हिमाली भेग, चिसो हुन्छ बाह्रै महिना । तैपनि आफ्नो काममा कति पनि चिसोपनको महसुस गर्दैनन् उनीहरु । बरु कसरी कामलाई भरपर्दो बनाउने भन्नेमै चिन्तित् देखिन्छन् । "/>

गन्तब्य: गत्लाङ (फोटोफिचरसहित)

गन्तब्य: गत्लाङ (फोटोफिचरसहित)


हिमाली भेग, चिसो हुन्छ बाह्रै महिना । तैपनि आफ्नो काममा कति पनि चिसोपनको महसुस गर्दैनन् उनीहरु । बरु कसरी कामलाई भरपर्दो बनाउने भन्नेमै चिन्तित् देखिन्छन् । कुनै न कुनै ठाउँ विशेषलाई चिनाउने एउटा–एउटा विषय हुन्छन् नै । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा रहेको अन्तिम सिमाना गत्लाङ्को पनि आफ्नो छुट्टै विशेषता छ ।

गाउँका अधिकांस वासिन्दाहरुले घरमा भोटेकुकुर पालेका छन् । बिहान कुकुरको भुकाईसँगै उठेपछि उनीहरुको दैनिकी शुरु हुन्छ, प्रत्येक दिन । जिल्ला सदरमुकाम धुन्चेबाट करिव ५० किमि टाढा रहेको यो गाउँ साविकको सिङ्गो गाविसको एउटै मात्र गाउँ हो ।

यहाँ करिव २ हजार जनसंख्या र तीन सय घरधुरी छ । समुन्द्री सतहबाट करिव ४ हजार मिटर उचाईको हिमाली भेग भएकाले यहाँका वासिन्दाहरुले चौरी र भेडा तथा च्याङग्रा पालेका छन् । दुध र रौं (भुवा) का लागि चौरी र मासुका लागि पालिएका भेडाच्याङग्राहरुको हेरचाह गर्दैमा दिन बित्छ, अधिकांसको । आफूले पालेका यीनै जनावरहरुको रौंबाट राडि, पाखि बनाउन खप्पिस छन् उनीहरु । यति मात्र होइन, जाडोमा लगाउनकालागि माथिदेखि तलसम्म ढाक्ने कपडा (बख्खु) पनि आफैंले बनाउने गर्छन् । आफ्नै गाउँको उत्पादन भएपनि यस्ता कपडाहरुको विक्रि गर्दैनन् । आफैंले लगाउँछन् अनि त्यहाँ पूगेका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई उपहारका रुपमा पनि दिएर पठाउँछन् ।

प्रायः सबैजसो तामाङ्ग समुदायको वसोवास रहेको यहाँको मुख्य आर्कषण हिमाली दृष्यहरुको अवलोकन, जडिवुटी संकलन तथा पहाडको माथी रहेको पार्वती कुण्ड नै रहेको गत्लाङका यूवा दुर्गा बहादुर तामाङले बताए । यसका अतिरिक्त राणाकालिन प्राचिन दरवार, छेवैमा रहेको तातोपानी कुण्ड र रसुवागढी पनि प्रसिद्ध छन् । नजिकै रहेको चिलिमे खोलाबाट चिलिमे जलविद्युत आयोजना संचालन गरिएको भएपनि आर्थिक विपन्नताका कारण गत्लाङ र गोल्जुङका एक तिहाई जनसंख्या विद्युत सुविधा लिनबाट अझै पनि बञ्चित रहेको गोल्जुङ बाहुन डाँडाका काजीमान लामाको गुनासो छ । उनीहरुले विद्युत सुविधा लिन पाउन भनेर अहिलेसम्म कसैले पनि पहल गरेका रहेनछन् । पटक–पटक आयोजनाले सहयोग गर्ने भने पनि अहिलेसम्म विजुली बलेको हेर्न पर रहेको स्याफ्रुवेसितिर नियाल्नुपर्ने बाध्यतालाई दर्शाउँदै काजीमानले भने–‘सरकार र स्थानिय प्रशासन पनि धनी वर्गका लागि मात्र रहेछ ।’

