Don't Missब्लगविचार

सम्बन्ध विच्छेदपछि हुने सामाजिक प्रहार

(दिपीका भुसाल)

सम्बन्धहरु जुट्छन र टुक्रन्छन । कुनै मृत्यु पर्यान्त टिक्छन । कुनै छोटो समयमा सकिन्छन् । सम्बन्ध टुक्रनुको मतलव त्यो सम्बन्धको सार फेरिनु हो । खासगरी एकपटक जोडिएको सम्बन्ध पुर्ण रुपमा टुक्रन सम्भव नै हुँदैन् ।

कुनै न कुनै यादहरुले ति सम्बन्धहरुलाई जिवित राखिरहेका हुन्छन् । फरक त्यत्ति हो कति प्रेमीले सम्बन्धहरु टुक्रीएपछि घृणाको आगो ओकल्छन । कतिले अन्तिम सम्मपनि मिठो याद बोकेर बस्ने प्रयास गर्छन ।

सम्मान रहेसम्म सम्बन्ध टुक्रीएपनि निमीट्यान्नै हुनेगरी नासिदैंन् । सम्मान सुन्य सम्बन्धहरुपनि आशाका त्यान्द्राहरुमा जेलिएर बाँचिरहेका हामीहरुले देखिरहन्छौं ।

खासगरी श्रीमान श्रीमतीको जस्तो बलियो सम्बन्ध पनि आखिर किन विच्छेदको संघारमा पुग्छ ? किन टुक्रन्छ ? पुर्विय मान्यता अनुसार त जुनी जुनी संगै हुनुपर्ने दुई आत्माहरु किन एकले अर्कोलाई अति घृणा गर्न पुग्छन ? त्यसका केही निश्चित कारण भने पक्कै हुन्छन ।

एकतिर स्त्री मन हुन्छ र अर्को तर्फ स्त्री देह । पुरुषको नजरमा यि दुबै कुरा कोमलताका प्रतिक हुन र कमजोरीका पनि । पुरुषहरु यि दुबै कुरासँग खेल्न रुचाउँछन् । पुरुषहरु भन्नाले समस्त पुरुषवर्ग भन्न खोजेको होईन तर जुन पुरुषले स्त्री कोमलताको महत्व बुझ्दैन उ स्त्री तन र मन माथी बढी नै लापरवाह हुदै जान्छ ।

अस्तित्व अवस्थिति मात्र होईन निजत्व पनि हो । नितान्त निजी विषयमा अती हस्तक्षेपले समेत दुर्घटना निम्त्याउछ । श्रीमती कसै संग बोल्दा किन बोलिस हाँस्दा किन हाँसिस भनेर रोक लगाउनु त पुरानो कुरा हो अहिले त सामाजिक संजालमा कसैले गरेको कमेन्टमा किन रियाक्ट गरिस भनेर समेत श्रीमान श्रीमतीबीच मन मुटाव हुने गरेको छ ।

जिउ ज्यानकै असुरक्षा हुन थालेपछि मात्र सम्बन्ध टुक्र्याउने चलन थियो पहिला । महिलाको आत्मसम्मानको कुनै मूल्य नै थिएन । सम्बन्ध पनि कसरी छुट्थे भने एकजनाको अत्याचार सहन नसकेकी महिला आफ्नो लोग्नेलाई छोडेर अर्को पुरुष संग भाग्नु पर्दथ्यो ।

त्यसपछि भने जिन्दगीका अन्य सम्पूर्ण ढोकाहरु बन्द प्राय हुन्थे । माईतीसँगको सम्बन्ध बिच्छेद हुन्थ्यो । आफन्तसँग मुख लुकाएर जीवन पर्यन्त चरित्रहीन भएको आरोप खेपेर बाच्नु पर्दथ्यो । केवल आत्मसम्मानको लागि मात्र नभई ज्यानकै सुरक्षाको लागि विकल्प खोज्दा पनि महिला माथि चरित्रहीन भएको ट्याग लाग्छ नै ।

पुरुषको हकमा भने उसलाई चरित्रहीन भएको आरोप लाग्दैन किनभने एकजना पुरुषले एउटी महिला मन नपरे अर्की श्रीमती भित्र्याउने पुरानै सामाजिक मान्यता समाजमा अझै विद्यमान छ । “मर्दकी बाह्र वटी” भन्ने मान्यतामा हाम्रो समाज अझै अडिग रहेको छ । कान्छी श्रीमती ल्याएपछि जेठीसँगको सामाजिक सम्बन्ध र दायित्व कायम रहेपनि भावनात्मक सम्बन्ध त्यहिँ त्यतिबेलै सकिन्थ्यो त्यो हाम्रो सामाजिक परिवेश थियो ।

