फ्राइडे फिल्म: गोपी, रणवीर र सय कडा दश

माघ १८ गते शुक्रबार हलमा ३ नेपाली चलचित्रहरु एकसाथ प्रदर्शनमा आएका छन् । गोपी, रणवीर र अनागतले एक साथ सिनेमा हल बाडेका हुन् । प्रचारप्रसारको हिसाबमा अन्य चलचित्रको तुलनामा गोपी सबैभन्दा अगाडि रहेको छ । अब कुन चलचित्रले दर्शकहरुको मन जित्छ त्यो भने हेर्न केहि दिन अझै कुर्नुपर्ने हुन्छ ।

गोपी

विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘गोपी’ लाई दिपेन्द्र लामाले निर्देशन तथा लेखन गरेका हुन् । उक्त चलचित्रमा कार्कीलाई गाई पालकको भूमिकामा प्रस्तुत गरिएको छ ।

गोपीमा विपिन, वर्षा र सुरक्षासँगै भोला सापकोटा, अकिंत खड्का, रमेश अधिकारी, कुन्ति सिमल, कमलमणि नेपाल, रामबाबु रेग्मी लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । यस चलचित्रमा आरोही केसीको निर्माण, सामिप्यराज तिमल्सिनाको पटकथा, निमेश श्रेष्ठको सम्पादन, गोविन्द राईको कोरियोग्राफी र शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ ।

रणवीर

गोबिन्द सिंह बिष्टकै निर्देशन, पटकथा, कथा र संवादमा बनेको चलचित्र हो रणवीर । यो चलचित्र एक्सन थ्रिलर जनारामा निर्माण भएको छ । डिआर फिल्मस र प्राची फिल्मसको ब्यानरमा बनेको चलचित्रमा सुशिल सिटौला, प्रशान्त ताम्राकार, सुबेक्षा खड्का र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् । साथै हरिहर शर्मा, टीका पहारी, रबि गिरी, नरेश पौडेल, भोला रिजाल लगायतले पनि अभिनय गरेका छन् ।

यसै चलचित्रबाट सुबेक्षा खड्काले डेब्यु गर्दैछिन् । गोमा बिष्ट थापा र दिेपेन्द्र रेग्मीले लगानी गरेको चलचित्रलाई कृष्ण भण्डारप्ले सम्पादन गरेका छन् ।

सय कडा दश

चलचित्रमा भ्रष्टाचारको विरुद्धमा एउटा व्यक्तिले गरेको संघर्षको कथा समेटिएको छ । रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सय कडा दश’ बाटै हाँस्य कलाकार मनोज गजुरेलले चलचित्रमा डेव्यू गरेका छन् ।

चलचित्रमा मनोज गजुरेलसँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ,  रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानस्वी निरौलालगायतका कलाकारको मुख्य भूमिका छ । उत्तम खत्री  र रज्जु प्रधानले निर्माण गरेको यो चलचित्र दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको हो ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत रहेको छ ।