'खै कुन्नी नानी ! यी नेताहरुले के गर्न खोज्या हुन् । "/>

चार लघुकथा

चार लघुकथा


सुधिर कुमार सुमन: बिछोड

“आमा आमा हाम्रा बाउलाई किन समातेका !” सानी केटीले आमालाई सोधी ।

‘खै कुन्नी नानी ! यी नेताहरुले के गर्न खोज्या हुन् । दिनहुँ बिदेशमा जनशक्ति बेचेर नपुगेर तिम्रा बाबालाई पनि बिदेशीलाई नै बेच्नको लागि समातेका हुन रे । ‘आमाले दु:खी हुँदै भनिन् । ‘अनि आमा बाबा नै नभएपछि हाम्रो स्याहार सुसार चाहिँ कसले गर्छ त ! म पनि अब तरुनी भएँ । एउटा केटो खोजेर गैहाल्छु ! हजुर एक्लै कसरी बस्न सक्नु हुन्छ ?’ केटीले भबिष्य सम्झिदै आमालाई भनी । ‘के गर्छेस त नानी ! हामी दु:खीलाई संगै बस्न नलेखेको ।

कम्सेकम तिम्रा बाबासंगै मलाई पनि समातेर लगिदिएको भएपनि त संगै मर्ने संगै बाँच्ने हाम्रो कसम पूरा हुन्थ्यो । उता तिम्रा बाबा एक्लै कसरी बाँच्दा हुन नयाँ ठाउँ, नयाँ परिबेश । अझ तिम्रा बाबालाई त उता लगेर जेलमा कैदी झैँ राख्छन् होला ! यी नेताहरुले हाम्रो पीडा कहिल्यै नबुझ्ने भए । अरु देशमा त हाम्रा लागि कति कानुन बनेको छ, कति कडा छ । हाम्रो देशमा त यस्ता कानुन सिर्फ पानामा मात्र सिमित छन् ।’ आमाले आक्रोश पोखिन् ।

यता केटीको बाउ आफू थुनिएको ठाउँमा बसेर आफ्नी श्रीमती र बालबच्चा सम्झिरहेको थियो । कराइरहेको थियो । उता उसलाइ समातेर ल्याएको हाकिम आफ्नी श्रीमतीसंग फोनमा कुरा गर्दै थियो । ‘सुन्यौ प्यारी । धेरै दु:ख गरेर गैंडा समात्न सफल भयो हाम्रो टोली । तिम्रो अंगालोको खुब याद आइराछ ।’

मदन पौडेल : पढाईस्तर

एउटा ट्रेनिंगमा जाँदा दयाराम सरसँग मेरो परिचय भयो । उहाँ सरकारी

विद्यालयमा गणित पढाउनु हुन्थ्यो । म बोर्डिंग स्कुलमा म्याथ पढाउँथें । हाम्रो परिचय मित्रतामा बदलियो । ट्रेनिंगपछि पनि बेलाबेलामा म उहाँको घरमा समय निकालेर उहाँसँग मैले नजानेका प्रब्लमहरु सल्भ गर्न जान थालें । उहाँ यति सजिलैसँग तिनको समाधान गर्नुहुन्थ्यो, म देखेर हैरान हुन्थें । मेरा विद्यार्थीहरु एक्जाममा उच्च नम्वरका साथ पास हुन्थे तर उहाँका बिद्यार्थी बडो मुस्किलले उत्तिर्ण ! केही समयदेखि मलाई यही प्रश्नले सताउन थालेको थियो ।

म भन्दा सक्षम दयाराम सरले पढाएका विद्यार्थी किन कम मार्कका साथ पास हुन्छन् ? आज म सिक्न भन्दा पनि आफ्नो कौतुहलता मेटाउन दयाराम सरलाई भेट्दै थिएँ । एकछिनको भलाकुसारीपछि मैले सोधें, “किन सर तपाईंले म भन्दा धेरै राम्रो र सरल तरीकाले विद्यार्थीहरु लाई पढाउनु हुन्छ तैपनि फेरि कम अंक ल्याउछन् ? सरकारी स्कुलमा पढ्ने विद्यार्थी कमजोर नै हुन् त ?” दयाराम सर एकछिन गम्भीर हुनु भो,  “तपाईंलाई जस्तै मलाई पनि लागेको थियो । त्यसैले मैले मेरा विद्यार्थीहरुको धेरै नजिकबाट अध्ययन गरें । सरकारी स्कुलमा पढ्न आउने केटाकेटी घर गएर स्कूलमा पढाएको पढ्न पाउँदै पाउँदा रहेनछन् ।

