नारायणीले निलेको मेरो संसार

नारायणीले निलेको मेरो संसार


‘जिन्दगी भगवानको अनुपम उपाहार हो ।’ मैले बुझ्ने भएदेखि नै अनुभव गरेको कुरा हो यो । खुसीसाथ्  जिन्दगी व्यतित गर्नुपर्छ । आफुलाई जुन कुरामा खुशीको अनुभव हुन्छ त्यही गर्नुपर्छ । हो, मैले पनि त्यही गरें । मैले प्रेम गरें, अनि मैले प्रेमबिबाह गरें । अन्तरजातीय प्रेम बिबाह एउटा बिद्रोह जस्तै हो हाम्रो समाजमा । हो, मैले आफ्नो खुशीकोलागि ‘बगावत’ गरें ।

समाज परिवर्तनको संघारमा थियो त्यसैले होला मेरो बिद्रोहले उग्ररुप लिएन । केही समय घर र माइतीहरुको मन दुख्यो तर मेरो भाग्य बलियो थियो र मैले रोजेको मेरो प्रेम सच्चा थियो त्यसैले हामी  स्वीकारिने समय लामो भएन । भगवानले अनुपम उपहारको रुपमा छोरा र छोरी दिएर मेरो जिन्दगीलाई अझै बिशेष र परिपक्व बनाइदिनु भएको थियो । ‘सुख के हो ?’ भनेर कसैले सोध्यो भने ‘मेरो जिन्दगि हो’ भन्दिउ जस्तो लाग्ने । जिन्दगीमा सबैथोक कसैलाई पुगेको हुदैन तर मैले जे प्राप्त गरेकी थिएँ त्यो भन्दा बढी कुराको चाह मलाई कहिल्यै भएन ।

तर जिन्दगी सधै एकैनासको नहुने रहेछ । मान्छेको खुशीमा दैबको आँखा लाग्दो रहेछ । सुखी हुँदा र खुशी प्राप्त हुँदा भगवानका कृपाले पाएँ भनेर भगवानप्रति नतमस्तक हुने गरेकी म आज आफ्नो संसार उजाडिदा कसलाई दोष दिउं ? दैबले देखि सहेन मेरो खुसी । जुन भगवानले मलाई संसारका सबै खुशी प्रदान गर्यो उही भगवानले नारायणी नदीको रुपमा मेरो खुशी खोस्ने काल पठायो र मेरो संसार उजाड बनायो ।

अरुको भन्दा फरक ब्यबसाय थियो हाम्रो ।  राम्रोसंग चलेको थियो ।  स्थानीय ठाउमाभन्दा बाहिर ब्यबसाय राम्रो हुन्छ भनेर उहाले धारानमा काम सुरु गर्नुभएको थियो ।  हामी अलग्गिएर बसेकै थिएनौं कहिल्यै पनि ।  यो १-२ महिनाको टाढा टाढाको बसाईले पिरोलिरहेको थियो मलाई । वहाँ पनि भोक भोकै हुनुहुन्थ्यो, त्यो मलाइ थाहा छ । अब छिट्टै तिमीहरु धरान आउनुपर्छ – योजना बनाईरहनु भएको थियो उहाँले ।

मलाई आफु टाढा हुनु परेको भन्दापनि उहाको दैनिकी र स्वास्थ्यको धेरै चिन्ता थियो । समयमा खानुपर्छ भन्ने याद नै नगर्ने । ‘पहिला स्वास्थ्य अनि मात्र काम’ भनेर कति पटक सम्झाएँ तर अहँ उहाले खानपानको कहिल्यै वास्ता गर्न सक्नुभएन । तर अब त आफै जाँदै थिएँ ख्याल गरिहाल्छु कहाँ दिउला र त्यसरी घोटिएर काम गर्नलाई – योजना बनिरहेका थिए मन भित्रभित्रै ।

