कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत

कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत


काठमाडौं ।
यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्प्रेरित गरि प्रचारप्रसार गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिए । “केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि विसं २०६६, २०६७, २०७६ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गत वर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकाले”, उनले भने ।

राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म (म्ह) पूजा र भाइटीका मनाइएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गरेका छन् । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ ।

धर्मशास्त्र र ज्योतिषशास्त्र विपरीत गरिएको चाडपर्वको निर्णय मान्य नहुने उनको भनाइ छ । त्यस अनुसार चाड पर्व मनाउन आह्वान गर्नेले पात्रो गणना गरेर सार्वजनिक गर्नुपर्ने समिति सदस्य जोशीको सुझाव छ ।

कुकुर पाल्नुस्, मुटुरोग र मधुमेहबाट बच्नुस्

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

अरुणोदयकालमा नरक चतुर्दशी स्नान र दीपदान

कात्तिक कृष्ण चतुर्दशीको बिहान आज अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ ।

आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार शुरु भएको हो । दोस्रो दिन शुक्रबार काग तिहार पर्व मनाइएको थियो ।

Logo