मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु


भक्तपुर, ३ माघ

मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । 

केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो । 

केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलो पटक सूर्यविनायक नगरपालिका–४ दधिकोटकी ५० वर्षकी विमला न्यौपानेको मुटुको एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ । 

त्यसैगरी मध्यपुरथिमिका ३७ वर्षका अष्टलाल डंगोलको पनि आजै मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ । पहिलो पटक सेवा शुरु गरेकाले केन्द्रले आज उनीहरुको निःशुल्क रुपमा एनजिओग्राफी गरेको हो ।

एनजिओग्राफी सम्पन्न गरेसँगै सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टले भक्तपुरमा सफलतापूर्वक एनजिओग्राफी गरेको बताउँदै उहाँले मुटुरोगीको संख्या बढ्दै गएकाले यस्ता सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजानु पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा दैनिकरुपमा मुटुरोगीको संख्या बढ्दै गएको छ, त्यसको अनुपातमा मुटु उपचारको सेवा विस्तार हुन सकेको छैन, यस्ता सेवालाई अन्य प्रदेशमा पनि सञ्चालन गर्न जरुरी छ ।” 

केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरले अब भक्तपुर र पूर्वका बिरामीले मुटुको उपचारका लागि अन्यत्र जानु नपर्ने बताउनुभयो । उहाँले मुटुको परीक्षणसँगै एनजिओग्राम, मुटुको नशामा बन्द भए बेलुनबाट फुटाउने एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँगसम्बन्धी सेवा लिन अब अन्यत्र जानु नपर्ने बताउनुभयो । 

डा ठाकुरले भन्नुभयो, “आजबाट यहाँ क्याथ ल्याब सेवा शुरु भएको छ, यसबारे मुटुरोगसम्बन्धी अधिकांश सेवा दिन सकिने भएको छ, यस मेशिनबाट एनजिओग्राफी, मुटुको नशा ब्लक भएको छ कि छैन हेर्ने, नशा ब्लक छ भने स्टेण्डअर्थात जाली हाल्ने, पेश मेकर गर्ने, भल्बको समस्या छ भने त्यसलाई बेलुनबाट खुलाउने अर्थात पिटिएमसी जस्ता सेवा दिन सकिन्छ, जनशक्ति उपलब्ध भए मुटुको भल्बसमेत फेर्न सकिन्छ ।” 

यसका साथै न्यूरोको एनजिओग्राफी, रेनल एनजिओग्राफीलगायतका अन्य सेवा पनि सञ्चालन गर्न सकिने बताउँदै उहाँले आवश्यक जनशक्ति उपलब्ध भएमा यस मेशिनबाट नेपालमा उपलब्ध हुँदै आएको मुटुसम्बन्धी सबै सेवा सञ्चालन गर्न सकिने बताउनुभयो । 

मुटु रोगका अतिरिक्त केन्द्रमा उपलब्ध हुँदै आएको सर्मुला एनजिओग्रामीलगायतको सेवा पनि दिनसक्ने भएको छ । शहीद गंगालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथेरासिस एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले दिँदै आएको सेवामा बिरामीको चाप बढेकाले त्यहाँ पालो कुरेर बस्नुपर्ने बिरामीलाई केन्द्रले सेवा दिन सक्ने भएको छ । 

उहाँले भन्नुभयो, “गंगालाल र मनमोहनमा ओभर फ्लो भएका, त्यहाँ पालो कुर्नु पर्ने बिरामीलाई सरकारी शुल्क मै यहाँ सेवा दिन सकिन्छ, सस्तो सेवा भएकाले भक्तपुरका जनतालाई मात्रै नभई नेपालमा मुटुका बिरामीलाई यसले निकै राहत दिन्छ ।” 

कम्तीमा थप पाँच जना चिकित्सक र नर्स एवं प्राविधिक जनशक्ति थप गर्न सके नियमित रुपमा सेवा दिन सकिने उहाँको भनाइ छ । आवश्यक जनशक्ति र श्यया थप गर्नसके आकस्मिक उपचार समेत शुरु गर्न सकिने उहाँले बताउनुभयो । 

केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मानवका विभिन्न अंग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना भएको मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपण गर्दै सरकारको रु आठ करोडको लागतमा ल्याएको अत्याधुनिक प्रविधि युक्त मेशिनले क्याथ ल्याब सेवा शुरु गरेको बताउनुभयो । 

केन्द्रमै मुटुको सेवा सञ्चालन गर्नु भक्तपुरका बासिन्दाका लागि खुशीको कुरा भएको बताउँदै उहाँले भन्नुभयो, “मिर्गौला र कलेजो मात्रै होइन, भविश्यमा मुटु र फोक्सोसमेत प्रत्यारोपण गर्ने योजना छ । 

केन्द्रको श्यया थप गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने र भौतिक पूर्वाधारको व्यबस्था भए मुटुको सबै सेवा यहीबाट सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । केन्द्रले २०६९ वैशाख ११ गतेबाट मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको र २०७३ मंसिर २२ गते बुधबार कलेजो प्रत्यारोपण शुरु गरेको थियो । रमेश गिरी/रासस

Logo