चाडबाड मनाउन र हामीलाई पनि उतै लैजान भन्दै उहाँ घर आउनुभएको थियो । एक बर्ष अगाडि बन्द गरिसकेका हाम्रा पसलहरू कानुनी रूपमा पनि बन्द गर्न बाँकी थिए । त्यसैले उहा गोरुसिंगेबाट सिधै कृष्णनगर जानु भएछ अनि काम पुरा गरेर बच्चाहरू, आफ्नो लागि र आमालाई केहि कपडा किनेँ भन्नु भयो फोनमा । अनि मैले जिस्किदै मलाई के छ त भनेँ ? तिमीलाई त सरप्राइज छ भन्नुभयो ।

यो पटकको बैंकक घुमाउछु नानी–बाबाले ठट्टा गरेको होला भन्ने सोचें तर ब्यागबाट टिकट निकालेर देखाउनुभयो । अहिले यता थोरै मात्र सपिंग गर, बाकि उतै गरौला बजेट छुट्याएको छु । मेरो खुशीको लागि जे पनि गर्न तयार उहाको यहि बानीले मलाई सधैं वहाको समिपमा बाधिरह्यो । मैले रहर मात्र देखाउँनुपर्छ मेरो रहरलाई कसरी पुरा गराउने भन्ने हुटहुटी वउहालाई लागिहाल्थ्यो । म खुशी थिएँ, अब चाडबाड सकिएपछि बैंककको फन्कोलाई अविष्मरणीय बनाउनुपर्छ । हामी दुबै जना कार्तिक २३ गते भ्रमणकेा लागि थाइल्यान्ड जाने योजना तय भयो ।

थाइल्याण्ड भ्रमणको तारम्य मेरा देवर बाबुले मिलाईदिनु भएको रहेछ ।  यो भन्दा ठूलो ‘सरप्राइज’ मेरो लागि केहि थिएन । धरानबाट आउँदा पनि थाइल्यान्ड जानको लागि भनेर उहाँ र मलाइ एउटै रङका कपडा ल्याउनु भएकेा थियेा ।

२०७४ साल कार्तिक २ गते ससुरा बाबाको श्राद्दको तिथि, देवघाटमा पिण्डदान गर्ने भनेर बिहानै उहाँहरु चितवन लाग्नुभएको थियो । छोरो, उहाँ र देवर अर्थात वहाको भाइ एउटा गाडिमा र परिवारका अरू सदस्यहरु अर्को गाडिमा बसेर देवघाटतिर लाग्नु भएछ । बुटवल भएका बुटवलबाट र काठमाण्डैा भएका काठमाण्डौबाट गरि सबै आठ दाजुभाइ देवघाटमा जम्मा हुनुभएको थियो । सासु आमा र मेरी देउरानी पनि देवघाट गएछन । मेरा देवर देउरानी नवबिबाहिता थिए ।

कार्तिक दुई गते बिहान ससुरा बाबाको श्राद्दको तिथि भएकोले म पनि बुहारीले गर्नुपर्ने नित्यकर्ममा ब्यस्त थिएँ । यहाँ हामी श्राद्द गर्दैछौं, अब तिमी खाना खाउ भनेर श्रीमानले म्यासेज पठाउनु भयो । प्राय फोन नै गर्नुहुन्थ्यो वहाँ किन हेाला आज फोन नगरेर म्यासेज गरेको भनेर म अचम्म परें । किन म्यासेज बाबा कल गर्नु न मैले तत्कालै फोन गरेँ। उहाँले हैन तिमि कता छेउ भनेर म्यासेज गरेकेा भन्नु भयो । खाना खायौ भन्नुभयो । मैले बनाएकै छैन् ।  म त चिया खाँदैछु भने ।

अनि उहाले खाना बनाएर छिटो खाउ भन्नुभयो र फोन राख्नु भयो । कोठामा गएँ, खाना बनाएर खाँए । खाना खाइसकेपछि उहाँले फोन गर्नुभयो फेरि खाना खायौ भनेर सोध्नुभयो । आफु जस्तै सोच्नुहुन्छ उहाले । आफु खानाको ध्यान दिनुहुन्न, मलाइ खा कि खा गर्नुहुन्छ ।  ‘मैले छोरा कता छ ?’ भनेर सोधें । पानीतिर जाला ख्याल गर्नु है भनेर सुझाएं ।  उहाले छोराको चिन्ता नगर भन्नुभयो । देवघाटमा साह्रै गर्मी छ नानी मैले फोन राखें भन्दै फोन काट्नुभयो ।

