अष्ट्रेलियाको तापक्रम ४८ डिग्री सेल्सियस पुग्यो, घरभित्रै बस्न सुझाव

एजेन्सी । अष्ट्रेलियामा अत्यधिक गर्मी बढेपछि घरबाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरिएको छ । अत्याधिक गर्मी बढेपछि सरकारले जरुरी काम बाहेक नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेको हो । अघिल्लो २४ घण्टाको तथ्याङ्कलाई आधार मान्दै तापक्रम थप बढ्न सक्ने भन्दै नागरिकलाई सचेत गराइएको छ ।

अधिकारीहरुले नागरिकलाई बढी सचेत हुन र घरभित्रै रहन आग्रह गरेका छन् । उनीहरुले प्रशस्त मात्रामा पानी पिउन र अत्यधिक गर्मीमा शारीरिक काम कम गर्न पनि सुझाएका छन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित ९ राज्यमा बुधबार अत्यधिक तापक्रम मापन गरिएको छ । दक्षिण अष्ट्रेलियामा गर्मीका कारण १६ जना अस्पतालका आपत्कालीन सेवामा उपचाररत छन् । यीमध्ये सातजनालाई थप उपचारका लागि भर्ना गरिएको छ ।

ह्वाइटक्लिफमा बुधबार दिउँसो साढे तीन बजेअघि ४८.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । जुन अहिलेसम्मको सबैभन्दा बढी हो ।

विल्कानिया, मेनिन्डी र इभान्होईमा बिहिबार ४८ डिग्री तापक्रम मापन गरिएको छ । यस्तै, एनएसडब्ल्यू–भिक्टोरिया तटीय इलाका अल्बरी र वुडुङ्गामा तापक्रम ४५.३ डिग्री सेल्सियस रह्यो ।

राती भने तापक्रम २७ डिग्री रहेको थियो । सिड्नीको पश्चिममा शुक्रबार तापक्रम ४५ डिग्री पुग्ने बताइएको छ भने शनिबार केही राहत हुने अनुमान गरिएको छ ।