२२ प्रसारण लाइनलाई सर्वेक्षण अनुमति , ८ वटाले पाए निर्माणको स्वीकृति

२२ प्रसारण लाइनलाई सर्वेक्षण अनुमति , ८ वटाले पाए निर्माणको स्वीकृति


काठमाडाैं ।

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा २० वटा नयाँ विद्युत् प्रसारण लाइन आयोजनाले विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र पाएका छन् ।

विभागका अनुसार ४०० केभीका ६ वटा प्रसारण लाइनले सर्वेक्षणको अनुमतिपत्र पाएका छन् । उक्त ६ प्रसारण लाइनको कुल लम्बाइ ३८३ दशमलव ५ किलोमीटर रहेको छ ।

२२० केभीको १, १३२ केभीको ७ र ३३ केभीको ६ प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ । बिभागका अनुसार यी प्रसारण लाइनको कुल लम्बाइ क्रमशः ४९ किलोमीटर, १७३ किलोमीटर ६३ दशमलव ७ किलोमीटर रहेको छ ।

गत आवको पहिलो त्रैमासमा ८ आयोजनाले मात्रा सर्वेक्षणको अनुमति पाएका थिए । त्यो अनुसार चालू आवमा सर्वेक्षणको अनुमति पाउने प्रसारणलाइन आयोजनाको संख्या बढेको छ ।

बिभागका महानिर्देशक नवीनराज सिंहले ‘फास्ट ट्र्याक’मा काम गर्दा सर्वेक्षणको अनुमति पाउने प्रसारण लाइन बढेको बताए । ‘पहिला यस सम्बन्धी आवेदन डेढ वर्षसम्म पेन्डिङमा बस्थे । तर, अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘फास्ट ट्र्याकमा काम गर्न थालेपछि प्रवर्धक कम्पनीहरूले छोटो समयमा नै लाइसेन्स पाउन थालेका छन् । अब सीमित कम्पनीमात्र लाइसेन्सको पर्खाइमा छन् ।’

उनका अनुसार असोजपछि पनि २ आयोजनाले सर्वेक्षणको अनुमति पाइसकेका छन् । त्यसमा ३३ केभीको खिम्ती घ्वाङ खोला र १३२ केभीको इकुवा खोला प्रसारण लाइन रहेका छन् । अब ३३ केभीको गेलुन खोला, २२० केभीको तामाकोशी भी र १३२ केभीको अपर मोदी कोरिडोर प्रसारण लाइनले मात्र सर्वेक्षणको अनुमति पाउन बाँकी रहेको उनको भनाइ छ । चालू आर्थिक वर्षको हालसम्म २२ प्रसारण लाइनले सर्वेक्षणको अनुमतिपत्र प्राप्त गरिसकेका छन् ।

अनुमतिप्राप्त प्रवर्धक कम्पनीहरूले २ वर्षभित्र आयोजनाको सर्वेक्षण र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरेर विभागमा बुझाउनु पर्ने हुन्छ । यद्यपि, यसका लागि ३ पटकसम्म १/१ वर्षको म्याद थप गर्न मिल्न व्यवस्था छ । यसरी सर्वेक्षण र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन प्राप्त भएपछि विभागले प्रसारण लाइन निर्माणको अनुमति दिन सक्छ ।

अहिले सर्वेक्षणको अनुमति पाउने आयोजनाहरू मध्ये नेपाल विद्युत् प्राधिकरणको चार वटा छन् । प्राधिकरणको ४०० केभीको न्यू बुटवल लमही कोहलपुर, २३१ केभीको छिन्चु सुर्खेत, १३२ केभीको बाफीकोट–खुङरी र ४०० केभीको कोहलपुर न्यू अत्तरिया प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको हो । यस बाहेकका प्रसारण लाइन भने निजीक्षेत्रका हुन् ।

प्राधिकरणको आयोजनाबाहेक ४०० केभी प्रसारण लाइनको अनुमति पाउने आयोजनाहरूमा अप्पर अरुण, फुकोट–तन, धाकारी–बाघमारा बेतन कर्णाली, बझाङ–वेस्ट सेती प्रसारण लाइन रहेका छन् । यस्तै, २२० केभीको प्रसारण लाइन अन्तर्गत लाप्चे खोला प्रसारणलाइन आयोजना रहेको छ ।अभियान दैनिकबाट

Logo