खोइ केही ‘अनहोनी’ हुन लागेको पुर्व सुचना थियो अथवा मेरै स्वास्थ्यमा कुनै समस्या थियो । यस्तो त कहिल्यै भएको थिएन । मलाइ एक प्रकारको चिडचिडाहट जस्तो भयो । ब्लडप्रेसर घटे जस्तो रिंगटा लागे जस्तो भयो र छाती चरक्क गर्यो । अस्पताल जाउँ कि भन्ने मनमा लाग्यो तर एकैछिन आराम गर्छु भनेर बिस्तारामा पल्टिएँ ।

आफैले लगाएका कपडा, गरगहना भारी भएको महसुस भयो । आफुलाई के भएको ठम्याउन नसक्दै म निदाएँ या बेहोस भएँ मलई अहिलेसम्म यकिन भएको छैन । केहि समयपछि व्युझिएर मोवाइल हेर्दा देउरानीहरूकेा आठ वटा मिसकल आएको रहेछ । अनि मैले देउरानिलाई फेान गरेँ । बुटवल जानु र्ने भयो दिदि अपर्झट घरबाट खवर गर्नु भएको भनेर देवारानीले सुनाईन ।

म माइत जान तयार थिएँ, मैले सुनाएँ  । सबै जना भएर आउनु भन्नु भएको छ घरबाट भनेर देवारानिले भनिन । त्यसको केहि बेरमै जेठाजु दाइको फोन आयो । फोन उठाएर दाइलाइ दर्शन गरें । दाजुले आशिर्वाद भन्नुभयो । हठात् दाजुले पनि तुरुन्तै बुटवल आउ यहाँ सानो एक्सिडेन्ट भयो तर तिमि त्यस्तो आत्तिन पर्दैन भन्नुभयो ।

त्यति भनेपछि पक्कै पनि छोरालाई केहि भयो भन्ने सोचे मैले । आत्तिएको मन झन झन आत्तियो । छोरासंग बोल्न मन लाग्यो बोल्न त के भनु र उसको आवाज सुन्न मन भयो । अनि बाबुलाई फोन दिनुन दाजु भनें अनि उहाँले बुटवल आउ अनि कुरा गरौंला भन्नुभयो र फोन राख्नु भयो । त्यसपछि अर्को देवर बाबुले फोन गर्नु भयो र भाउजु बुटवल आउनुस तुरुन्तै भन्नु भयो । त्यसरी नै फोन राख्नुभयो  ।

यति सुनेपछि मेरो आधा होस् उडिसकेको थियो  । अरूले नभने पनि नन्दले त भन्नुहुन्छ कि के भएको भनेर नन्दलाई पनि फोन गरेँ । फोन उठाएर नन्द पनि रूनु भयो । मलाइ आकाश खसेर च्याँपेजस्तेा भयो  । होस् सबै उड्यो अझैसम्म के भएको हो भन्ने यकिन भएन तर ममाथि केहि न केहि वज्रपात परेको आंकलन मैले गरें । संसार भुनभुनी घुमेजस्तो भयो । छोराको बाबालाई केहि भयो भन्नेतिर मेरो सोच गएन । हो न हो छोरालाइ नै केहि भयो भन्ने एकोहोरो शंकाले मलाई अर्धचेत बनायो ।

