पञ्चकन्या माईले शेयर निष्काशन गर्दै

पञ्चकन्या माईले शेयर निष्काशन गर्दै


इलाम, ३ माघ 

इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले यही माघ ५ गतेदेखि स्थानीयवासीका लागि शेयर निष्कासन गर्ने भएको छ । 

इलाममा निर्माण सम्पन्न भएको १२ मेगावाटको माथिल्लो माई र ६।१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता शेयर खरिद गर्न दिने भएको हो । सन्दकपुर गाउँपालिकावासीले छ लाख ६० हजार तथा इलाम नगरपालिकावासीले चार लाख ४० हजार कित्ता शेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ । 

शेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार पाँच सय कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने जनाइएको छ । 

आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको पहिलो आर्थिक वर्षबाट कम्पनी नाफामा जान सफल भएको प्रधानले बताए । कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ । रासस 

Logo