अबको साताबाट प्रश्नोत्तर कार्यक्रम : सभामुख

काठमाडौं

सभामुख कृष्णबहादुर महराले आगामी साताबाट प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने बताए । ‘कार्यव्यवस्था परामर्श समितिमा हामीले सल्लाह गरेका छौँ । अर्को साताबाट प्रश्नोत्तर कार्यक्रम अघि बढाउने तयारी गरिरहेका छौँ,’ सभामुख महराले भने, ‘हामी प्रश्न संकलन गरिरहेका छौँ ।’

प्रधानमन्त्रीसँग कुनै पनि महिनाको पहिलो र तेस्रो साताको पहिलो बैठकमा सुरुको एक घन्टा प्रश्नोत्तर गर्ने व्यवस्था छ । त्यस्तै नियमावलीको परिच्छेद ८ अनुसार सांसदहरूले सोधेका लिखित वा मौखिक प्रश्नको जवाफ मन्त्रीले १० दिनभित्र लिखितको लिखित र मौखिक प्रश्नको मौखिक रूपमा दिनुपर्ने व्यवस्था छ ।

तर यो व्यवस्थासहित नियमावलीको दफा २१९ को प्रधानमन्त्री तथा मन्त्रीहरूले कुनै सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा सम्बोधन गर्दा सांसदहरूले प्रश्न सोध्न सक्ने भन्ने व्यवस्था कार्यान्वयन नभएकामा प्रमुख विपक्षी दलले यसअघि संसद् अवरुद्ध गरिसकेको छ । कार्यान्वयन नभए अझै सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी छ ।

नयाँ पत्रिकाबाट