिय सरकारले १० करोड रुपैंया र प्रदेश सरकारले ३ करोड रुपैंया बजेट छुट्याएको थियो । बजेट आएको खबरले खुशी भएका यहाका स्थानीय यस बर्ष पनि निराशा हुने भएका छन् ।  बाटो पिच गर्नका लागि अझैसम्म बोलपत्र समेत आव्हान गरिएको छैन ।

विगतमा पटक पटक गरी कुन्छालदेखि सरस्वती बजारसम्मको सडक पिच गरिएको थियो।  पिच गरिएका सडकहरु पनि अहिले भत्किसकेको छ । त्यो भन्दा माथिको सडकहरु पिच गर्नै बाँकी छ । पिच हुन बाँकी सडक लिलाखेल र पापुङ गाउँमा पर्छ । त्यहाँका स्थानीयले आफुहरु माथि पटक पटक धोका भएको भन्दै आक्रोस पोख्दै आएका थिए । यस बर्ष पनि कुन्छालबाटै सडक पिच गर्ने सुरसार भईरहेकाले यसपटक पनि आफुहरु मारमा पर्ने उनीहरुको अड्कल छ । त्यसकारण उनीहरुले यसपटक ढोकाचाबाट सडक पिच गर्न माग गरिरहेका छन । यद्यपि वडाध्यक्ष सुवेदीले भने यसपटक लिलाखेलसम्मको सडक पिच हुन सक्ने दावी गरेका छन् ।

ऐतिहासिक मार्ग

टिष्टुङ पुरानो बस्ती र पुरानो उपत्यका मात्रै नभएर पुरानो मार्ग पनि हो । यहाँ भएका शिलालेखहरुमा उल्लेखित कुराहरुबाट यो पुरानो मार्ग भएको स्पष्ट हुन्छ ।

यो राजधानी काठमाडौंलाई तराई जोड्ने ऐतिहासिक बाटो हो । पछिल्लो समय थानकोट–चित्लाङ–भिमफेदी बाटोलाई पुरानो बाटोका रुपमा लिने गरिए पनि यो भन्दा पनि पुरानो मार्ग हो चित्लाङ–टिष्टुङ–भटुवालको बाटो । जुन यही क्षेत्रमा पर्छ । त्यसबेला भारतबाट काठमाडौं जाने र काठमाडौंबाट भारत जानेहरुले समेत यही बाटो प्रयोग गर्थे ।

गोरखाका राजा पृथ्वी नारायण शाहले किर्तिपुर जित्नका लागि टिष्टुङ, पालुङ र चित्लाङलाई जितेर अघि बढेको पनि इतिहासमा पढ्न पाईन्छ । पृथ्वी नारायण शाहले चन्द्रागिरीमा पुगेर काठमाडौ, ललितपुर र भक्तपुर जित्ने मनशाय राखेको कुरा पनि इतिहासमा पढ्न पाईन्छ । त्यति मात्रै होईन पृथ्वी नारायण शाहले भक्तपुरमा विजय हासिल गरेपछि चन्द्रागिरी हुँदै चिसापानीबाट भारत गएको पनि इतिहासमा उल्लेख छ । त्यसपछि जंगबहादुर राणाले युरोप यात्रा गर्नका लागि समेत यही बाटो प्रयोग गरेको पढ्न पाईन्छ ।

बि.सं. २०१३ सालमा त्रिभुवन राजपथ खन्न शुरु भएपछि टिष्टुङको भाग्य उदय भएको हो । कुन्छाल कुलेखानी सडक बनेको २० बर्षपछि सरस्वती बजारदेखि बगरसम्म सडक बनेको थियो । टिष्टुङकै पहिलो सडकका रुपमा चिनिने यो सडक २ किमी लम्बाईको छ । थाहा नगरपालिकाले यो सडकलाई बज्रवाराहीको मेरुदण्डका रुपमा घोषणा गर्दै बार्षिक ३५ लाख रुपैंया दिने घोषणा पनि गरेको छ ।

वडा कार्यालयले अब बन्ने बाटोहरु न्यूनतम ६ मिटरको बनाउने योजना तय गरेको छ । यसका साथै कसैले घर बनाउँदा बाटोको बीचबाट ५ मिटर छोड्नुपर्ने ब्यवस्था पनि लागू गरिएको छ । साथै यस वडामा खोलाको किनारबाट बाटो बनाउने अवधारणा पनि ल्याएको छ । यसका लागि पहिलो पटक नन्दीकेश्वर–बगर सडकको प्रारम्भिक योजना तय भएको छ ।

नगरपालिकाको स्थलगत सर्वेक्षण २०७४ अनुसार यो वडामा २५ किमी ग्राभेल सडक छन् भने २० किमी कच्ची सडक छन् ।