राष्ट्रपतिमा झलनाथको लविङ

राष्ट्रपतिमा झलनाथको लविङ


काठमाडौं– एमाले वरिष्ठ नेता झलनाथ खनालले तीन दिनअघि बामदेव गौतमसँग भेट्ने इच्छा राखे । गौतमले ‘म आऊँ कि भैंसेपाटीमै आउनुहुन्छ कमरेड’ भन्ने जिज्ञासा राखे ।

खनालले ‘सम्भव भए तपाईं नै आउनूस्’ जवाफ फर्काए । बामदेव खनाल निवास डल्लु पुगे । खनालले विषय भनेका थिएनन् । डल्लु पुगेपछि थाहा भयो कि राष्ट्रपतिका लागि लबिङ गर्न गौतमलाई बोलाएका रहेछन् ।

गौतम निकट स्रोतका अनुसार खनालले आफूले राष्ट्रपतिका लागि चाहना राखेकोमात्रै खुलाएनन्, पार्टी अध्यक्ष ओलीले गएको महाधिवेशनमा आफूले लगाएको गुन पनि नसम्झिएको गुनासो गरे । ‘तपाईं सबै नेताको व्यवस्थापन सम्मानजनक हुनुपर्छ भन्ने मान्छे,’ खनालले भनेका थिए, ‘गम्भीर भएर सोचिदिनोस् ।’

खनालले गौतमसँग जस्तै वरिष्ठ नेता माधवकुमार नेपालसँग राष्ट्रपतिको लविङ गरेका छन् । नेपालले त सार्वजनिकरुपमै वर्तमान राष्ट्रपति (विद्यादेवी भण्डारी)लाई दोहोर्‍याउन नमिल्ने बताइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रिय राजनीतिक गर्ने समयमा शीतल निवास लगिएकोमा गुनासो गर्दै अर्को एक कार्यकाल दोहोरिने चाहना राखिसकेकी छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लाएक्लै र संयुक्तरुपमा भण्डारीले पुन: दोहोरिने चाहना राखेकी थिइन् ।
एमाले र माओवादीबीच भएको भागबण्डाअनुसार राष्ट्रपति, राष्ट्रिय सभाको अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने सभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ ।

एमाले अध्यक्ष ओलीले भने भण्डारीलाई दोहोर्‍याइदिने वचन नै दिएका छन् । ओली निकट एमाले सचिव प्रदीप ज्ञवालीले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिनेबारे छलफल चलेको स्वीकार गरिसकेका छन् ।

राष्ट्रपतिका उम्मेदवारको विषय यति पेचिलो बन्दै गएको छ कि दोस्रो, तेस्रो तहका नेताहरु पनि बहसमा उत्रिएका छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले खनालले राष्ट्रपति दाबी गर्न नमिल्ने बताएका छन् । ‘पूर्वप्रधानमन्त्री भनेको नेपालको सन्दर्भमा सर्वोच्च कार्यकारी भइसकेको व्यक्ति हुन्,’ खनालप्रति संकेत गर्दै कार्कीले भने, ‘बरु पुन: प्रधानमन्त्री हुन प्रयास गर्नुस्, तर त्यो भन्दा दाया बाँया जानू मुनासिव हुँदैन ।’

राष्ट्रपति निर्वाचनका लागि २१ फागुनदेखि प्रक्रिया सुरु हुँदैछ ।

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भण्डारीसँगै एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् ।

राष्ट्रपति पदका उम्मेदवारले विजयी हुन २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्नका लागि फागुन २९ गते निर्वाचन तोकेको छ । २३ गते उम्मेदवारी दिनुपर्नेछ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानूनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ ।

प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रियसभाका ५९ र सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्य राष्ट्रपति निर्वाचनका मतदाता हुन् ।

बाम गठबन्धन एक्लैको ६५ प्रतिशत मत छ भने संघीय समाजवादी फोरम, नेपालको ५ प्रतिशत थपिने निश्चितप्राय: छ ।

Logo