महिलाहरु सबल र सक्षम हुदै जाँदा अनि महिला आफ्नै खुट्टामा उभिन सक्ने भईसक्दा समेत महिलाको सामाजिक प्रगतिमा पुरुषहरु एकरती रमाउन सकेनन, न आफ्नै श्रीमतीमाथि विश्वास नै गर्न सके । घर परिवारको सुख र सन्तानको उज्जल भविष्यको खोजीमा परदेसिएका कतिपय दिदीबहिनीहरु परदेश भएकै अवस्थामा सौता व्यहोर्न बाध्य पारिन्छन । आफैले कमाएको पैसाले आफूमाथि सौता हालिँदा एकजाना महिलालाई पर्ने मानसिक आघात यो समाजले बुझ्न सक्दै सक्दैन ।

श्रीमान श्रीमतीको सम्बन्ध बिच्छेद पछाडि छुटेका पात्रहरुलाई हेर्ने सामाजिक नजर बदलिन्छ । पुरुषको हकमा त्यसरी बदलिएको दृष्टिकोणले कति असर गर्छ थाहा भएन तर सम्बन्ध बिच्छेद गरेर एकल भएकी महिलाको जिन्दगीमा त्यस्ता बदलिएका दृष्टिकोण र त्यस्तो दृष्टि बोक्नेहरुबाट आउने प्रतिक्रियाहरु निकै भारी लाग्दछन र मनमा चोट पुर्याउने किसिमका लाग्दछन । नचाहँदा नचाहदै पनि सम्बन्ध टुक्रिएका महिला प्रति फरक या गलत सोच राख्ने मान्छेसँग बेला बखत जम्काभेट हुनु परिरहेको हुन्छ ।

मैले विश्वास गरेका र मैले अत्यन्तै सम्मान गरेका मेरा एकजना आफन्त थिए । उनलाई म भर अभरमा विस्वास गर्न सकीने नजिकको मान्छे सोच्थें । कार्यक्षेत्र फरक भएर पनि उनी अभिभावक जस्तै थिए मेरालागी । म यथेस्ट सम्मान गर्थें । एकदुई पटक भेट पनि भएको थियो । औपचारीक भेटमा मैले आफ्नो हैसियत अनुसार साना साना उपहार दिएर उनी संगको भावनात्मक नातालाई बलियो पार्ने प्रयास गरेकी थिएँ ।

सामाजिक संजालमा कहिलेकाही म्यासेज गर्थे । ढाडस दिन्थे । जिन्दगी यस्तै हो, आत्तिनु हुदैन एक न एक दिन राम्रो समय आउछ ईत्यादी कुरा गरेर उनले मलाई हौसलाहरु दिईरहन्थे । उनकी श्रीमती र छोरी संगपनि म निकै घुलमिल भईसकेकी थिएँ । परदेशमा अभिभावकको महत्व कति हुन्छ त्यो हामी सबैले बुझेकै कुरा हो । उनको व्यक्तित्वमा अभिभावकमा हुनुपर्ने गुण थियो त्यसैले उनि अन्य पुरुष भन्दा फरक व्यक्तित्व भएका मान्छे हुन् भन्ने कुरामा म विश्वस्त थिएँ ।

समय बित्दै जादा मेरो निजत्वमाथि विस्तारै उनको व्यवहार र कुराकानी हावी हुँदै जान थाल्यो । कुनै साथीले सामाजिक संजालमा मैले राखेको फोटोमा “राम्री” भनेर कमेन्ट गर्यो र मैले उसलाई धन्यवाद दिएँ भने म उ प्रति आकर्षित हुन थालेको बुझाई मेरा अभिभावकमा पर्दै गयो उनले मलाई त्यस्ता कुराहरु नोटिस गर्न थाले ।

मैले बुझ्न थालें मेरा अभिभावकको नजरमा म कमजोर महिला मात्र होइन म एकल भएको नाताले मलार्इ आएका कमेन्टहरुमा समेत फरक आशय रहेको बुझ्छन् उनीहरु । मैले राम्री भन्ने कमेन्टको धन्यबाद भन्ने जवाफ दिएँ भने त्यसमा मेरो सम्बन्ध जोडिएको देख्छन अभिभावकहरु । के सम्बन्ध विच्छेद नगरेको महिला भएको भए त्यसरी जो कसैले मेरा क्रियाकलापहरुमा जीवन नै जोडेर बाच्ने तौर तरिकानै जोडेर मुल्यांकन गर्न सक्थ्यो होला ? यो प्रश्न मेरो मनमा जरा गाडेर बस्ने गरेको छ ।

अर्को अनुभव अचम्मको छ । एकजना साथी जोडिन आईपुगे सामाजिक संजालमा । कुरा गर्दै गए । प्रवासी बसाई, एक्लोपन र ब्यस्तताले गाँजेको जिन्दगी, प्राय सबैको पिडा उस्तै नै हुन्छ । उनका कुरा चाखलाग्दा हुन्थे । कहिलेकाही म्यासेज गर्थे, फोन गर्थे अनि हामीबीच औपचारिक कुरा हुने गर्थे ।

