काठमाडौँ

नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । "/>

निजी विद्यालयमा लुट , कक्षा १ मा भर्ना गर्न ८८ हजार !

निजी विद्यालयमा लुट , कक्षा १ मा भर्ना गर्न ८८ हजार !


काठमाडौँ

नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिएपछि निजी विद्यालयले जथाभाबी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् ।

शिक्षा नियमावली अनुसार संस्थागत (निजी) विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा तीन महिना अघि सम्बन्धित निकायमा शुल्क प्रस्ताव गर्नुपर्छ । प्रस्ताव स्वीकृत भएपछि मात्र कार्यान्वयनमा ल्याउनुपर्छ । तर अहिले नयाँ शैक्षिक सत्रका लागि शुल्क प्रस्ताव कहाँ पेस गर्ने भन्ने अन्योल छ । स्थानीय सरकार सञ्चालन ऐनले सामुदायिक र निजी विद्यालय सम्बन्धी सम्र्पूण अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ । यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुुसी शुल्क असुलिरहेका हुन् ।

अधिकांश ‘नाम चलेका र ठूला भनिएका’ स्कुलले भर्ना शुल्क आधा लाख रुपैयाँको हाराहारीमा असुली रहेका छन् । काठमाडौंमा रहेको ‘पाठशाला’ स्कुलले कक्षा एकमा नयाँ भर्नाका लागि ८८ हजार रुपैयाँ शुल्क तोकेको छ । पाठशालाले कक्षा १ को शिक्षण शुल्क ९ हजार र मासिक शुल्क १३ हजार रुपैयाँ लिने निर्णय गरेको छ । त्यस्तै काठमाडौं धापासीमा रहेको त्रियोग स्कुलले केजी तहमा भर्ना गर्दा एकमुस्ट ७१ हजार १ सय ७३ रुपैयाँ लिन्छ । सो तहमा शिक्षण शुल्क २ हजार ३ सय ६३ र मासिक शुल्क ९ हजार १ सय २० तोकिएको छ । त्रियोगले एकपटक भर्ना शुल्क तिरेपछि अर्को वर्ष सोबापत शुल्क तिर्नु नपर्ने जनाएको छ । उसले नयाँ भर्ना शुल्क ५१ हजार तोकेको छ ।

यसैगरी काठमाडौंकै मेरिडियन स्कुलले कक्षा १ मा भर्ना शुल्क ४२ हजार ७ सय ८० रुपैयाँ तोकेको छ। यो स्कुलले कक्षा १ मा शिक्षण शुल्क ४ हजार ८ सय र मासिक शुल्क १२ हजार रुपैयाँ लिने निर्णय गरेको छ । त्यस्तै भ्याली भ्यु स्कुलले कक्षा १ मा नयाँ भर्नाका लागि ३७ हजार ५ सय ७५ रुपैयाँ लिन्छ । यो स्कुलले सो तहका लागि शिक्षण शुल्क ४ हजार ७५ रुपैयाँ तोकेको छ ।

काठमाडौंकै राई स्कुलले कक्षा १ मा नयाँ भर्ना बापत ४२ हजार ६ सय रुपैयाँ तोकेको छ । यो स्कुलले सो तहका लागि मासिक शुल्क ६ हजार ६ सय २३ र शिक्षण शुल्क ४ हजार ४ सय २३ रुपैयाँ लिने निर्णय गरेको छ । त्यस्तै ग्यालेक्सीमा कक्षा १ मा नयाँ भर्ना शुल्क ५९ हजार ४५ रुपैयाँ तोकिएको छ । सो तहका लागि ग्यालेक्सीमा शिक्षण शुल्क ५ हजार १ सय ९० र मासिक शुल्क १२ हजार रुपैयाँ छ ।

ललितपुरस्थित जेम्स स्कुलले कक्षा १ मा नयाँ भर्ना शुल्क ५३ हजार ८ सय रुपैयाँ तोकेको छ । यो स्कुलमा सो तहका लागि शिक्षण शुल्क ५ हजार १ सय ९८ र मासिक शुल्क ७ हजार ८ सय ८५ रुपैयाँ बुझाउनुपर्छ । ललितपुरकै लिटिल एन्जल्स स्कुलले कक्षा १ मा नयाँ भर्नाबापत २५ हजार ४ सय रुपैयाँ लिएको छ। उक्त स्कुलले कक्षा १ मा शिक्षण शुल्क ४ हजार ६ सय र मासिक शुल्क ११ हजार ६ सय तोकेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले उपत्यका र उपत्यकाबाहिर सञ्चालित निजी विद्यालयले नयाँ भर्ना (२०७५ सालका लागि) शुल्क मनोमानी ढंगले असुलिरहेको बताए । ‘निजी विद्यालयको शुल्कको सबालमा रमाइलो कुरा के छ भने शिक्षण शुल्क र मासिक शुल्कमै ८ गुणाले अन्तर देखिएको छ,’ महासचिव शर्माले भने, ‘मासिक र शिक्षण शुल्कमा ठूलो अन्तर हुँदा पनि सरकार किन मौन छ ?’
नागरिकबाट

Logo