सबैजसो मजदूरका छोराछोरी र अरुको घरमा काम गर्न बसेका साना बालबालिका मात्र रहेछन् । घर पुग्ने बित्तिकै कि त भाईबहिनीहरु हेर्नुपर्ने कि त दिनभरी जम्मा भएका भाँडाकुँडा माझ्नुपर्ने बाध्यता ।” “कामबाट फर्केका बाबुआमा कति त दिनभरीको कमाई बाटो मै सकेर लरबरिदैं आउने अनि घर छिर्न नपाई महाभारत शुरु ।

अनि कसरी पढाईमा ध्यान लगाउन सक्छन् विचराहरु ?” “तपाईंका स्कूलका विद्यार्थीको जस्तो घर पुग्ने बित्तिकै के के पढ्यौ ? र पढ्न बस भन्ने वातावरण मेरा स्कूलकाले पाउने हो भने तपाईंहरुको स्कुलका भन्दा धेरै नम्बर ल्याउने थिए बुझ्नु भो ?” दयाराम सरले स्पष्ट पार्नु भो । र थप्नु भो, “तपाईंका स्कूलमा पढ्ने हाम्रो आउन् त ग्यारेण्टी भनिदिन्छु हरेक विषयमा त्यहा ल्याएको भन्दा बढी अंक ल्याउछन् ।” 

राजेश खतिवडा: बोक्सी 

‘हेरिस्यो न यता, आज मलाई बोक्सीले सार्है नमिठो गरी टोकेछ !’ महिला अधिकारकर्मी रन्जनाले श्रीमानलाई तिघ्राको निलो डाम देखाउँदै सानो स्वरमा भनिन् । ‘हिङ् दलिदेऊ न, बोक्सीको काम पुगिहाल्छ नि !’ खाना खाएर अफिस जान लागेको श्रीमानले घाँटीको टाई मिलाउँदै भन्यो । ‘पल्लोघरमा कोठाभाडामा बस्ने बुढी बोक्सी जस्तै लाग्छ मलाई त !’ रन्जनाले आशंका व्यक्त गरिन् । ‘खै ! अनुहार त त्यस्तै त्यस्तै परेको छ !’ श्रीमान यसो भन्दै अफिस निस्किए ।

रन्जना पनि तिघ्रामा हिङ् दलेर खाना- साना खाइवरी अफिसतिर गइन् । ‘रमिते बजारमा एउटी महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाउँदै निर्घात कुटपिट गरिएछ ! रन्जनाजीको टिम तुरून्तै त्यहाँ जानुपर्यो ।’ अफिस पुगेपछि महिला अधिकारकर्मी संजाल समुहकी अध्यक्ष द्रोपतीदेवीले सुनाइन् । रन्जनाको टिम तुरून्तै रमिते बजार पुग्यो । रमिते बजारको सबैभन्दा महंगो A/C वाला होटलमा उनीहरूले ५ दिनको लागि कोठा बुक गरे ।

‘बोक्सीको आरोपमा रमिते बजारमा मलमुत्र खुवाउँदै महिलामाथी कुटपिट गर्ने अपराधीलाई हदैसम्मको कारबाही गरिनुपर्छ । त्यही घटनाको अनुसन्धानका लागि म रमिते बजार आइपुगेको अबस्था।….’ उनले होटलको फ्रि वाइफाईको सदुपयोग गर्दै त्यहींबाट स्टाटस अपलोड गरिन् र वाइन पिउन थालिन् ।

