३० बर्ष पछि महिलाको खानपिन कस्तो हुनुपर्छ

३० बर्ष पछि महिलाको खानपिन कस्तो हुनुपर्छ


तपाई कामकाजी महिला हुनुहुन्छ भने यो उमेरमा तपाईको काँधमा विभिन्न किसिमको जिम्मेवारीहरु आईरहेको हुन्छ । अफिसमा कामको चाप र घरको ब्यवहारलाई मिलाउन नसकेको अवस्थामा धेरै किसिमको तनाव हुने गर्छ । यस्तो अवस्थामा तपाईले आफ्नो खानपिनलाई बिशेष रुपमा ध्यान दिनु भयो भने तपाईलाई सामान्य कामले कमै तनाव दिने गर्छ ।

– यो उमेरमा महिलाहरुले आफ्नो खानपिनमा मुसुरोको दाललाई अनिवार्य रुपमा खानेगर्नु राम्रो हुन्छ । यसका साथै सुख्खा सिमी, मटर, कालो दाल, राजमा, बन्दा र केराउको दाल खानाले शरीरमा प्रचुर मात्रामा फाइबर र प्रोटिनको मात्रा पुग्ने गर्छ । एक कप मुसुरोको दाल पकाएर सेवन गर्नु भयो भने तपाईले १५ ग्राम भन्दा बढी फाइवर प्राप्त गर्नुहुन्छ । यसले कोलेस्ट्रोलको स्तरलाई कम गर्नुका साथै ब्लड सुगरलाई समेत नियन्त्रण गर्छ भने यो दालले पाचनक्रियालाई पनि राम्रो बनाउछ ।

– जव तपाईलाई कुनै बेला भोक लाग्छ भने यस्तो अवस्थामा धेरै महिलाहरुले प्याकेटमा रहेको आलुचिप्स वा कुनै किसिमको कुकिज खाने गर्छन् । तर यो उमेरमा यस्ता कुराहरु खानु भन्दा फलफुल वा हरियो खानेकुरा खाने बानी बसाल्नु राम्रो हुन्छ । यदी तपाईलाई दिनको समयमा केही खानु पर्ने बानी परेको छ भने घरमै विभिन्न फलफुल र हरियो सागसब्जीहरुलाई काटेर बट्टामा राखेर हिड्ने गर्नु राम्रो हुन्छ । यस्ता किसिमका खानपिनले शरीरलाई मोटोहुनुवाट नियन्त्रण गर्नुका साथै जंक खानेकुरा सेवनवाट हुन सक्ने मोटोपनलाई पनि रोक्ने गर्छ । यस्ता किसिमका खानेकुराहरुले रगतमा रहेको कोलेस्ट्रोलको मात्रालाई कम गर्नुका साथै तपाईलाई बढी उर्जा पनि प्राप्त हुन्छ ।

– यो उमेरमा महिलाहरुले दैनिक ८ देखि १० गिलास पानी पिउने गर्नुपर्छ । पानी एकै पटक भन्दा पनि केही समयको अन्तरमा सेवन गर्दा यसले शरीरमा रहेको टक्सिनहरुलाई बाहिर फ्याँक्न मद्धत पनि गर्छ ।

– दुधमा क्याल्सियमको मात्रा प्रचुर मात्रामा रहेको हुन्छ । यो उमेर पछि हड्डीहरु विस्तारै कमजोर हुदैं जाने हुनाले दुधको सेवन पनि बढाउनु पर्छ । तर दुध सकभर तर निकालेको खानुपर्छ, ध्यूको सेवन कम गर्नु राम्रो, दहि खानु पर्छ तर, तर निकालेको खानु राम्रो हुन्छ । यसरी सेवन गर्दा शरीर मोटो हुन पाउदैन भने तपाईले दुधमा रहेका धेरै गुणहरुलाई शरीरमा प्रबेश गराउन सक्नुहुन्छ । जस्तो दुधमा भिटामिन ई, म्याग्नेसियम, पोटासियम र रोग प्रतिरोधि क्षमता बढाउने गुण रहेको हुन्छ ।

यि कुराहरुलाई सकभर खाँदै नखानुस्

– ३० बर्षको उमेर काटेपछि बट्टामा बन्द भएर आएका खानेकुराहरुको सेवन गर्दै नगर्नुस् । यस्ता खानेकुरामा सोडियमको मात्रा बढी हुनुका साथै धेरै मात्रामा खानेकुरा नबिग्रने रसायनहरु राखिएको हुन्छ । यस्ता खानेकुराहरुको सेवनले शरीरलाई झनै हानी नोक्सानी गर्ने गर्छ । केही खानेकुराहरु टिन र प्लाष्टिकमा आउने हुनाले र यिनीहरु लामो समयसम्म रासायनिक प्रतिक्रिया भैरहेको हुनाले खानेकुराहरु बिषादी समेत भएका हुन्छन् । यस्ता किसिमका खानेकुरामा सोडियमको मात्रा ७ सय देखि १ हजार ८ सय एमजीसम्म हुन्छ । जसले रक्तचाप बढाउनुका साथै अन्य स्वास्थ समस्याहरु पनि निकाल्ने गर्छ ।

Logo