चेतनाको अभाव नै होला यस गाउँमा रहेको नेपाल राष्ट्रिय निमाविमा गाउँका करिव चार सय बालबालिकाहरु भर्ना भए पनि नियमित पढ्न जानेहरुको संख्या २ सयको हाराहारीमा मात्र रहेको विद्यालयले जनाएको छ । बाँकि बालबालिकाहरु दाउरा खोज्न र गाईवस्तुहरु चराउन जंगल जाने गरेका छन् । उनीहरु र अभिभावकहरुलाई जनचेतना जगााउन सके सबै बालबालिकाहरुलाई नियमितरुपमा विद्यालय पठाउन सकिने भएपनि विविध कारणले गर्दा यसो गर्न नसकिएको शिक्षक विष्णु पौडेलले बताए ।

गाउँमा पुराना कला र संस्कृती जोगाउन यहाँका युवाहरु जागरुक भएका छन् । जसका लागि उनीहरुले गाउँमै पाल्दोर सांस्कृतिक समुह नामको संगठन खोलेका छन् । यसमा गाउँका पुराना संस्कृतिहरु जोगाउने खालका कार्यक्रमहरु संचालन गर्ने गरिएको सदस्य पासाङ्ग लामाले जानकारी दिए । प्रायःजसो त्यहाँ पुगेका पर्यटकहरुलाई लक्षित गर्दै गरिने यस संगठनका कार्यक्रमहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको पनि लामा बताउँछन् । गाउँसम्म जानका लागि आजभन्दा ६० वर्ष पहिले मोटरबाटो खनिएको थियो । नजिकै रहेको गणेश हिमालबाट शिशा र फलाम खानी संचालन गर्न भारत सरकारले सहयोग गरि खनिएको यो सडक अहिले खासै मर्मत गर्न नसकिएकाले संचालनमा कठिनाई भएको छ । यस प्रति स्थानिय प्रशासन मौन बसिदिंदा गाउँलेहरुलाई धेरै नै असजिलो भएको छ ।

पर्यटकहरुलाई आफ्ना घरका सदस्य झैं ठान्ने यहाँका वासिन्दाहरु पछिल्ला दिनहरुमा हिमालमा हिउँ कम पर्ने गरेपछि पर्यटकको संख्या गाउँमा घटेको प्रति चिन्तित् देखिएका छन् । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ कम परेकोमा अनभिज्ञ रहेका उनीहरु आफ्नो ठाउँमा हिउँ धेरै नै परोस् र पर्यटकहरुको उपस्थिती पनि बाक्लै होस् भन्ने कामना गरिरहेका छन् । तर अहिले उनीहरुले सोचेको जस्तो अवस्था नआएको धेरैको भनाई छ ।

गाउँ भन्दा माथी पार्वतीकुण्ड रहेको छ । डाँडाको उच्च भागमा पनि बाह्रै महिना एउटै गतिमा पानीको बहावसहितको मुहान रहेको यो कुण्ड चिलिमे खोलाको मुख्य स्रोत हो । यहाँ पुरै कुण्ड भरिने गरि हिमाली जडिवुटी बोझो उम्रिएको छ । यसलाई सदुपयोग गर्न सके लाखौं रुपयाँ गाउँमा भित्रन सक्ने भए पनि बोझोलाई सदुपयोग गरिएको छैन । यहाँको जडिवुटी झिक्यो भने गाउँमा अनिष्ट हुने विश्वासले गर्दा त्यतिकै छोड्ने गरिएको गाउँलेहरु बताउँछन् ।

पुराना पानीघट्टहरु अन्यत्र हराईसके तर यहाँ अहिले सम्म छदै छन् । गाउँलेहरुले यसलाई भने सदुपयोग गर्दै अन्न कुटानी–पिसानी गर्दै आईरहेका छन् । केहि व्यक्तिहरुले यसलाई व्यवसायकै रुपमा संचालन गरिरहेका छन् । यहाँका आर्कषक घरहरु, प्राकृतिक सम्पदाहरु र छुट्टै प्रकारको संस्कृति भएकाले रसुवा जिल्लामा रहेका साविकका १८ गाविस मध्ये गत्लाङ महत्वपूर्ण चिनारी र पर्यटकिय गन्तव्यको रुपमा रहेको स्थानियवासिहरुले बताएका छन् ।

[email protected]

Logo