एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनको ढाँचा तय गर्न गठित कार्यदलले १७ अध्याय र ७७ दफा रहेको अन्तरिम विधान छलफलका लागि प्रस्ताव गरेको छ । "/>

यस्तो बन्यो एमाले-माओवादी पार्टी एकताको अन्तरिम विधान मस्यौदा

यस्तो बन्यो एमाले-माओवादी पार्टी एकताको अन्तरिम विधान मस्यौदा


एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनको ढाँचा तय गर्न गठित कार्यदलले १७ अध्याय र ७७ दफा रहेको अन्तरिम विधान छलफलका लागि प्रस्ताव गरेको छ ।

एमाले र मओवादी नेता सम्मिलित कार्यदलको शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकले एकीकृत पार्टीको मस्यौदा विधान छलफलका लागि प्रस्ताव गरेको हो ।

विधानको प्रस्तावनादेखि सबै दफाको मस्यौदा बने पनि केन्द्र, प्रदेश, जिल्लालगायतको सांगठनिक संरचना कति सदस्यीय रहने उल्लेख छैन । बैठकले एमाले महासचिव ईश्वर पोखरेलको प्रस्तावअनुसार विधान छलफलका लागि विधि तय गरेको छ ।

‘दफावार छलफल गर्दै पास गर्दै जाने, अनुपस्थित सदस्यले पास भइसकेको दफामा अर्कोपटक उपस्थित हुँदा नोट अफ डिसेन्ट लेख्न नपाउने गरी बैठकले विधि तय गरेको छ,’ कार्यदलका एक सदस्यले भने, ‘अनुपस्थित रहेको सदस्यले पास भइसकेको दफा उल्ट्याउन पाउनेछैन ।’

तीन अनुपस्थित भएपछि दफावार छलफल स्थगित 

कार्यदलको बैठकमा माओवादीतर्फका नेताहरू वर्षमान पुन, जनाद्र्धन शर्मा र मातृका यादव अनुपस्थित रहेका कारण विधानको दफावार छलफल सुरु गर्ने तयारी स्थगित भएको छ ।

नेताहरूको अनुपस्थितिले तयारीको काम प्रभावित हुने देखिएकाले बैठकले छलफलको विधि तय गरेको हो ।

कार्यदलका संयोजक रामबहादुर थापा बादलले विधान मस्यौदा राम्रो रहेकाले अबको छलफलमा भाषिक सुधार हुन सक्ने बताए ।

विधान र संगठनसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीबाट रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव छन् ।

राजनीतिक कार्यदल आन्तरिक छलफलमा 

अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर आन्तरिक छलफल चलाइरहेका छन् ।

शुक्रबार माओवादी केन्द्रतर्फका नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल र देवेन्द्र पौडेलले आन्तरिक छलफल गरेका थिए । ‘हामी आन्तरिक छलफलमै छौँ, थप छलफल हुन पाएको छैन,’ माओवादी नेतृ पम्फा भुसालले भनिन् ।

एमालेले पनि प्रतिवेदनमा केन्द्रित रहेर आन्तरिक छलफल चलाइरहेको छ । कार्यदलमा एमाले नेता माधवकुमार नेपाल संयोजक छन् । नयाँ पत्रिका

Skip This
Logo