ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं
तीन वर्ष अघिको विनासकारी भूकम्पले लाखौं संरचनाहरु भत्काएको हामीले भुलेका छैनौं । "/>

भूकम्पबाट क्षति भएका सम्पदाहरु क्यानभासमा

भूकम्पबाट क्षति भएका सम्पदाहरु क्यानभासमा


ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं
तीन वर्ष अघिको विनासकारी भूकम्पले लाखौं संरचनाहरु भत्काएको हामीले भुलेका छैनौं । र भुल्न समय पनि लाग्छ । भूकम्पसँगै हजारौं नागरिकले ज्यान गुमाए र घाइते भए त्यो भन्दा धेरै, यो पनि हामीलाई थाहा छ । त्यहि भूकम्प हो जसले देशभरिका हजारौं साँस्कृतिक सम्पदाहरुलाई क्षणाभरमै ध्वस्त बनाएको थियो । ध्वस्त संरचना मध्ये ३ वर्षमा केहिको पूनर्निर्माण सकिए पनि थुप्रै संरचना अझै पनि पूनर्निर्माणकै प्रतिक्षामा छन् । भत्किएका संरचनाहरु त भत्किए नै , तिनीहरुलाई अब पुरानै अवस्थामा ल्याउन सकिंदैन पनि तर चित्र वा तस्विरका माध्ययमबाट इतिहासलाई संरक्षित बनाउने काम चैं गर्न सकिन्छ । तर यसलाई पनि सबैले गर्न सक्ने अवस्था भने पक्कै छैन । यसै अभियानमा केहि युवाहरु सक्रिय छन् अहिले ।

कैलालीको टिकापुर स्थायी घर भएका पर्ल साउद र उनको समुहले विगत ३ वर्ष देखि राजधानीका भूकम्पले ध्वस्त भएका संरचनाहरुलाई क्यानभासमा उतार्दै आएका छन् । मुख्य उद्देश्य विनासकारी भूकम्पले भत्काएका संरचनाहरुका बारेमा आउँदा पुस्ताहरुलाई जानकारी दिन सकियोस भन्ने नै हो । यस समुहले अहिले सम्म करिव ४ सय वटा चित्रहरुलाई क्यानभासमा उतारिसकेको छ । भूकम्प जाने वित्तिकैको क्षतविक्षत अवस्था र भग्नावशेष, विस्तारै जनजिवन सामान्य बन्दै गरेको अवस्था, पूनर्निर्माण शुरु र अहिले भइरहेको सुस्तता जस्ता महत्वपूर्ण क्षणहरुलाई चित्रमा उतारेर संरक्षण गरेर राख्नु कम्ता चुनौतीको काम होइन तर पनि यसलाई निरन्तर रुपमा अगाडी वढाउन यो समुह सक्रिय छ ।

राजधानीको लगनटोलमा रहेको भिमसेन थापाको दरबार पनि विनासकारी भूकम्पसँगै भत्कियो । त्यो दरबार जीर्ण अवस्थामै ३ वर्ष सम्म अलपत्र जस्तै रह्यो । भर्खरै त्यसलाई भत्काएर नयाँ स्वरुप दिने प्रयास गरिदैं छ । यहि भवनलाई चित्रकार पर्ल साउदले १ हप्ता लगाएर आफ्नो क्यानभासमा उतारेका छन् । भवनमा भएका सबै विषयहरुलाई शुक्ष्म तरिकाले चित्रमा उर्तान सजिलो थिएन । तर पनि यसलाई चित्रमै मात्र भएपनि जोगाएर राख्न उनी सफल भए । भवनमा भएका झ्याल, ढोका, चर्किएका भित्ताहरु, खट्प्वाल, टुँडाल लगायत सबै वस्तुहरु उनका चित्रमा पनि अटाए । मानौं यो कुनै व्यावसायिक फोटोग्राफरले खिचेको तस्विर भन्दा कम छैन । यो चित्रलाई उनले बेच्ने उद्देश्यले बनाएका भने होइनन् । भूकम्पको पूनर्निर्माण सकिए पछि जति वटा चित्रहरु बन्छन् ती सबैलाई संग्राहालयमा सुरक्षित राख्ने उनी लगायत उनको समुहको लक्ष्य छ । यति मात्र होइन, हनुमानढोका, रानीपोखरी, धरहरा लगायतका सम्पदाहरुको पनि उनीहरुले क्यानभासमा उतारिसकेका छन् ।

पर्लको समुहमा ४ जना युवाहरु छन् । बिगुल ढकाल, आकास बि मगर र प्रविन श्रेष्ठ । उनीहरु सबै अहिले ललितकला क्याम्पसमा पढ्दैछन् । पासा पीँ भन्ने उनीहरुको समुहको नाम छ । प्रोजेक्ट नक्सा नामको प्रोजेक्टको काम पनि छ उनीहरुको । आफूले पढेर सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पनि उनीहरुलाई केहि गरेर देखाउनु त छँदै थियो त्यस माथि भूकम्पको अवस्थालाई चित्रण गरेर सुरक्षित राख्ने काम पनि थपियो । अहिले यो समुह यसमै तल्लिन छ र अझै केहि वर्ष निरन्तर रहने छ ।

चित्र बनाउँदै गाउँ गाउँमा पुग्दा पर्ललाई सरकारले शुरु गरेको यसकिसिमको पूनर्निर्माणको अवस्था फिटिक्कै चित्त बुझेको छैन । ३ वर्षमा त सकिसक्नु पर्ने थियो , तर अहिले सम्म एकचौथाई काम पनि भएको छैन । उनी भन्छन् यसरी त १० वर्षमा पनि पूनर्निर्माण सम्भव छैन । त्यो अवस्थालाई पनि उनले आफ्नो चित्रमा उतारेका छन् । भूकम्पले भत्काएका वस्तीहरु खोज्दै पर्ल कहिले सिन्धुपाल्चोक पुगे त कहिले काभ्रे अनि गोरखा । जहाँ पुगे त्यहाँका भग्नावशेषहरुलाई चित्रका माध्यमबाट उर्तान भने छोडेनन् । भविष्यमा एउटा कुशल चित्रकार बनेर यहि क्षेत्रमा लाग्ने उनको सोच छ । कुनै पनि प्राकृतिक दृष्य, व्यक्तिका तस्विर र काल्पनिक विषयका चित्रहरु पनि उनको प्रस्तुतीका माध्यम बन्ने गरेका छन् । सार्वजनिक ठाउँमा बसेर चित्र बनाउँदा धेरै जनाले उनलाई व्यक्तिको तस्विरलाई पनि चित्रमा उतारिदिन अनुरोध गरेका छन् । भ्याए सम्मको काम गर्न उनी प्रयासरत छन् । तर अहिले भने त्यतातिर भन्दा पनि भूकम्प पछि भइरहेको पूनर्निर्माणकै चित्रलाई निरन्तरता दिइरहेको उनले बताए ।

(फोटोः राजधानीको लगनटोल स्थित भूकम्पले भत्किएको भिमसेन थापाको दरबारलाई क्यानभासमा उतार्दै चित्रकार पर्ल साउद । तस्विरः ज्ञानमणि नेपाल कालोटोपी)

 

Skip This
Logo