मोटरसाइकल पल्ट्यो कि ? पानीमा पौडी खेल्दा पानी निल्यो र आत्तियो कि ? केहि बाहिरको खानाले फुड पोइजन पो भयो कि ! कसैलाई पनि केहि नहोस है भगवान भन्दै प्रार्थना गरिरहें । मैासम एकाएक धमिलिएको महसुस भयेा । मैले श्रीमानलाई फोन लगाएँ तर उठेन । म्यासेज पठाए म्यासेज रिप्लाइ भएन । माइति घरबाट देउरानीहरू पनि आए । त्यसपछि हतपत गर्दै हामी ट्याक्सिमा बुटवलतर्फ लाग्यौं । कसैलाइ केहि नहेास है भगवान भन्दै प्राथना गर्दै अर्धचेतमा बुटवल पुगियो । आमाको मन झन् पापी हुने रहेछ, जसलाई धेरै माया गरिन्छ उसैलाई केहि भयो कि भनेर सबैभन्दा पहिला शंका गरिने रहेछ ।

बेलबासमा भएकेा घरनिर पुग्दा घरदेखि वर चोकसम्म मान्छेको लाइन थियो । मेरो होस् हवास झन पछि झन उड्दै गएको थियो । आफुले आफैलाई सम्हाल्न सकिन । त्यहाँ पुगेपछि छोरो मम्मी मम्मी भन्दै रूदै मेरो काखमा आयो  ।

छोरालाई सकुशल देखेपछि म झस्किएँ कतै देवरलाई केहि भयो कि भन्ने कुरा झल्यास्स मनमा आयो । त्यतिन्जेलसम्म पनि मेरो सिउदो यति सजिलै उजाडीईसकेको होला भन्ने कल्पनासम्म गरिन । म हतास हुँदा मलाई अफ्ट्यारो पर्दा सबैभन्दा पहिले हाजिर हुने देवर अहिलेसम्म आइनपुग्दा पक्कै देवरलाई नै केहि भयो भन्ने शंकाले मनमा डेरा जमायो ।

न छोराको बाबा नै मेरो नजिक आउनुभयो न देवर नै अनि बल्ल उहाँलाइ नै केहि भएको पो रहेछ भन्ने लाग्यो । अहिलेसम्म पनि उहाले मलाइ चटक्कै छोडेर जानुभयो भन्ने कल्पना मेरो मनमा आएको थिएन तर छोराले रूदैँ सबै अँकलहरू जानुभएको थियेा बाबालाई बचाउनलाई तर बचाउन सक्नु भएन भन्यो । राज अँकल पनि हराउनु भएको छ । सबैले खोजिरहेका छन भन्यो । छाँगाबाट खसेजस्तै भएँ, मैले टेकेको धर्ति भासिए जस्तै भयो ।  आकाश नै ममाथि बजारिएर त्यसको भारले मलाइ थिचे जस्तो अनुभव भयो ।  कानबाट एकोहोरो आवाज आइरहेजस्तो भयो ।  म चेतना सुन्य हुँदै गएँ ।

अझै पनि कतै अफ्ठयारेामा फस्नु भएको छ होला भन्ने झिनो आशाले मलाई दुइ दिनसम्म बेहोस बनाउदै बिझाउदै गरिरह्यो तर दुर्भाग्य दुइ दिनपछि देवर बाबुको शव फेला पर्यो र ५ दिनपछि उहाँको शव भेटियो ।

म, मेरा बालबच्चा र हाम्रो परिवारलाई ठूलो बज्रपात पर्यो । दैवले कुन जन्मको बदला लियो त्यो थाहा भएन तर मेरो सर्वश्व गुम्यो । मेरो संसार अन्धकार भयो ।  मेरा खुसिहरुमा तुषारापात भयो ।  बाबु नानीको भविष्य अन्धकार सुरुंगभित्र छिरेजस्तो आफ्नो गन्तब्य हराएर म सहाराबिहिन हुन पुगें ।

शव भेटिएपछि उहाँलाई अस्पतालमा ल्याइयो र म उहालाई अन्तिम पटक हेर्न भनि गएँ । पानी खुवाइ दिएपछि खुट्टा ढोग्छु भनेर खुट्टा समाउँदा एउटा खुट्टाको पैताला मात्र भेटाएँ । देब्रे खुट्टाकेा पैतला खसिसकेकेा रहेछ । अनुहारभरि अबिर लगाइदिएका थिए । मायाले मलाइ स्पर्श गर्ने उहाँका हात छुन मन लागेर हात खोजें, हात पनि भेटाइन । एउटा हात पनि रहेनछ । कति निर्दयता =पुर्वक लागिस दैव ! हे भगवान कुन जुनीको सजाय दिईस र यसरि छिया छिया हुने गरी मृत्यु प्रदान गरिस ! म मुर्छा परें !

