काठमाडौँ

सरकारले गरिब तथा निमुखा जनताको औषधोपचारका लागि दिँदै आएको सहयोग रकम चार महिनामै सकेको छ । "/>

गरिबलाई दिने उपचार कोषको पैसा चार महिनामै सकियो

गरिबलाई दिने उपचार कोषको पैसा चार महिनामै सकियो


काठमाडौँ

सरकारले गरिब तथा निमुखा जनताको औषधोपचारका लागि दिँदै आएको सहयोग रकम चार महिनामै सकेको छ । रकम अभावमा उपचार सहायता सेवा नै बन्द हुने तयारीमा पुगेको छ । सरकारले गम्भीर आठ प्रकारका रोग लागेका गरिबलाई ‘विपन्न नागरिक औषधि उपचार कोष’ मार्फत सहयोग दिँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषका लागि आउने पैसा औजार, उपकरण खरिदमा खर्च गर्दा सेवा बन्द हुने चरणमा पुगेको हो । मन्त्रालयले विपन्नका नाममा विगत देखि नै अपुग रकम, त्यो पनि उधारो सहमति गर्दै आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको गुनासो छ ।

चालू आर्थिक वर्षमा सरकारले विपन्न नागरिक औषधि उपचार सहायताका लागि १ अर्ब १८ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर १ अर्ब रुपैयाँ आर्थिक वर्षको सुरुका चार महिनामै सकिएको महाशाखाका उपजनस्वास्थ्य प्रशासक डा. रामराज पन्थीले बताए । अहिले कोष रित्तो भएकाले विपन्न नागरिकको स्वास्थोपचारमा सहयोग गर्न नसकेको उनको भनार्इ छ । गत वर्ष लागेको ४८ करोड रुपैयाँ ऋण पनि आर्थिक वर्षको चौमासिकमा तिर्नु परेपछि बढी खर्च भएको हो ।

नयाँ पत्रिकाबाट

Logo