चेपाङ युवाले उडाए प्यारामोटर (भिडियोमा)

चेपाङ युवाले उडाए प्यारामोटर (भिडियोमा)


चितवनका एक चेपाङ्ग युवाले प्यारामोटर उडाएका छन् ।

चितवनको राप्ती नगरपालिका २ गड्यौलीका सरोज चेपाङ्गले आफंैले निर्माण गरेको प्यारामोटर उडाएका हुन् । स्थानीय स्रोत÷साधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर उनले आइतबार राप्ती नदीको बगरमा उडाएर परीक्षण गरेका छन् । यसअघि २ पटकसम्म उडानको प्रयास गर्दा हावाको प्रभावले प्यारामोटर उडाउन नसकेका सरोजले आज भने सफतापूर्वक प्यारामोटर उडाएका हुन् । सामान्य परिवारका २० वर्षका सरोजले करिब ९० हजारको लागतमा प्यारामोटर निर्माण गरेका थिए । ६ कक्षासम्म मात्रै अध्ययन गरेका सरोजले १ महिना लगाएर एक्लैले प्यारामोटर निर्माण गरेको हुन् । प्यारामोटर निर्माण गर्न १ सय ४९ सिसीको मोटरसाइलकोे एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लच,ब्याट्री, स्टिल, आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरेको उनले बताएका छन ।

चेपाङले बनाएको प्यारामोटरमा ३ वटा चक्का समेत भएकोले प्यारासुट नहाली सडकमा गुडाउन सकिनेछ । सरोजले २ जना चड्न मिल्ने मिनी एयरक्राफ्ट समेत निर्माण गरिरहेका छन् । तर आर्थिक अभावको कारण इन्जिन खरिद गर्न नसक्दा उनले त्यसलाई पूर्णता दिन नसकेको आमा लिला प्रजाले बताइनन् ।

मिनी एयर एयरक्राफ्ट निर्माण गर्न हालसम्म ५ लाखभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिइनन् । मिनी एयर एयरक्राफ्ट निर्माण गरिरहेको हेर्न धेरै मानिसहरु आएका र यो बन्दैन, उडाउन सक्दैन भन्ने जस्ता नकारात्मक कुरा गर्ने गरेकाले उनीहरुलाई विश्वास दिलाउन पनी मिनी एयरक्राफ्ट भन्दा पहिला प्यारामोटर बनाएर उडाउने सोचका साथ प्यारामोटर निर्माण गरेर उडाएको सरोजले बताए । परिक्षण स्वरुप उडाएको प्यारामोटरलाई सरोजले करिब ४० मिनेटसम्म आकाशमै घुमाएका थिए । उनको उक्त परिक्षण हेर्न राप्ती नदीको बगरमा स्थानीयहरुको भिड लागेको थियो । सफलतापूर्वक प्यारामोटर उडाएपछि उनलाई स्थानीयले फुलामाला र अबिर लगाएर बधाई दिएका थिए ।

 

 

Logo