जे जे आइपरे पनि सहनैपर्ने रहेछ ।  मलाई परेको पिडा शब्दमा त कसरी उतार्न सकुँला र मैले । हरेक क्षण काँधमा काँध र साथ्मा साथ् मिलाएर सफलताका सिंढी चढ्दै गरेका संघर्षमा एक मिनेट नछुटेर सहयात्रा अनि सह संघर्ष गरेका दाजु भाइलाई आफ्ना दुई जना दाजुभाइ एकै पटक गुमाउँदा कति पिडा हुन्छ भन्ने कुरा देवर जेठाजुको आँशुमा देखिएको थियो । उहाँहरुको पिडा अन्तर्मनले बुझ्न सक्छु तर ब्यक्त गर्न सक्दिन मैले ।

आफुले जन्माएका सन्तान आफ्नै आँखा अगाडि नदिले बगाएर बेपत्ता भइ मृत भेटिदा एउटी आमालाई कति पिडा भएको होला । भाइटिका आउन दुइदिन मात्र बाकी हुदा फुलका माला बुन्ने तयारी गरेर पर्खी रहेकी बहिनिलाई त्यो सयपत्रीको माला आफ्नो दाजुको लासमाथि चढाउन पर्दा के बितेको होला त्यो बहिनीको मनमा । यिनै कुरा सम्झन्छु मर्माहत हुन्छु । घरि मुर्छा पर्छु घरि ब्युतिन्छु ।

आठ बर्षकि छोरी  र एघार बर्षकेा छेारालाई आफ्नो बाबु कहिल्यै नफर्कने गरि बिदा भएकेा सुन्दा कस्तेा असर गर्छ भन्ने कुरा कुन शव्दमा लेखुँ ? आफ्नै अगाडिसँगै काखमा बसेर गएको बुबालाई नारायणीले  बगाएर बेपत्ता पारेर आफु अनाथ भएको दृश्य देखेको छोराले मृत शरीर भेटिएपछि चितामा गइ दागबत्ति दिदा कति पिडा भएकेा छ भन्ने कुरा ब्यक्त गर्न कुनै शब्दले सक्ला जस्तो लाग्दैन ।

श्रीमानको मृत्यु भएको तेह्र दिनपछि निरस बेरंगी पहिरन लगाएर आफन्तसँग डाँको छोडेर रूदाँ नजिकै रहेको बालख छोराले मम्मी नरुनुस न भनेर आफै कहालिंदै मेरो काखमा अनुहार लुकाउदाको पिडा, मेरो छातीमा गाँठो परेर बसेको छ सासुको क्रन्दन, दाजुभाइको आर्तनाद र छोराछोरीको चित्कार बिचमा मेरा आँशुपरेलाका डिलमा ताल परेका छन् । भक्कानो घाँटी नजिक डल्लो परेको छ । मेरो बेहोसी र मेरो चेतनाको बिचमा बलेसी बनेर बग्छ आँशु र आर्तनाद बनेर बाहिर निस्कन्छ भक्कानो ।

मेरो छोरो बुझकी भैसकेको आभास भएको छ ।  मलाई ढाडस दिन्छ घरि घरि ।  ‘मम्मी विद्यादेवी भण्डारीको संसार पनि नारायणीले नै उजाडेको हो । अहिले उहाँ देशको राष्ट्रपति हुनुहुन्छ- अब हिम्मत गर्नुस मम्मी ।’ छोराले बेहोसीमा मलाई सम्झाई रहेछ अथवा उसले कतैबाट यो कुरा सिक्यो ? मैले गुमाएको श्रीमानको अंश उसको अनुहारमा झल्किएर आयो । आँसु पुछेर छोरालाइ सुम्सुम्याएँ । पिँडामा केहि मलहम लगाएको जस्तो महसुस भयेा ।बाबुको मोटरसाईकलमा बसेर स्कुल जान बानि परेका नानीबाबुहरु अरुका बाबाहरु स्कुलमा देख्दा निराश हुन्छन र घर आएर भक्कानिएर रुन्छन ।

जिन्दगीको सबैभन्दा महत्वपुर्ण संसार गुमाउनुको पीडाले विक्षिप्त भएकी म छोराछोरी बाबाको अभावमा तड्पिएको देख्दा झन् मर्माहत हुन्छु । बाबाले छोराछोरी फकाउन गरेका बाचाहरु अपुरा छन् । तिनै बाचाहरु सम्झिएर छोरी भक्कानिन्छिन । उनको भक्कानो फुटेको देखेर मलाइ हृदयघात होला जस्तो आभास हुन्छ । कसरि सामना गरौँ यो अवस्थालाई मैले । आज सम्पूर्ण रुपमा अचेतन छु म । कसरी बाँचिरहेकी छु भन्ने कुरा कुन शव्दमा लेखुँ ।

तर मलाई थाहा छ । म अब आफ्नो लागि भन्दा पनि छोराछोरीको लागि भए पनि बाच्नै पर्छ । उनीहरूलाई बुवाको कमि नहुने गरि मैले अभिभाबककेा भुमिका निर्वाह गर्नैपर्छ भन्ने पनि थाहा छ। आफन्त, इष्टमित्र र शुभचिन्तकहरूले पनि सम्हालीएर अगाडि बढन सुझाब र सल्लाह दिइरहेका छन । चोट र पिडा परेपछि सम्हालीन, कुरा बुझ्न गाह्रो हुदो रहेछ ।

खोइ किन हो सपनामा उहाँलाइ बारम्बार देखिरहन्छु । मलाइ कति तिमि नजिक आउन मन लागिरहन्छ तर तिमि खाली रोईरहन्छेउ त्यसैले म आउदिन भन्नुहुन्छ । म सपनामा झस्कन्छु । मेरो परिस्थिति फरक भएको छ अब । जीबनमा आफ्नो मान्छे गुमाएर बाँच्नुपर्दा सधै पलपल मरेर बाँचेको अभिनय मात्र गर्नु परिरहेको छ  ।

छोरालाई क्रिकेटर र छोरीलाई गायीका बनाउने दिबँगत देवर बाबुको चाहाना थियो । उहाँले पनि भाईको  चाहानामा समर्थन जनाउनुहुन्थ्यो । आफु पनि क्रिकेटर र व्यापारी बन्ने सपना थियेा देबरको । तर ति सपना सपनामै सिमित भए । अब उहाँको चाहाना अनुसार छोरालाई क्रिकेटर र छोरीलाई गायीका बनाउन मैले सक्छु कि सक्दिन, उहाको सपना पुरा गराउनकै लागि पनि मैले संघर्ष त गर्नेपर्ने भयो ।

छोराछोरीलाई बाबाको कमि महसुस हुन दिने छैन भन्ने प्रण मनमनै गरेकी छु । भगवान मलाई जसरी  लुट्यौ मेरो खुशी जसरी हरेर मलाइ अथाह पीडाको भुमरीमा सहाराबिहिन बनाएर छाड्यौ त्यसरी नै अब मलाई बाच्ने साहस पनि त पक्कै देलान नि । अरु केहि गर्न नसके पनि बाबुनानीहरुलाई अभिभाबकको  कमि नभएको महसुस गराउन सक्ने बनाइदेउ ।

