ओली र देउवा दिनभरि लुकामारीमा ! टेलिफोन भयो तर भेटघाट भएन

ओली र देउवा दिनभरि लुकामारीमा ! टेलिफोन भयो तर भेटघाट भएन


काठमाडौं

एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन । ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी प्रस्ताव गर्दै गर्दा प्रधानमन्त्री देउवाले फोन गरे । ‘म राजीनामा गर्छु, मैले राजीनामा गरेपछि मात्र त्यता प्रक्रिया अघि बढाउनु होला’, टेलिफोनमा देउवाले ओलीलाई भने । त्यसपछि एमाले अध्यक्ष ओली सहित पूर्वसभामुख सुवास नेम्बाङ देउवालाई कुरेर बसे ।

केहीबेरमा देउवा आए, राष्ट्रपतिलाई राजीनामा बुझाए र एमाले नेताहरूसँग भेट नहुँदै राष्ट्रपति कार्यालयबाट बाहिरिए । ‘देउवा पुग्नु भन्दा पहिल्यै हामीले प्रधानमन्त्रीका लागि दाबीपत्र पेस गरिसकेका थियौं’, एमाले नेता नेम्बाङले भने, ‘त्यहाँ देउवाजीसँग हाम्रो भेट भएन ।’ देउवा बाहिरिए लगत्तै अर्को कोठामा पुगेर राष्ट्रपति भण्डारीले ओली प्रधानमन्त्रीमा नियुक्त भएको पत्र दिइन् । राष्ट्रपति कार्यालयमा ४ बजे शपथ गर्ने तयसँगै ओली सहितका एमाले नेताहरू राष्ट्रपति कार्यालयबाट बाहिरिए र पार्टी कार्यालयतर्फ लागे । देउवाले राजीनामा नदिए पनि सरकार गठनमा अप्ठ्यारो नपर्ने भन्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा ओली नियुक्त भएको पत्र त थमायो, तर मिति गलत लेखेर । एक वर्षअघिको मिति राखेर राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिको पत्र थमाएपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो । राष्ट्रपति कार्यालयबाट बाहिरिएका ओली एमाले पार्टी कार्यालयमा पुगेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइयो । संसदीय दलको नेता चयन भएपछि प्रधानमन्त्रीमा दाबी गर्नु पर्नेमा उल्टो भएको एकथरी एमाले नेताहरूको भनार्इ छ । तर दुई दलको समर्थनमा प्रधानमन्त्री हुन संविधानले दलको नेता नतोकाले संसदीय दलको नेता अघि वा पछि भन्ने कुराको अर्थ नहुने पूर्वसभामुख नेम्बाङले बताए । संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई पोसाकमा ध्यान दिन र ‘इमान’ मा रहन निर्देशन पनि दिए ।
अन्नपूर्णबाट

Logo