काठमाडौँ

धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन– ‘पानी’ । "/>

पानी आउने धाराबाट दूध आउन थाले पछि …!

पानी आउने धाराबाट दूध आउन थाले पछि …!


काठमाडौँ

धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन– ‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानी मात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलनकेन्द्र सम्म दैनिक धाउनु पर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो ।

इकुडोलवासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । ०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका सुरु गरेका थिए । सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठिनाइ भएपछि यस्तो प्रविधि सुरु गरेको आचार्य बताउँछन् । ‘दूध संकलनका लागि सहज होस् भनेर यस्तो प्रविधि सुरु गरेका हौं,’ आचार्यले भने ।

यस प्रविधि मार्फत सडकको पहुँच नभएका उचाइका गाउँबाट पाइपको सहायताले बेसीमा दूध आपूर्ति गरिन्छ । आचार्य ढुवानीका साधनको विकल्पमा दूध संकलनका लागि पाइप प्रविधि सञ्चालनमा ल्याएको बताउँछन् ।

सुरुमा ६० हजार रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको यो प्रविधिले आफू लगायत गाउँका थुप्रै किसानलाई फाइदा भइरहेको उनको भनार्इ छ । इकुडोलमा पर्याप्त मात्रामा दूध उत्पादन हुने भए पनि वर्षा तथा गर्मीका बेला संकलन गर्न समस्या हुँदै आएको थियो ।

लामो समय लगाएर संकलन गर्दा दूध फाट्ने समस्या समेत थियो । युवा वैदेशिक रोजगारीमा गएपछि दूध संकलनका लागि जनशक्तिको समेत अभाव थियो । यस्ता समस्या समाधानका लागि पाइप प्रविधि उपयुक्त माध्यम बनेको इकुडोलका किसान बताउँछन् ।

यो प्रविधिबाट कसरी दूध संकलन हुन्छ भन्ने प्रश्नको जवाफमा आचार्य भन्छन्, ‘सुरुमा पाइपमा तातो पानी पठाइन्छ । तातो पानी आएपछि दूध संकलन केन्द्रमा दूध आउँदैछ भन्ने थाहा हुन्छ, दूध सकिएको संकेतस्वरुप चिसो पानी पठाइन्छ,’ आचार्यले भने ।

आचार्यले सुरुमा तातो पानी पठाउनुको कारण खुलाए, ‘अघिल्लो दिनमा पठाएको दूधको फ्याट पाइपमा टासिने हुँदा दूध फाट्ने सम्भावना हुन्छ । तातो पानीले चिल्लो पदार्थ बगाएर लैजान्छ र पाइपबाट ताजा दूध आपूर्ति हुन्छ।’

पाइप प्रविधिले किसानको समय, श्रम र पैसा पनि बचाएको छ । ‘यो प्रविधिले हाम्रो समयसँगै प्रतिलिटर दूधमा पाँच रुपैयाँ बचत भएको छ’, आचार्यले भने ।

पाइप प्रविधि सुरु हुनु पहिले गोटीखेलका ६० घरधुरी किसान प्रत्येक दिन २ घण्टा हिँडेर बजारमा दूध पु-याउँथे । पाइप प्रविधिको माध्यमबाट भने एक घण्टा भित्रै आठ सय लिटर दूध संकलन भइसक्ने बताइएको छ ।
नागरिकबाट

Logo