मेरी श्रीमती  टाठी छ । मलाइ दु:ख हुदैन भन्दै गर्व गर्नुहुन्थ्यो । आफ्नी श्रीमती संचारकर्मी भएकोमा गर्व गर्ने उहाँले मैले पढेका समाचार, संचालन गरेका कार्यक्रमहरू सुनेर प्रतिकृया दिने र राम्रो भए प्रसंशा गर्ने र कमि कमजेारी भए सल्लाह सुझाब दिएर मार्गनिर्देश गर्नुहुन्थ्यो । अशल श्रीमान मात्र होइन उहा असल श्रोता पनि हुनुहुन्थ्यो मेरो । व्यवसाय गरे पनि समय निकालेर संचारक्षेत्रमा काम गर्नुपर्छ भन्दै मेरो इच्छा र चाहानमा हौसला दिएर संचारकर्मी र स्थानीयस्तरको समाचारवाचिकाको परिचय बनाउने काममा उहाँले दिएको साथ नै अबको मेरो बाच्ने आधार भएको छ ।

अब सन्तानको भविष्यलाई सुरक्षित गर्ने उनीहरुका इच्छालाई पुरा गर्ने जिम्मेवारीसँगै मेरो संचार क्षेत्रमा काम गर्ने इच्छालाइ पनि पुरा गर्नु छ । थाहा छैन समयले कति साथ दिन्छ । छ महिना पुरा भयो अहिलेसम्म हजार कोशिश गर्दा पनि बाहिर निस्कन सकि रहेकी छैन । २०६१ फागुन १८ गते हामी बिबाह बन्धनमा बाधिएका थियैाँ । बिबाह भएकेा १४ बर्ष पुग्दा नपुग्दै मैले उहाँलाई गुमाएकी छु । जुगौं जुग सँगै जिउने कसम खाए पनि दैबले हामीलाई धेरै समय सँगै जिउन दिएन ।

श्राद्द सकियो, लाख बत्ति बाल्ने काम पनि सकियो, अन्तिममा लाखबत्तिको खरानी सेलाउन दाजुभाईहरु नारायणी किनारमा उभिनु भएको रहेछ । अचानक मेरो श्रीमानले टेकेको ठाउँको बालुवा भासिएर वहाँ डुब्नु भएछ । धेरैबेर लगभग चार पांच मिनेट पानीभित्र हराएपछि वहांको एउटा हात देखिएछ र त्यहि हात पच्छ्याउदै देवर बाबु आफ्नो दाजुलाई बचाउन जानुभएछ । देवर बाबु पनि डुब्नु भएछ त्यसपछि लगातार चार जना अरु दाजुभाईहरु भाइहरुलाई बचाउन पानीमा पस्नुभएछ । प्रहरीले नजान सचेत गराउदा समेत दाइलाई बचाउन सकिन्छ कि भनेर आफ्नो प्राणको वास्ता नगरी नारायणीमा फाल हालेका मेरा चार जना देवर जेठाजुहरुलाई डुंगा चलाउने बोटेको समूह आएर उद्दार गरेछ । त्यतिन्जेल सम्म नारायणीले मेरो संसार उजाडीसकेको थियो । प्राणप्रिय श्रीमान र मेरो प्यारो देवरलाई धेरै पर पुर्याईसकेको रहेछ । यसरि २०७४ साल कार्तीक दुई गते मेरो सम्पूर्ण खुशी नारायणीले निल्यो ।

मैले कहिल्यै नसोचेको र मेरो कल्पनाभन्दा बाहिरको प्रलय बनेर आयो । जसले मेरो सिउदो मात्र उजाड पारेन । मेरा फुल जस्ता बाबु नानीको शिरबाट बाबुको छाया समेत खोसेर लग्यो । वृद्द आमाको सहारा चुँडेर लग्यो । मेरो सिउदो पखालेर मात्र उसलाई शान्ती मिलेन मेरो भाई जस्तै मेरो आफ्नै सन्तान सरहको मेरो देवरलाई समेत हरेर लग्यो ।

पीडामा सान्त्वना, सहयोग र सदभाब प्रस्तुत गर्ने सम्पुर्ण इष्टमित्र, आफन्त र शुभचिन्तकहरूका आशिर्वाद र निष्ठुरी भगवानका कृपाले अब मैले आफ्नो गुमेको मनोवल पुनः प्राप्त गर्न सक्नेछु भन्ने बिश्वाश मनमा पलाउन भर्खरै सुरु गरेको छ ।

Logo