भनिन्छ माइतीको कुकुर पनि प्यारो हुन्छ, त्यस्तै प्रवाशमा नेपाली भनेपछि आफ्नो देशवासीको नाताले सबैभन्दा भरोसाको मान्छे मानिन्छ । नेपालीले नेपालीलाई भरोसा नगर्न पर्ने खास कारण पनि त भेटिदैन । आम साथी जस्तै उनीपनि सामाजिक संजालका लाईक कमेन्टहरुमा म संग घुलमिल हुदै गए ।

एकदिन अचानक ‘तपाई त सिंगल हैछ है’ भनेर सोधे । मैले हो म सिंगल हुँ भनें । बाकी पारिवारिक अवस्था उनलाई थाह भईसकेछ । अनी “ओहो हाम्रो दोस्ती बल्ल जम्नेभयो” भनेर उनले मित्रताको आशय नै परिवर्तन गरिदिए । म अचम्म परेर सोधें के अहिले सम्म हाम्रो दोस्ती कमजोर थियो र ? उनले त्यसो होईन भन्दै आपसका आवश्यकताहरुका चर्चा गर्न थाले । मलाई अचानक त्यो मान्छेसँग घृणा र उ सँगको सम्बन्धप्रति वितृष्णा उब्जन थाल्यो ।

मैले उनलाई म सिंगल भएपनि तपाई त परिवार भएको मान्छे हो तपाईको त घरमा श्रीमती छन नी भनेर सम्झाए । त्यसपछि उनले दिएको जवाफले त्यो मान्छेसँगको सम्बन्ध मैले सदाको लागी त्यागीदिएँ । “यहाँ बसुन्जेल त म पनि सिंगल नै हुँ नी” उसको जवाफ यस्तो थियो ।

मैले सोचें घरमा श्रीमतीलाई पतिब्रता भएर बस्न दबाब दिने यो मान्छेले मेरो मर्यादाको ख्याल त गरेन गरेन आफ्नै श्रीमतीको समेत अपमान गर्यो तसर्थ त्यस्ता मान्छेसँग रहेको ‘हाई हेल्लो’ को सम्बन्धलाई किन निरन्तरता दिनु ? जसले आफ्नो सम्मान गर्दैन उसलाई मित्र किन मानिरहनु ? मैले सामाजिक सञ्जालमा जोडिएको उ संगको सम्बन्ध त्यहीं टुक्र्याइदिएं ।

तर मलाई थाह छ त्यसले दिएको जवाफले मलाई कहिलेकाही झकझक्याई रहनेछ । किने भने के म एकल नभएको भए त्यो व्यक्तिले त्यसरी मित्रताको आशयनै परिवर्तन गर्ने हिम्मत गर्थ्यो होला ? यो पनि मेरो मनमा डेरा जमाएर बसेको अर्को अनुत्तरित प्रश्न हो । अथवा सम्बन्धबिच्छेद भएका तमाम जिन्दगीहरुमा समय समयमा आई परिरहने तर देख्न नसकिने अध्यारो पाटो हो।

श्रीमान र श्रीमतीबीचका सम्बन्धहरु मात्र टुक्रीएका छैनन दुनियामा । विचार गरौं त साना साना असमझदारीहरुले गर्दा कति मिठा मिठा सम्बन्धहरुलाई तिलान्जली दिईरहेका हुन्छौं हामी । श्रीमान श्रीमती छुट्टिदाँ बाबु जस्तै ससुरासँगको सम्बन्धको अन्त्य भएको हुन्छ । आमा जस्तै सासुसँगको ममतासँग टाढिनु परेको हुन्छ ।

दाजुभाई जस्तै देवर जेठाजु अथवा साला जेठानसँग कहिल्यै मुखमै हेर्न नपर्ने जस्तो गरेर सम्बन्ध सक्याउनु परिरहेको हुन्छ । नन्द अमाजु देउरानी जेठानी भान्जा भान्जी लगायत पुस्तौं पुस्ता सम्मका नाताहरु चटक्कै छोडेर सम्बन्ध टुक्रा पार्नु सानो निर्णय होइन ।

तर यी तमाम नाता र सम्बन्धमाथि ‘जिन्दगी’ हुन्छ । सम्मान पुर्वक बाच्न पाउने आफ्नो जिन्दगीमाथि केवल आफ्नो अधिकार हुन्छ । जिन्दगी रहे जिम्मेवारी जतिपनि निभाउन सकिने रहेछ ।

न राम्रोसँग बाच्न पाईने न जिम्मेवारी निभाउन सक्ने भईने गरि कुनै सम्बन्धले जिन्दगीलाई दोवाटोमा उभ्याईदिन्छ भने आफ्नो अलग बाटो त रोज्नैपर्ने हुदोरहेछ चाहे त्यो बाटो अत्यन्तै कठिन किन नहोस अथवा एक्लै यात्रा गर्न पर्ने किन नहोस ।

Comment here