काठमाडौं
सरकारले प्राथमिकताका साथ घोषणा गरेका राष्ट्रिय गौरवका आयोजना निर्माण शैलीमा अझै सुधार हुन नसकेको पाइएको छ । "/>

पाँच राष्ट्रिय गौरवका आयोजनाको खर्च अवस्था दयनीय

पाँच राष्ट्रिय गौरवका आयोजनाको खर्च अवस्था दयनीय


काठमाडौं
सरकारले प्राथमिकताका साथ घोषणा गरेका राष्ट्रिय गौरवका आयोजना निर्माण शैलीमा अझै सुधार हुन नसकेको पाइएको छ । अर्थ मन्त्रालयले बुधबार चालु आर्थिक वर्ष ०७४,७५ मा बजेटको अर्धवार्षिक (साउन–पुस सम्म) समीक्षा सार्वजनिक गर्दा २१ मध्ये पाँच गौरवका आयोजनाको अवस्था दयनीय रहेको देखिएको हो । जस मध्ये बूढीगण्डकी जलविद्युत आयोजना, काठमाडौं–तराई–मधेस द्रुत मार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पश्चिम सेती जलविद्युत र मेलम्ची खानेपानीको अवस्थामा निकै थोरै बजेट खर्च हुने सकेको मन्त्रालयले जनाएको छ ।

भौतिक र वित्तीय प्रगाति निराशाजनक रहेका ती आयोजना समयमै निर्माण हुने हो भने देशको मुहार फेरिने विज्ञहरूले बताउँदै आएका छन् । मन्त्रालयले विनियोजन गरेको बजेट खर्च गर्न नसकेपछि केही महिना अघि काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । चालु आर्थिक वर्षमा द्रुतमार्गका लागि १० अर्ब १४ करोड ४८ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिए पनि ६ महिनाको अवधि सम्म ३० करोड तीन लाख रुपैयाँ मात्र खर्च भएको छ ।

त्यस्तै अर्को राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा साउन देखि पुस सम्म एक सुको पनि बजेट खर्च हुन सकेन । बाराको निजगढमा निर्माण गर्ने तयारी गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित बजेट खर्च गर्न नसकी दयनीय क्षमता प्रदर्शन गरेको अर्को बूढीगण्डकी जलविद्युत आयोजनाले ६ महिनाको अवधिमा ०.१३ प्रतिशत मात्र बजेट खर्च गर्न सक्यो । मन्त्रालयले चालु आर्थिक वर्षका लागि उक्त आयोजनामा विनियोजन गरेको १० अर्ब १७ करोड ४२ लाख ४५ हजार रुपैयाँ मध्ये पुस सम्म एक करोड ३५ लाख सात हजार रुपैयाँ खर्च भएको छ ।

सात सय ५० मेगावाट विद्युत निकाल्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको अर्को पश्चिम सेती जलविद्युत आयोजना पनि कमजोर क्षमता प्रदर्शन गर्ने आयोजनामा दरिएको छ । मन्त्रालयले समीक्षा अवधिमा उक्त आयोजनामा जग्गा प्राप्ती, प्रशारण लाइन निर्माण र पुनर्वास सम्बन्धी समस्या देखिएको जनाएको छ । यता सम्पन्न हुने मिति किटान गर्दै पटक पटक काम गर्न नसकी पछि धकेलिँदै आएको मेलम्ची खानेपानी आयोजना कमजोर क्षमता प्रदर्शन गर्ने अर्को गौरवको योजना भएको छ ।

०५८,५९ देखि निर्माण कार्य थालिएको मेलम्ची खानेपानीका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ९८ करोड ४९ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा गत पुस सम्म एक अर्ब २४ करोड ४५ लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ । चालु आर्थिक वर्ष भित्र काम सक्ने लक्ष्य लिइएको उक्त आयोजनाबाट काठमाडौंमा दैनिक १७ करोड लिटर खानेपानी ल्याउने योजना छ ।
नागरिकबाट

Logo