बजेट कटौती भएपछि सडक आयोजना अलपत्र

बजेट कटौती भएपछि सडक आयोजना अलपत्र


म्याग्दी, २६ पुस |

बजेट कटौती भएपछि म्याग्दीमा सञ्चालित छ वटा ग्रामीण सडक आयोजना अलपत्र परेको छ । 

सडक डिभिजन कार्यालय बागलुङमार्फत आव २०७३/७४ मा बजार केन्द्र तथा पर्यटकीय महत्वका सडक कार्यक्रमअन्तर्गत सञ्चालित आयोजना अलपत्र परेको हो । 

दरवाङ–देवीस्थान–धारापानी–ताकम–ढोरपाटन सडकअन्तर्गत पुरानो सडक स्तरवृद्धिका लागि र मुनादेखि मार्ग खोल्न दुई वटा छुट्टाछुट्टै आयोजना सञ्चालन भएको थियो । यसैगरी बिमको अर्गला हुँदै मराङ–मल्कबाङ–कुइनेको नयाँ मार्ग निर्माण, पोखरेबगर–घार–शिख स्तरवृद्धि, रत्नेचौर–भकुण्डे–भकिम्ली, अर्थुङ्गे–पुलाचौर–कुहुँ सडक आयोजना सञ्चालनमा आएको थियो तर काम पूरा नहुँदै बजेट कटौती भएपछि ती सबै आयोजना अलपत्र परेका हुन् । 

ती सबै सडक आयोजना निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु सात करोडमा सम्झौतासमेत भएको थियो । सो आवको अन्त्यमा शुरु भएको काम पूरा नहुँदा लक्ष्यअनुसार सबै बजेट खर्च हुन सकेको थिएन । 

चालू आवमा अर्थ मन्त्रालयले बजार केन्द्र जोड्ने पर्यटकीय महत्वका सडक शीर्षकको कार्यक्रममा बजेट विनियोजन नभएकाले काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख इञ्जिनियर थानेश्वर खत्रीले बताउनुभयो । 

योजनाले पूर्णता नपाउँदा सडकको अवस्था लथालिङ्ग बनेको छ । सडक फराकिलो बनाउन भित्ता खनिएपछि कतिपय ठाउँका बस्तीसमेत जोखिममा परेका छन् । सडक डिभिजनले शुरु गरेको कामले पूर्णता नपाउँदा स्थानीय तह र अन्य आयोजनाले काम अघि बढाउन सकेका छैनन् । 

सडक डिभिजन योजनाले निरन्तरता पाउने/नपाउने भन्नेमा अन्योल रहँदा गाउँपालिकाले बजेट विनियोजन गरेको योजना सञ्चालनमा अप्ठ्यारो परेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । 

गाउँपालिकाले चालू आवमा बिम अर्गला मराङ मल्कवाङ सडक आयोजनाका लागि रु ९० लाख विनियोजन गरेको छ । तर सोही सडकको मार्ग खोल्न सडक डिभिजनले गत वर्ष शुरु गरेको काम अलपत्र अवस्थामा छ । रासस

Logo