दमौली
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
सो दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३ एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको उपचारका क्रममा मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउँका २४ वर्षीय बुद्धिबहादुर गुरुङ र स्कुटर चालक आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका २० वर्षीय नवीन थापा घाइते भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प २५६३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग १३ प ४१६४ नंको स्कुटर जुझ्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका निकेशको उपचारको क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो । घाइतेद्वयको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यता नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक पनि शुक्रबार राति ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ बस्ने ४६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ प ५५०६ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख २२४९ नंको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार भएकाले निजको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस