काठमाडौँ
नुवाकोटलाई प्रदेश ३ को सदरमुकाम बनाउन ध्यानाकर्षण गराउने उद्देश्यले राजधानीमा सोमबार एक कार्यक्रम गरिएको छ । "/>

नुवाकोटलाई प्रदेश ३ को सदरमुकाम बनाउन पहल

नुवाकोटलाई प्रदेश ३ को सदरमुकाम बनाउन पहल


काठमाडौँ
नुवाकोटलाई प्रदेश ३ को सदरमुकाम बनाउन ध्यानाकर्षण गराउने उद्देश्यले राजधानीमा सोमबार एक कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति नुवाकोट र नुवाकोट सरोकार समाजले आयोजना गरेको उक्त कार्यक्रममा नुवाकोटको वस्तुस्थिति सम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रदेश ३ का अधिकांश सांसदको सहभागिता थियो । कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र प्रादेशिक संसदमा छलफल चलाउने बताए । उनले नुवाकोटलाई सदरमुकामको एउटा विकल्पका रूपमा स्वीकार्दै विवाद नआउने गरी यस विषयमा निर्णय लिनु पर्ने बताए ।

काठमाडौंका प्रदेशसभा सांसद योगेन्द्र संग्रौलाले उपत्यकामा प्रादेशिक राजधानी बनाउन नहुने भन्दै नुवाकोटले तयारी गरेकोमा धन्यवाद दिए । उनले नुवाकोटलाई सदरमुकामको विकल्पका रूपमा सोच्न सकिने आधार आफूले पाएको पनि बताए । प्रदेश ३ की उपसभामुख राधिका तामाङले नुवाकोट भौगोलिक हिसाबले पनि उपयुक्त रहेको बताउँदै यसमा गहन विचार विमर्श गरेर निर्णय लिइने बताइन् । प्रदेश ३ मा १ सय १० सभासद छन् । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतबाट राजधानी तोक्न सकिन्छ ।

चितवनका प्रदेशसभा सदस्य विजय सुवेदीले नुवाकोट चीन र भारत जोड्ने ट्रान्जिट प्वाइन्ट भएकाले प्रादेशिक राजधानीको भर पर्दो विकल्प हुन सक्ने बताए । नुवाकोटका विषयमा आफू सकारात्मक रहेको पनि उनले प्रष्ट पारे । उनले प्रदेश ३ लाई चार क्लस्टरमा विभाजन गरेर विकास गर्नु पर्ने बताए । उनले मकवानपुर र चितवनको एउटा, नुवाकोट–धादिङ–रसुवाको अर्को, काठमाडौं उपत्यकाको अर्को र दोलखा–रामेछाप–सिन्धुली–काभ्रे–सिन्धुपाल्चोकको एउटा क्लस्टर बनाएर विकास गर्नु पर्ने धारणा राखे ।
नागरिकबाट

Logo