सुन भरिया

किराना पसल संचालन गरेर बसेको अगम शाक्य पैसालाई खासै महत्व दिंदैनथ्यो । साहित्य र संगीतमा उस्को बिशेष रूची थियो । एउटा कबिता संग्रह पनि निकालेको थियो ६० सालमा अगमले । ‘यो किराना पसलबाट चाराना र आठाना कमाएर कहिलै उँभो लाग्नु ? चाँडै पैसा कमाउने कुनै उपाय सोच है बुढा !’  अगमलाई उनकी श्रीमतीले सधै यसरी दबाब दिइरहन्थिन् ।  ‘आ ~ मर्दा संगै लगिंदैन । खान लाउन जसोतसो पुगेकै छ, सम्पत्तिको पछाडि कुद्न हुँदैन बुढी !’ श्रीमतीलाई अगमले सम्झाउँदै भन्थ्यो । 

‘त्यसो भनेर कहाँ हुन्छ ! अचेल व्यापार पनि चल्न छाड्यो । व्यापारको नाफाले यै भात खान मात्रै ठिक्क छ । दिनदिनै छोराछोरी हुर्कदैछन् । कि त नेपालमै आम्दानी हुने खालको कुनै नयाँ काम गर कि त खुरूक्क बिदेश जाऊ ।’ श्रीमतीको यस्तो दवावले अगमलाई सारै तनाबमा पारेको थियो । गाउँकै ‘काले’ उस्को बाल्यकालको संगै पढेको साथी थियो  । छोटो समयमै ठूलो आर्थिक प्रगति गरेको थियो कालेले । काठमाण्डौमा बसेर उस्ले सुनको कारोबार गर्ने गरेको थियो ।  एकदिन अगमले कालेलाई भन्यो, ‘लु न यार, मलाई पनि कुनै काममा लगाइ दे ! सारै दु:ख पाएँ ।’

कालेले मनमनै सोच्यो,’ ढुंगा खोज्दा देउतै पो मिल्यो, म पनि ‘भरिया’ कै खोजीमा थिएँ ।’ कालेले भन्यो,’ लौ हो र ? एउटा काम गर्छस् त ? यो काम सफल पारिस् भने तैले हप्तादिनमै १५ लाख रूपैयाँ कमाउँछस् !’  ‘कस्तो काम ?’ अगमले आश्चर्य मान्दै सोध्यो । ‘एयरपोर्टबाट सुन ल्याएर पोखरा पुर्याउने काम !’ कालेले भन्यो,’प्रहरीसंग सेटिङ् मिलिसकेको छ । तलाई कुनै समस्या हुँदैन ।’ ‘हुन्छ यार ! सुन कहिले आउँछ नि ?’ 

‘पर्सि बुधबार दिउँसो १२ बजे दुवइबाट साँढे २३ केजी सुन आउँदैछ, तँ एयरपोर्ट जानु अनि त्यहाँबाट तैले त्यो सुन पोखरा पुर्याउनुपर्छ जगत बहादुरको ज्वेलर्समा !’ बुधवार एयरपोर्ट पुग्यो अगम । दुवइबाट सेटिंगमा आएको सुनको ब्रिफकेस उस्लाई एयरपोर्टको डिएसपी कुन्दन बज्राचार्यले थमाइदियो । अगम सुनको ब्रिफकेस बोकेर पोखरा हुइँकियो जगत बहादुरलाई बुझाउन ।

यता डिएसपी कुन्दनले चैं अगमको गाडी नंबर टिपेर सुटुक्क गुण्डा नाइके ‘ध्वाँसे’ लाई एसएमएस पठाए । सुन खोस्ने योजना उनीहरूले पहिले नै बनाइसकेका थिए ! पोखरा जाँदा जाँदै अगमको गाडीलाई ‘ध्वाँसे’समुहले पिछा गर्यो र बिचबाटो बाटै उनीहरूले साढ़े २३ किलो सुन लुटेर लगे । गद्धारी गरेको भन्दै ‘काले’को निर्देशनमा अर्को गुण्डा समुहले अगमलाई गोली हानेर हत्या गर्यो ! अगमको हप्तादिनमै १५ लाख रूपैयाँ कमाउने सपना त्यतिकै तुहियो ।

सम्पत्ति मोहले श्रीमतीको सिउँदो समेत उजाडियो । ‘मेरो बाल्यकालको दौतरी अगम शाक्यको हत्याको खबरले मर्माहत भएको छु । उनको मृतआत्माको चीरशान्तिको कामना गर्दछु ।’ कालेले फेसबुकमार्फत चैं श्रद्धान्जली व्यक्त गरिरहेको थियो ।

Logo