सामान भित्रिने अवस्था नभए उद्योगी–व्यवसायीले चिनियाँ नाकामा धर्ना दिने

सामान भित्रिने अवस्था नभए उद्योगी–व्यवसायीले चिनियाँ नाकामा धर्ना दिने


काठमाडौं ।

उत्तरी नाकाबाट तत्काल सामान भित्रिने व्यवस्था नगरे व्यवसायीहरु नाकामै गएर धर्ना दिने भएका छन् । केही मात्रामा नाका खुलेको भएपनि प्रशस्त मात्रामा सामान आउन नसकेको भन्दै सम्बन्धीत सरोकारवालाहरुलाई तत्काल सामान भित्र्याउने व्यवस्था गर्न दबाब दिने नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

१० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहजरुपमा नेपाल भित्रन सकेका छैनन् । नाकामा देखिएका समस्याहरु समाधानका लागि परराष्ट्र मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका साथै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतलाई समेत भेट गरेको महासंघले जनाएको छ ।

महासंघको लामो र निरन्तर पहलपछि केरुङ, तातोपानी नाका खुला भएको तर सामान भने नआएको गुनासो व्यवसायीहरुले गरेका छन् । नाकाहरुमा अहिले पनि धेरै कन्टेनरहरु रोकिएका छन् । तर चिनियाँ पक्षले दिनमा एक/दुई वटा मात्रै कन्टेनर पठाउने गरेको गुनासो गरेका छन् ।

‘अत्यधिक भाडा वृद्धि तथा नाकाहरुमा रहेको सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकार समक्ष विनम्र अनुरोध गर्न चाहन्छौं । यदि यी समस्याहरु समाधान नहुने हो भने महासंघमा आवद्ध व्यवसायीहरु नाकामै गएर धर्ना बस्न बाध्य हुने चेतावनी समेत दिन चाहन्छौं ।’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Logo