बाढीपिडितलाई एक करोडको राहत सामग्री वितरण

बाढीपिडितलाई एक करोडको राहत सामग्री वितरण


तराईका बाढीपिडित परिवारलाई जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरिएको छ। अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको कतारको सामाजिक संस्था ‘कतार च्यारिटी’को सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले उक्त सामग्री वितरण गरेको हो।

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीको सहयोगमा आरडिसीले रौतहट, सर्लाही लगायतका बाढी पिडित परिवारलाई करिब करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको छ।

कतार च्यारिटी नेपालको सहयोगमा आरडिसीले रौतहट तथा सर्लाहीका बाढी पिडित परिवारहरुलाई अस्थायीबास बाट स्थायीतर्फ उन्मुख गर्ने उदेश्यले ६३८ परिवारलाई प्रति बन्डल एक किलो छाप्रावाल किलाका साथमा जस्तापाता वितरण गरेको छ। त्यस्तै बिद्यालय भर्नामा सहयोग तथा बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराउनका लागि दुई हजार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ।

त्यस्तै यमुनामाई उच्च माध्यमिक विद्यालय झुन्खुन्वामा अध्यनरत एक हजार छात्रछात्राहरु लगायत किसान आधारबुत राजपुरमा ३५० जना, मलंगवामा २२१ जना, इश्वरपुरमा १७८ जना, हरिपुरवामा १०१ जना, तथा जामिया मदिनतस्स्लाम मदर्शाका १५० बिद्यार्थीहरुलाई कपी, कलम, पेन्सील, स्कुल ब्यागसहितका करिब २४ लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री समेत प्रदान गरिएको छ।

रौतहट दुर्गाभगवती बडरुवा-५ का ७० परिवारलाई एक किलो छाप्रावाल किलाका साथमा प्रतिपरिवार एक बन्डल जस्तापाता समेत वितरण गरिएको छ। त्यस्तै यमुनामाई गाउँपालिकाका ७०, राजपुर नगरपालिका हजमिनिया गाउँका १८५ , परोहा नगरपालिकाका १२५ तथा गौर नगरपालिकाका १५० परिवारलाई समेत जस्तापाता वितरण गरिएको छ।

च्यारिटीका कन्ट्री डाइरेक्टर कन्ट्री डाइरेक्टर मौलाए अब्दुल अजिज अल अलावी, प्रदेश नम्बर २ का कृषि तथा भुमि सुधार मन्त्री योगेन्द्र यादब सहित जिल्लाका स्तरीय कार्यालय प्रमुखहरु तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्तिथीमा उक्त सामग्री वितरण गरिएको हो।

कतार च्यारिटी नेपालका कन्ट्री डाइरेक्टर अब्दुल अजिजले गरिब तथा जोखिममा परेका बाल बालिकाहरुलाई सहयोग गर्न कतार सरकार सधैं तयार रहेको बताए। ‘नेपालको बिकास निर्माण देखि लिएर शैक्षिक क्षेत्रमा सहयोग गर्न सधैं तयार छौं, यो सुरुवात मात्र हो, आगामी दिनमा जीविकोपार्जनलाई उकास्ने किसिममा कार्यक्रमहरु गर्छौं’ उनले भने ।

कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।

Logo