काठमाडौंमा डेरा खोज्दै नयाँ सांसद, डेरा खोज्ने सांसदमा एमालेका बढी

काठमाडौंमा डेरा खोज्दै नयाँ सांसद, डेरा खोज्ने सांसदमा एमालेका बढी


प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित ६६ नयाँ सांसदमध्ये अधिकांश यतिवेला काठमाडौंमा डेरा खोज्ने क्रममा छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित १६५ मध्ये ९९ जना पुरानै अनुहार छन् भने ६६ जना पहिलोपटक निर्वाचित भएका हुन् ।

१० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनबाट विजयी भएकाहरू डेरा खोज्न, गृहजिल्ला आवतजावत गर्न तथा कार्यकर्ता भेटघाटमै व्यस्त छन् । एमालेबाट ४०, माओवादी केन्द्रबाट ११, कांग्रेसका ३, संघीय समाजवादी फोरमबाट ७,राजपाका ४ र राप्रपाबाट १ जना पहिलोपटक सांसद बनेका छन् । नयाँ सांसदमध्ये काठमाडौंमा घर नभएकाहरू डेरा खोजिरहेका छन् ।

डेरा खोज्ने सांसदमा एमालेका बढी

एमालेबाट प्रत्यक्ष निर्वाचित भएका सांसदहरूमध्ये ४० जना नयाँ अनुहार हुन् । उनीहरूमध्ये अधिकांश यसअघि आफ्नो गृह जिल्लामै बस्ने गरेका थिए । प्रतिनिधिसभामा निर्वाचित भएपछि काठमाडौं बस्नुपर्ने भएकाले अहिले धेरैले डेरा खोजिरहेका छन् ।

स्याङ्जा २ बाट निर्वाचिन एमाले सांसद पद्मा अर्यालले आफू डेरा खोज्नेक्रममा रहेको बताइन् । ‘संसद् अधिवेशन आह्वान हुन अब राष्ट्रिय सभाकै चुनाव कुर्नुपर्ने भयो । पहिलोपटक निर्वाचित सांसद भएकाले पनि अब कम्तीमा पाँच वर्षका लागि डेरा त खोज्नैपर्‍यो । अहिले भाइहरूसँग एड्जस्ट गरेर बसिरहेकी छु ,’ उनले भनिन् ।

दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेकै राजबहादुर बुढा पनि डेराकै खोजीमा छन् । नवनिर्वाचित सांसद बुढा भन्छन्, ‘अब डेरा खोज्ने क्रममा छु । अहिले लोकन्थलीमा भाइहरूसित बसिरहेको छु । संसद् चलिनसकेकाले निर्वाचन क्षेत्र जाने आउने क्रम चलिरहेको छ ।’

बाजुरा क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका लालबहादुर रावल पनि संसद्मा पहिलोपटक प्रतिनिधित्व गर्दै छन् । उनका छोराछोरी भने यसअघि नै कीर्तिपुरमा बसेर अध्ययन गरिरहेकाले उनले डेरा खोज्नुपरेन । भन्छन्,‘छोराछोरी पहिले नै यतै बसेर पढ्न कीर्तिपुरमा डेरा लिएर बस्थे । अहिले म छोराछोरीसँगै छु । डेरामै बस्ने भएकाले समय– समयमा खोज्नुपर्ला । तर, तत्काल समस्या छैन ।’

माओवादी केन्द्र, कांग्रेसदेखि समाजवादी फोरम, राजपाबाट पहिलोपटक संसद् सदस्यमा निर्वाचित भएका अधिकांश नयाँ सांसद डेराकै खोजीमा छन् । रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस सांसद देवप्रसाद तिमल्सिना यतिबेला गृहजिल्लामै छन् ।

काठमाडौं आएलगत्तै डेराखोज्ने काम सुरु हुने उनले बताए । काठमाडौंमा आफ्नो घर छैन । आफन्तको घर त छ तर आफन्तकोमा बसेर सधैँ नहुने । काठमाडौं आएपछि डेरा खोज्नुपर्ला,’ उनले भने,‘ अहिले त संसद् नचलेकाले निर्वाचन क्षेत्रमै छु । पहिले ६०१ सांसद हुँदा पनि बसेकै थिए । अब त सांसद संख्या घट्यो डेरा पाइएला नि ।’

डेरा पाइसकेका सांसद संसद्बारे बुझ्दै

डेरा पाइसकेका माओवादी केन्द्रका जुम्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गजेन्द्र महत भने सिनामंगलमा बसिरहेका छन् । उनी भन्छन्,‘सिनामंगलमा डेरा लिएर बसेको छु । जिल्लास्तरको कामसँगै यतिबेला म पुरानो संसद्को नियमावली, संसदीय गतिविधिबारे अध्ययन गरिरहेको छु ।’

पहिलोपटक प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित अन्य सांसदहरू काठमाडौंमा बसोवासको प्रबन्ध गर्न व्यस्त छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भइनसकेकाले समानुपातिकबाट संसद्मा पहिलोपटक प्रतिनिधित्व गर्ने सांसद संख्याको टुंगो लाग्न बाँकी छ । नया पत्रिका

Logo