प्रदेश नं ४ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने

प्रदेश नं ४ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने


पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । 

आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए । 
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गत माघ २८ गते प्रदेश नं ४ का नेकपा (एमाले) संसदीय दलका नेतामा निर्वाचित गुरुङलाई २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । 

सचिव खड्काका अनुसार आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव राख्नुहुनेछ । प्रस्ताव राखेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटा दलका एक/एक जनाले आ–आफ्ना धारणा राख्ने छन् । छलफलमा उठेका विषयमा मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मत विभाजनको प्रक्रियामा लगिने सचिव खड्काले जानकारी दिए । जम्मा ६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश नं ४ मा विश्वासको मत लिन गुरुङले बहुमत प्राप्त गर्नुपर्छ । 

बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा एमालेको २७ र नेकपा (माओवादी केन्द्र)का १२ सदस्य रहेका कारण वाम गठबन्धनका साझा मुख्यमन्त्री गुरुङले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । यस प्रदेशमा एमाले, नेकपा (माओवादी केन्द्र) बाहेक नेपाली काँग्रेसको १५, राष्ट्रिय जनमोर्चाको तीन, नयाँ शक्तिको दुई र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य छन् । 

मनाङका स्वतन्त्रतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले भने शपथ लिएको छैन । प्रदेशसभा सचिवालयमा आर्थिक कार्यविधि विधेयक– २०७४ दर्ता भएका कारण आज ११ः३० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले पारित गरेमा उक्त विधेयक आजै प्रदेशसभामा टेबुल हुने सचिव खड्काले जानकारी दिए  । 

त्यस्तै, अघिल्लो बैठकमा टेबुल भएको प्रदेशसभा नियमावली–२०७४ आजको बैठकबाट पारित हुन सक्नेछ । गत फागुन २१ गते बसेको प्रदेशसभा बैठकमा नियमावली टेबुल गरिएकोमा संशोधनका लागि सभामुखले ४८ घण्टाको समय दिनुभएकोमा कुनै पनि संशोधन नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । रासस

Logo